दाहालबारे ओलीको विश्लेषणः ‘लोभी पाठोले हरियो घाँस देख्यो, खुकुरी देखेन’

काठमाडौं, ३ असोज– एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सरकारले संविधान कार्यान्वयनका लागि चुनावको स्पष्ट कार्यतालिका अघि ल्याएपछि त्यसलाई भत्काउन लोभी पाठो खोजेर हरियो घाँस देखाइ सरकार ढालिएको वताएका छन् ।

image

संविधान दिवसको अवसरमा एमाले काठमाडौं जिल्ला कमिटीले सोमवार वसन्तपुरमा आयोजना गरेको सभालाई सम्बोधन गर्दै ओलीले नेपालको स्थिरता र विकासको बाटो भाँड्न लोभी पाठोलाई हरियो घाँस देखाएर सरकार ढालिएको वताए ।

‘संविधान कार्यान्वयन गर्न चुनावको रोडम्याप संसदमा प्रस्तुत भएको थियो, आवश्यक ऐन कानुनहरु संसदमा छलफलका लागि ल्याइएका थिए’ ओलीले भने, ‘नेपाल संविधान कार्यान्वयन गरी विकास र स्थिरताको दिशामा अघि बढेको हेर्न नचाहनेहरुले लोभी पाठो खोजेर हरियो घाँस देखाए । पाठोले देब्रे हातको हरियो घाँस देख्यो, दाहिने हातको खुकुरी देखेन ।’ प्रधानमन्त्री पुष्पकमल दाहाललाई इंगित गर्दै ओलीले भने–हरियो घाँसको पछिपछि म्याँ म्याँ गर्दै हिंडेको पाठोलाई प्रयोग गरी नेपालको स्थिरता भत्काउन खोजियो ।

भारत भ्रमणमा हस् हजुर
एमाले अध्यक्ष ओलीले नेपालको संविधान विरुद्ध भारतको क्याम्पेनमा हस् हजुरको शैलिमा हस्ताक्षर गरेर प्रधानमन्त्री पुष्पकमल दाहाल स्वदेश फर्केको पनि वताए । ‘नेपालको संविधानको विरोधमा भारतले जे जे क्याम्पेन गरेको थियो, त्यसैमा हस् हजुर भनेर सही गरेर आउनु भयो’ ओलीले भने, ‘अव राष्ट्रसंघ नजाने रे भन्ने सुनियो । आफ्नो देशको सबै विचार अर्कैले प्रतिनिधित्व गर्ने भएपछि के भन्न जाने ? जानुको अर्थ पनि रहेन ।’

नेपालको विदेशमामिला भारत अनुकुल चलाउने र नेपाल सरकार र भारतीय दूतावासको कर्मचारीको एउटै हैसियत कायम गरेर प्रधानमन्त्री दाहालले गल्ती गरेको ओलीको भनाई थियो । तर, दाहालले खराव काम पनि असल मनसायले गरेको भनी ओलीले ब्यङ्ग्य गरे । ‘काठमाडौंमा आएपछि पत्रकारले प्रश्न गरे– नेपाल सरकार र भारतीय दूतावासको कर्मचारीको एउटै हैसियत हुनेगरी किन हस्ताक्षर गर्नु भयो ? असंलग्नताको विदेशनीति किन त्याग्नु भयो ? उहाँले जवाफ दिनु भयो– नराम्रो भए पनि राम्रो मनसायले गरेको हुँ ।’

नाकाबन्दी कायम नभएकामा किन दुःखी ?
प्रधानमन्त्री निर्वाचित भएको भोलिपल्टै छिमेकी देशसँग के सम्बन्ध बिग्रेकाले विशेष दूत पठाएको भनी ओलीले प्रश्न गरे । ‘के त्यस्तो उत्पात भएको थियो विशेष दूत पठाउनु पर्ने ?’ ओलीले भने, ‘के नाकाबन्दी कायम राख्न सकिएन भनेर विशेष दूत पठाएको ? मधेस आन्दोलन थाकेर पाल भित्र आइपुग्यो भनेर सहयोग माग्न विशेष दूत पठाएको?’

ढाँटको निम्तो खाइहेर
सरकार समर्थक मधेसी मोर्चालाई पनि संविधान संशोधनको भ्रम मात्र वर्तमान गठबन्धनले दिएको ओलीको भनाई थियो । ‘संविधान संशोधनको हल्ला गरेका हुन्, संविधान संशोधन गर्न खोजेको भए एमालेसँग सल्लाह गर्थे, ढाँटको निम्तो खाएर पत्याउनु नि’ ओलीले भने, ‘यो संविधान कार्यान्वयन गर्ने बेला हो संशोधन गर्ने बेला होइन भन्नेमा एमाले स्पष्ट छ । अंध्यारा कुनामा बसेर गरिएको सम्झौता कार्यान्वयन गरेर देखाउ ।’

संविधान सर्वस्वीकार्यताको फण्डा ल्याएर भ्रम छर्न खोजिएको ओलीको भनाई थियो । भारतको संविधान ६५ प्रतिशतको समर्थनमा र अमेरिकाको संविधान ५२ प्रतिशतको समर्थनमा बनेको उदाहरण दिंदै ओलीले नेपालको संविधानसभाको ९२ प्रतिशतले बनाएको संविधानमाथि उठाइएको प्रश्न अर्थहीन भएको वताए । ‘देवता त सर्वस्वीकार्य छैनन् भने राजनीतिमा कसरी सर्वस्वीकार्य हुन्छ ?’ ओलीले भने, ‘शिवलाई पनि सबैले मान्दैनन्, जिससलाई पनि सबैले मानेनन्, मुहम्मदलाई पनि सबैले मानेनन्, सर्वस्वीकार्यता कहीं पनि छैन ।’

कमजोर माछाले चारो खाएर सरकार ढाल्योः बामदेव
कार्यक्रममा बोल्दै उपाध्यक्ष बामदेव गौतमले प्रधानमन्त्री दाहालप्रति लक्षित गर्दै राष्ट्रिय स्वाधीनता कायम गरेको केपी ओलीको सरकार ढाल्न सबैभन्दा कमजोर माछोलाई चारो ख्वाएर ओली सरकार ढालिएको वताए । ‘कमजोर माछालाई चारो खुवाएर ओली नेतृत्वको सरकार ढालियो’ गौतमले भने ।

Follow Us

Facebook

Twitter

© Copyright by NayaBato
सम्पर्क [email protected]
Scroll Up