“विदेशको रहर त्यागौं-स्वदेशमै रमाउँ ।” नदेखेरै बित्ने सम्बन्ध । नमिठो परदेश । पैसासँग साटिएको साथ । “बूढी आमालाई छाडेर विदेशको रहर गर्नु भनेको भोलि आफू एकलिनुपर्ने क्षणलाई खुसीसाथ स्वागत गर्न तयार हुन सक्नु हो ।”

image
त्यतिबेला बहिनीले पनि केटा मन पराई । बिदेसको कार्डवाला केटा, आमा र मेरो मन पनि मान्यो । उसले बिहेको चाहना देखाएपछि हामीलाई खुसी नलाग्ने कुरै भएन । मास्टर्स सिध्याउँदै थिई तैपनि उसको धुमधामसँग बिहे भएर सम्पन्न र शिक्षति परिवारसँगको साइनोमा उ बुहारी भएर गई ।
अघिल्लो वर्ष बहिनीको विदेश फ्लाइट हुने दिन । तिमी र म एयरपोर्टसम्म छाड्न आउँदा तिमीले बहिनी र मेरा सामु बोलिहाल्यौ- ‘बैनी त कस्ती भाग्यमानी है ?’
बहिनीका आँखामा न बिदाइको कुनै भाव देखिन्थ्यो न बिछोडको । बरु खुसीले भुइँमा खुट्टै थिएन । तसर्थ होला तिम्रो प्रसंगको प्रतिक्रिया दिइनन् । उनी आँखाबाट कालो चस्मा कपालमा पुर्‍याएर अड्क्याइन ।
चस्मा भिरेर एयरपोर्टमा झोला गुड्काउँदै बिदाइका हातहरू हल्लाउँदै परदेश लागेको देख्दा रहरले तिमी त्यसो भन्यौ- मैले मनमनै अड्कल गरें । अनुमानित उत्तर आफैंले आफैंभित्र भेटाएपछि तिमीलाई किन उ भाग्यमानी भनेर प्रश्न सोध्न मन लागेर पनि आवश्यक मानिन । बरु बहिनीलाई भाग्यमानी भनेर भनिदिँदा मलाई एकमनले खुसी लाग्यो ।
अनि मेरो मनले पनि त्यही सोच्यो तर फेरि अर्को मनले तिमी नेपाल नछाड्दैमा अभागी कसरी हुन्छ्यौ भनेर सोध्न मन लागेको थियो तर तिम्रो भनाइमा न खुसी व्यक्त गर्न सके, न प्रश्न तेस्र्याउने हिम्मत नै गरें । बरु त्यथिबेला बहिनीको बिदाइका सबै क्षणहरूलाई तिम्रो यही एउटा वाक्यले खलबल पारिदिएको थियो ।
त्यसपछिका दिनहरूमा मलाई त्यो बिदाइको क्षणहरूको खुब याद आइरहन्छ । यसरी सम्झना आउनुको मुख्य कारण तिम्रो त्यही वाक्यले मनमा निरन्तर चलिरहेको युद्धको ब्यबस्थापन गर्न नसक्नु थियो । बहिनी परदेशिएको दुई वर्षसम्म बेलाबखत तिम्रो त्यस्तै झोला गुड्काउने मौन रहरको प्राप्तिको खोजीमा लागिरहे म ।

मलाई तिम्रो रहरभन्दा सबथोक सूक्ष्म लागेकै हो । आखिर त्यो दिन पनि आयो । जुन दिन म मेरा सपना र उद्देश्य तिम्रो रहरसँग साटेर परदेश हानिए । यता आएपछि बहिनीसँगैको फ्ल्याट्मा बस्ने बन्दोबस्त मिल्यो । एक वर्षपछि भेट्दा उ भक्कानिएर रुन थाली । मेरो मनले सोच्यो-‘बिचरी परदेशको ठाउँमा माइतीको खुब नियास्रो मानेकी रै’छ ।’
घरमा त बहिनीको कुरा आमासँग हुन्थ्यो । कहिल्यै रोएको त के दुःखका कुरा गरेको सम्म थाहा भएन तसर्थ मसँग भेट्दा खुब खुसी हुन्छे झै लागेको थियो तर भक्कानिएर रोएपछि मलाई पनि रोइदिऊ झै लागेको थियो, सम्हालिए । उता गाउँमा बहिनीलाई सबैले वाह-वाह गर्थे । अग्ला घर, चिल्लो सडक र नीलो समुद्रको किनारमा बसेका तस्बिरहरू फेसबुकमा राख्थिन उनी ।

