प्रहरी नै हत्यारा लुकाउँछन्

SHARES

 

heraldcollegektm

काठमाडौं- घटना भएको दिन उनी आफ्नै कार्यालयमा थिए। कसैले फोन गरेर जानकारी दियो- कुमारीगाल चोकमा केही युवकले रोशन र नारायणबहादुर थापालाई छुरा प्रहार गरे। मोबाइल त्यति सहज थिएन। तत्कालीन शाही नेपाल वायुसेवा निगमको ल्यान्डलाइनमा आएको सूचना रोशनका बाबु कर्मचारी रोहित आलेमगरसम्म पुग्न केही समय लाग्यो। छुरा प्रहारबाट घाइते छोरो गम्भीर रहेको थाहा पाउनासाथ उनी आत्तिँदै त्रिवि शिक्षण अस्पताल, महाराजगन्ज पुगे।

रोशन पीडामा छट्पटाउँदा छट्पटाउदै बेहोस थिए। रक्ताम्य उनको शरिर अस्पतालको स्ट्रेचरमा लडेको अवस्थामा थियो। उपचार सुरु भएको थिएन। बल्ल चिकित्सक आए। बाबु रोशन डाक्टरको प्रतिक्रिया पर्खिरहेका थिए।

‘डाक्टरले बचाउन सकिएन भन्नुभो, नसा नै छेडिएको छ, अत्यधिक रक्तस्रावले ज्यान गयो भने,’ रोहितले राजधानीको कुमारीगालस्थित घरमा नागरिकसँग १३ वर्षअघिको त्यो दिन सम्भि्कए।

घटना २०६० फागुन २३ गते फागूपुर्णिमाका दिनको हो। कुमारीगाल चोकमा रहेको रोशनकुमार आलेमगरको कस्मेटिक पसलमा केही युवा हातहतियारसहित आए। पसलमा रोशनसँग साथी नारायण थापा पनि थिए। होलीको रंगले अनुहार पोतेका युवाको पहिचान गर्न कठिन थियो तर आक्रमणको उद्देश्यसाथ आएका युवाले आफैंले आफ्नो परिचय खोले।

‘दसैंमा हामीलाई ठोकेको होइन? आज बाँचिनस्!’ ती युवकमध्ये एउटाले भन्यो। सबै आफूसँग भएका हतियारले नारायणमाथि जाइलागे। नारायण आत्तिँदै चोकतर्फ कुदे। रोशन उनलाई बचाउन दौडिए। हारगुहार गरे। होलीको माहोलमा उनको आवाज कसैले सुनेन। रोशन आफैँ नारायणलाई बचाउन लागे। यत्तिकैमा एक जनाले उनीमाथि पनि धारिलो हतियार प्रहार गर्‍यो। घटनास्थल रक्ताम्य भएपछि आक्रमणकारी भागे।

‘म प्राविधिक भए पनि छोरालाई पोखराको गण्डकी बोर्डिङमा पढाएको थिएँ, आइए पढ्दै थियो, पसल चलाउँथ्यो, झैं–झगडा गर्दैनथ्यो,’ रोहितले बैठकमा राखिएको छोराको तस्बिर देखाउँदै सुनाए।

‘पहिलो सन्तान थियो, छोरासँग जोडिएका हाम्रा सबै सपना ऊसँगै बिलायो,’ मुटु नै चुँडिएझैं पीडादायी क्षण सम्झँदै उनले लामो सुस्केरा ताने।

शिक्षण अस्पतालले मृत घोषणा गरेपछि शव बु‰न प्रहरीले जाहेरी माग्यो। भोलिपल्ट फागुन २४ गते रोशनका काका दिल्ली आलेमगरले जिल्ला प्रहरी कार्यालय, काठमाडौंमा जाहेरी थिए। घटनास्थल वरपरका प्रत्यक्षदर्शी र घाइते नारायणको बयानका आधारमा केही व्यक्तिीको नामसहित जाहेरी दिएपछि परिवारले शव बुझे।

छ दिनपछि २०६० फागुन २९ गते रोहितले आफैं जिल्ला प्रहरी कार्यालय, काठमाडौंमा अर्को जाहेरी दरखास्त चढाए। घटना विवरणदेखि छ जना आरोपीको नाम, ठेगाना र दुई जना अपरिचित रहेको बेहोराको जाहेरी दर्ता भयो। तत्कालीन कार्यालय प्रमुख प्रहरी उपरीक्षक दीपक रञ्जितसँग छोराका हत्यारामाथि अनुसन्धान र कारबाहीको वचन लिएर रोहित फर्किए।

