मतदाता नामावली दर्तामा रुपन्देहीमा उत्साहजनक सहभागिता

बुटवल, २ साउन । सरकारले स्थानीय निकायको निर्वाचनमा भोट हाल्न नपाएका अर्थात मतदाता नामावलीमा नाम नभएकाहरुकालागि नाम दर्ताको लागि साउन १ गतेदेखि समय खुला गरेसंगै नाम दर्ता गर्नेको भीड लागेको छ ।
सोही अनुरुप जिल्ला निर्वाचन कार्यालय रुपन्देहीले मतदाता नामावलीमा छुट भएकाहरुको लागि आइतबार देखि मतदाता नामावली संकलन कार्य सुरु गरेको छ । १६ वटा स्थानीय तह भएको रुपन्देहीमा जिल्ला निर्वाचन कार्यालय भवनबाट मतदाता नामावली संकलन कार्य सुरु भएको हो ।
लामो समयपछि सम्पन्न भएको स्थानीय निर्वाचनमा मतदान गर्नबाट बञ्चीत भएपछि अहिले आफ्नो काम नै छाडेर नाम दर्ता गर्न आउनेको भीड लागेको निर्वाचन कार्यालयले जनाएको छ ।
आइतबार पहिलो दिन मात्र रुपन्देहीमा करिब ५ सय जनाले नाम दर्ता गरेको जिल्ला निर्वाचन कार्यालय रुपन्देहीले जनाएको छ । बिहान १० बजेदेखि सुरु गरिएको उक्त कार्यमा साँझ ५ बजेसम्म गेट भित्र प्रवेश गरेका सबैको नाम दर्ता गर्न करिब रातीको ८ बजेको हुँदा आधिकारिक तथ्यांक सार्वजनिक गर्न नसकेपनि लगभक ५ सय जनाले नाम दर्ता गरेको कार्यालयले जनाएको हो ।
दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा मतदाता परिचयपत्र नभएका कारण मतदान गर्नबाट वञ्चितहरुले मतदाता नामावलीमा नाम दर्ता गराई आगामी प्रदेशसभा तथा प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदान गर्न पाउने भएका छन ।
निर्वाचन आयोगले साउन १ गते देखि १५ गतेसम्मका लागि मतदाता नामावली दर्ताको समय तोकेको छ । सम्बन्धित वडामा बसोबास गर्ने व्यक्तिको नागरिकता, विवाहित महिलाको हकमा विवाह दर्ता तथा अन्य जिल्लाबाट बसाइसरी आएका परिवारले बसाइसराईको प्रमाणपत्र ल्याएमा नयाँ मतदाता नामावली नाम समावेश गर्न सक्नेछन । आयोगबाट यस अघि प्रकाशित नामावलीमा नाम तथा ठेगानामा त्रुटि भएका मतदाताले पनि गल्ती सच्याउन सक्नेछन ।
मतदाता नामावली दर्ताको लागि लाइनमा उभिएका सर्वसाधारणले भने मतदाता नामावली संकलन कार्य सदरमुकामबाट नभई सम्बन्धित गाउँपालिका र वडाबाट हुनुपर्ने र दर्ता कार्यको समयअवधि बढाउनुपर्ने माग गरेका छन ।

Follow Us

Facebook

Twitter

© Copyright by NayaBato
सम्पर्क [email protected]
Scroll Up