सीपी मैनालीलाई एमाले प्रवेश गराउने तयारीमा केपी ओली

मिडिया एनपी, काठमाडौं, २६ साउन । नेकपा मालेका महासचिव सीपी मैनालीलाई एमाले प्रवेश गराउने अभियान अन्तिम चरणमा पुगेको छ । मालेलाई एमालेमा विलय गराउने गरी विभिन्न चरणमा कुराकानी भइरहेको छ ।

सीपी मैनालीलाई भित्र्याउन एमाले अध्यक्ष केपी ओली र महासचिव ईश्वर पोखरेलले विभिन्न चरणमा कुराकानी गरिसकेका छन् । ओलीकै निर्देशनमा महासचिव पोखरेलले मैनालीसँग तीन चरणमा कुराकानी गरेको स्रोतले बतायो ।

आफू प्रधानमन्त्री बन्नुअघि नै ओलीले मैनालीलाई एमाले भित्र्याउन पहल गरेका थिए । तर, तत्काल एमालेसँग एकीकरण हुन नसक्ने भन्दै मैनालीले प्रक्रिया थाती राखेका थिए । त्यसपछि ओलीले आफ्नो मन्त्रिपरिषद्मा मैनालीलाई उपप्रधानमन्त्री बनाएका थिए ।

वरीयतामा कुरा मिलेन
एमाले प्रवेश गरेपछि मैनालीलाई कुन वरीयता दिने भन्ने अध्यक्ष ओली र महासचिव ओली कुनै टुंगोमा नपुगेको बताइन्छ । २०२८ सालमा झापा विद्रोह गर्दा ओली र मैनाली सँगै थिए । राजनीतिमा मैनाली ओलीभन्दा सिनियर हुन् । उनी २०४२ सालमै तत्कालीन मालेको महासचिव भइसकेका थिए ।

स्रोतका अनुसार मैनालीले आफूले वरिष्ठ उपाध्यक्ष पाउनुपर्ने माग गरेका छन् । तर, ओली र पोखरेल स्थायी समिति सदस्यभन्दा माथि दिने पक्षमा छैनन् । यसअघि राधाकृष्ण मैनालीलाई एमाले प्रवेश गराइए पनि उनलाई कुनै पनि भूमिका दिइएको छैन ।

यस्तो छ सीपी मैनालीलाई एमाले प्रवेश गराउने रहस्य
सीपी मैनालीलाई तत्काल एमाले भित्र्याउन खोज्नुको मुख्य उद्देश्य आफू शक्तिमा रहने ओलीको मुख्य उद्देश्य रहेको बताइन्छ । एमालेमा अहिले ओली एकातिर छन् भने वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम अर्कातिर छन् ।
मैनालीलाई भित्र्याउन पाए नेपाल, खनाल र गौतमलाई साइजमा ल्याउन सकिने ओलीको सोच छ । किनभने यी तीनैजना नेताभन्दा मैनाली सिनियर हुन् ।

त्यति मात्र होइन, नेकपा माले पार्टीको भौतिक सम्पत्ति धेरै छ । पार्टी एक भए मालेको भौतिक सम्पत्ति उपयोग गर्न सकिने र त्यसमा एमालेका जनवर्गीय संगठनको कार्यालय राख्न सकिने दाउमा ओली र पोखरेल रहेको स्रोतले बतायो ।

अहिलेसम्म पटक–पटक मन्त्री बन्दै आएका मैनालीलाई नयाँ संविधानअनुसार निर्वाचन हुँदा धेरै मत नआउने र सांसद पनि धेरै नहुने भएकाले मन्त्री बन्न गाह्रो हुने भन्दै ओली र पोखरेलले एमाले प्रवेश गर्न आग्रह गरिरहेका छन् । तर, मैनालीले कुनै निर्णय सुनाइसकेका छैनन् ।

Follow Us

Facebook

Twitter

© Copyright by NayaBato
सम्पर्क [email protected]
Scroll Up