‘कोही सिँजापति थरका इन्स्पेक्टर गौशाला प्रहरी इन्चार्ज थिए, उहाँले जाहेरीका आरोपी बौद्ध, नयाँबस्तीको घरमा रहेको सूचना पाएर पक्राउ गर्न आए तर त्यो घर एक जना बहालवाला एसएसपीको रहेछ,’ रोहित घटनाक्रम सम्झँदै भन्छन्।

‘त्यो घर त पछि सशस्त्रमा केही दिनका लागि महानिरीक्षक भएका किशोरकुमार लामाको रहेछ, आरोपी श्रीवीर त्यहीँ रहेको पक्का सूचना पाए पनि गौशाला प्रहरीले पक्राउ गर्ने हिम्मत गरेन,’ उनले थपे।

रामेछापबाट काठमाडौं आएर बौद्ध, कुमारीगालमा बस्दै आएको आलेमगर परिवार छोराको शोकमा डुब्यो। एक वर्षसम्म त केही गनर्ैै सकेनन् रोहितले। निगममा वरिष्ठ प्राविधिक अधिकृत रहेका रोहित छोराको शोकमा कार्यालयसमेत नियमित जान सकेनन्। छोराको हत्यामा संलग्न व्यक्ति सम्झनासाथ उनलाई असह्य हुन्थ्यो।

२०६१ देखि रोहित छोराको हत्यारालाई कारबाहीको दायरामा ल्याई न्याय पाउने प्रयासमा सक्रिय भए।

घटनाको तीन महिनापछि २०६१ वैशाख २४ गते उनले एकैदिन गृहमन्त्री, गृहसचिव र प्रहरी महानिरीक्षकलाई भेटेर ‘इन्साफका लागि आवश्यक कारबाही गरिपाउँ्क’ भन्ने बेहोराको निवेदन दिए। त्यसयता गृहमन्त्री बनेकाहरू दानबहादुर शाही, पूर्णबहादुर खड्का, वामदेव गौतम र रक्षामन्त्री विद्यादेवी भण्डारीलाई भटेरै निवेदन दिएका थिए उनले। प्रहरी महानिरीक्षकहरु श्यामभक्त थापा, ओमविक्रम राणा, हेमबहादुर गुरुङ र रमेशचन्द ठकुरीसम्मलाई उनले न्याय दिलाउन हारगुहार गरे। तत्कालीन प्रहरी अधिकारी दीपकसिंह थाङ्देन, अशोक श्रेष्ठ र हाल एसएसपी रहेका गणेश केसीको नाम रोहित सम्झन्छन्। उनले घटनाको एक वर्षपछि केही सूचना र प्रमाणसहित सबै पत्रपत्रिकालाई पनि गुहारे तर कसैले उनको खबरलाई प्राथमिकता दिएनन्।

‘कसैलाई निवास, कतिलाई मन्त्रालय भेटेर निवेदन दिए, हालका राष्ट्रपति भण्डारीले त आइजिपी राणालाई बोलाएरै भन्नुभयो तर छोरा हत्याका आरोपीका विषयमा कतै सुनुवाइ भएन,’ रोहितले भने। उनका अनुसार सबैले आफू मातहत निकायलाई तोकआदेश दिए पनि कसैले तदारुकता देखाएर आरोपी पक्राउ गर्ने हिम्मत देखाएन।

‘घटनाका आरोपी प्रहरीका उच्च अधिकारीका नातेदार भएको थाहा थियो तर यस्तो अन्याय हुन्छ भन्ने सोचेको थिइनँ,’ बिहीबार नागरिकसँगको कुराकानीमा रोहितले भने।

उनका अनुसार दसैंमा भएको विवादकै बदला होलीको घटना थियो। दसैंमा श्रीवीरलाई कुटेको भन्दै सशस्त्रका पूर्वमहानिरीक्षक किशोरकुमार लामाको आदेशमा केही दिन रोशनलाई गौशाला प्रहरीले थुनामा समेत राखेको थियो। रोहित र अन्य छिमेकी दसैंताका नै लामाको नयाँ बस्तीस्थित घरमा गएर बिन्तीभाउ गरी रोशनलाई छुटाएका थिए।