हामी तिनै तस्बिर हेरेर बहिनी खुसी र सुखी भएकामा गर्व गर्दथ्यांै । उनी आफैंले पनि सुखी र खुसी भएको दैनिकी सुनाउँथिन । मलाई त्यतिबेला बिवदेशको भूतले म परदेश लाग्नु, टोलमा चर्चा चल्नु र तिमी झोला गुड्काउँदै परदेसिने सपना देख्नु पनि मिल्दोजुल्दो सामान्य भैहाल्यो ।
आफन्त र छिमेकमा खुब चर्चा भो- अब त फलानी पनि विदेश जान्छे । सुरु-सुरुमा त मलाई लाग्थ्यो-संसार जितियो । तिमीले विदेश आएर थुप्रै कमाएर नेपालमै सुखी जीवनयापन गर्ने सपना बुन्यौ । मलाई तिम्रो कुनै पनि सपना व्यर्थ लागेनन् बरु केही कमाएर नेपालमै गएर बस्ने भविष्यको तिम्रो योजना गज्जब र सुखद् लाग्थ्यो ।

कोही आउँछन, कोही जान्छन्, बिरानो झै । नदेखेरै बित्ने सम्बन्ध । नमिठो परदेश । पैसासँग साटिएको साथ । स्वदेशमा नदेखिएको दुःख । अनि यहाँको दुःख नदेख्दा साँचेका तिम्रो मिठा रहरहरू कति नमिल्दा छन् । मलाई वास्तविकता नमिलेका रहरसँग तिम्रो दुःख साटिएको हेर्ने चाहना छैन ।

छोराछोरीका लागि यहाँ उपयुक्त शिक्षा छैन, भाषा छैन । बुढेसकालमा छोराबुहारीको भरोसामा बाँच्ने सपना बुनेकी ती बूढी आमालाई सहाराको साटो केटाकेटीको थप जिम्मेवारी सुम्पिदा आमाको मनले के सोच्छ होला ? अचेल यो मन यस्तै सोचिरहन्छ- भो विदेशको रहर नगर । कहिलेकाहीँ रहरहरू बाध्यतामा परिवर्तन हुन्छन ।
ती अबोध छोराछोरीलाई टुहुरा समान गराएर कमाएको धनमा कतिदिन सन्तानको सुखद् भविष्यको रेखा कोरेको सपना देख्न सक्छौं ?

दुई मुठी-मीठो मसिनो खाने बन्दोबस्त म मिलाउला-तिमी ती बूढी आमाको सहारा बन । छोराछोरीको आवश्यकता पूरा गर्न म दिनरात खटुला-तिमी उनीहरूको मार्गदर्शक बन ।
अब परदेशको बेवास्ता गरौं । म ती रहरहरूले आफूलाई पिन्जडामा थुनिएको सुगा झै भएको महसुस गर्दैछु । विदेश त्यस्तै दलदले हो जहाँ भासिएपछि मान्छे निस्किन मुस्किल पर्छ । म त्यही भासिएको छु, हराएको छु । अब मलाई तिमी पनि यता आएर भासिन्छौ कि भन्ने डर लाग्दैछ ।

आज तिमी ती अबोध छोराछोरीलाई छोडेर आयौं भने भोलि हामी बेसहारा हुँदा हामीलाई छाडेर उनीहरू अन्तै जालान । त्यतिबेला गुनासो गर्ने ठाउँ रहँदैन । आखिर ती बूढी आमालाई छाडेर विदेशको रहर गर्नु भनेको भोलि आफू एकलिनुपर्ने क्षणलाई खुसीसाथ स्वागत गर्न तयार हुन सक्नु हो । हामीलाई त्यतिबेला छोराछोरीको जति आवश्यक हुन्छ, अहिले ती बूढी आमा र छोराछोरीलाई हाम्रो साथ उत्तिकै चाहिन्छ ।

साथ पाउनु भनेको सहयोगी बन्नु पनि हो । साथ पाउनु भनेको माया पाउनु पनि हो । तसर्थ भो विदेशको रहर नगर ।

Follow Us

Facebook

Twitter

© Copyright by NayaBato
सम्पर्क [email protected]
Scroll Up