केन्द्रीय अनुसन्धान ब्युरोले एक महिना लामो अनुसन्धानपछि शुक्रबार पक्राउ गरेका श्रीवीर लामा, सोनु भन्ने देवराज लामा र खेप्पा भन्ने राकेश लामा र फरार सूचीमा रहेका अन्य पाँच जना प्रहरी अधिकारीकै संरक्षणमा १३ वर्षसम्म कारबाहीबाट उन्मुक्ति पाउँदै आएका थिए। प्रहरी उच्चस्रोतका अनुसार घटनाका मुख्य आरोपी श्रीवीर सशस्त्रका पूर्वमहानिरीक्षक किशोरकुमार  लामाका सालीका छोरा र अर्का आरोपी चाँद लामा प्रहरीका पूर्वएआइजी रुपसागर मोक्तानका नातेदार भएकै कारण पीडितले न्याय पाउन १३ वर्ष लागेको थियो। चाँद अझै पक्राउ पर्न बाँकी छ।

ब्युरोका अनुसार २०६० फागुन २३ गते होलीका दिन हत्या गरिएका रोशनकुमार आलेमगरको घटनामा किटानी जाहेरीमा नाम भएका श्रीवीर पूर्वआइजिपी लामाकै कारण तीन वर्ष सशस्त्र प्रहरीमा जागिरे भएको समेत अनुसन्धानमा खुलेको हो। स्रोतका अनुसार श्रीवीर २०६५ देखि २०६८ सम्म सशस्त्रमा फर्लोर्सको जागिरे भएको खुलेको छ। ब्युरोले यस सम्बन्धमा सशस्त्रलाई पत्र लेखेर सोधपुछ गर्ने भएको छ। घटनालगत्तै मृतकका पिता रोहित आलेमगरले ६ जनाको नाम, ठेगाना र दुई जनाको नाम नखुलेको भन्दै कर्तव्यज्यान मुद्दामा आवश्यक कारबाहीका लागि काठमाडौं प्रहरीमा किटानी जाहेरी दिए पनि कुनै सुनवाइ भएको थिएन।

‘बचाउन अनेक प्रपञ्च रचेको थाहा पाए, प्रहरीमै जागिर खुवाएको समेत थाहा भयो, एमालेका डिबी कार्की त केस मिलाउन भन्दै घरमै रकमको आग्रह लिएर आए,’ रोहितले थपे, ‘लक्का जवान छोरोको मोल धनसँग कसरी गर्न सकिन्छ?’ न्याय पाउन उनले लामो समय खर्चिए। मन्त्रालय, प्रहरी प्रशासन र राजनीतिक नेतृत्व कतैबाट पार नलागेपछि उनी हतास भए।

‘अन्य सन्तानको लालनपालन र घरव्यवहारले चेपेपछि हिँड्न छाडेँ, तर बेलाबेला लाग्थ्यो, एकदिन त कसो न्याय नपाउला,’ रोहितले भने। उनलाई अहिले दिनहुँ सबैले हत्या आरोपी पक्राउ परेको भन्दै फोन गर्छन्। उनलाई केही सन्तोष भएको छ। ‘प्रहरीले होइन, ब्युरोले हो, कसैले हत्या आरोपीले गुण्डागर्दी गरे भनेर उजुरी हालेका रहेछन्, पक्राउ परे, अझै केही बाँकी छन्,’ रोहितले आशावादी हँुदै थपे ‘मर्नुअघि छोराका हत्या आरोपी जेल गएको हेरेर मर्ने इच्छा छ।’

ब्युरोका प्रमुख डिआइजी नवराज सिलवालले घटना अनुसन्धानमा केही कमजोरी भएका कारण आरोपी पक्राउ गर्न लामो समय लागेको बताए। उनले प्रहरी महानिरीक्षकको सचिवालयबाट ब्युरोलाई अनुसन्धानका लागि पत्र आएपछि आरोपी पक्राउ परेको जानकारी दिए।

‘घटना अनुसन्धानमा केही कमजोरी भएरै होला, आरोपी हाल आएर पक्राउ परेका छन्, थप अनुसन्धान भइरहेको छ,’ डिआइजी सिलवालले भने। उनका अनुसार घटनाका आरोपीको संरक्षण गर्नुसमेत अपराध भएका कारण अनुसन्धानमा त्यस्तो देखिए जोकोही पनि कारबाही दायरामा ल्याउन ब्युरो पछि पर्नेछैन।

Follow Us

Facebook

Twitter

© Copyright by NayaBato
सम्पर्क [email protected]
Scroll Up