गोर्खाल्याण्डको पक्षमा हाम्रो पनि साथ छ भन्दै काठमाण्डौमा प्रदर्शन भिडियो सहित

गोर्खाल्याण्डको पक्षमा हाम्रो पनि साथ छ भन्दै काठमाण्डौमा प्रदर्शन भिडियो सहित

पहिचान खोसिएका नेपाली, गोर्खाल्याण्ड आन्दोलन र हाम्रो समर्थन :

अहिले दार्जिलिङमा फेरी गोर्खाल्याण्ड आन्दोलन चर्किएको छ । दार्जिलिङ, मिरिक, खर्साङ्ग, कालिङ्गपोङ लगायतका सम्पूर्ण जनताहरु आन्दोलनमा होमिएका छन भने फेसबुकका भित्ताहरुमा समेत यसको बहस निकै चर्किरहेको छ । धेरै नेपालीहरुले गोर्खाल्याण्डको समर्थन गरिरहेको परिप्रेक्षमा केहिले भने गोर्खाल्याण्ड आन्दोलनमा यहाँका नेपालीको समर्थनलाई तराइमा चलिरहेको मधेस आन्दोलनसँग जोडेर हेर्न थालेका छन । के साँच्चै गोर्खाल्याण्ड आन्दोलनमा हाम्रो समर्थन र तराइमा चलिरहेको कथित मधेस आन्दोलनमा इण्डियाको समर्थन उस्तै उस्तै हो त ?

दार्जीलिङ १८१५ देखि १९५० सम्म

दार्जीलिङ क्षेत्र सुगौली सन्धि (१८१५–१६) अघि नेपालको प्रदेश थियो । सुगौली सन्धिपछि कम्पनीद्वारा त्यो क्षेत्र सिक्किमलाई दिइयो । सिक्किमले इस्ट इण्डिया कम्पनीलाई दार्जीलिङ उपहारस्वरुप दिएपछि सन् १९४७ सम्म दार्जीलिङमा ब्रिटिशहरूको आधिपत्य रह्यो । १९४७ अगस्त १५ तारिखमा भारत औपनिवेशिक स्वराज्य भयो र १९५० को जनवरी २६ तारिखमा आफ्नै संविधान लागू भएपछि भारत पूर्ण रुपमा स्वतन्त्र भयो । तर भारत स्वतन्त्र हुनुपूर्व ब्रिटिश इण्डियाअन्तर्गत रहेका दार्जीलिङ, जलपाइगुडी, गढवाल, कुमाउँ आदि नेपालका भूभागहरू स्वतन्त्र भारतले नेपाललाई फिर्ता गरेन ।

भारत र नेपाल दुबैले नेपाल–भारत सन्धिको धारा ८ को वास्तविक अर्थ र कानुनी सन्दर्भ बुझ्न खोजेका छैनन् । यसको परिणाम के भयो भने नेपाल १९५० को सन्धिको धारा ८ अनुसार सुगौली सन्धिमा गुमेको आफ्नो भूभागमाथि दाबी नगरेर सधैँ मौन बस्यो । भारत सरकारले पनि भारतीय संविधानको धारा १ (३–सी), धारा २, धारा ४ र धारा ३६८ अनुसार अहिलेसम्म ती भूभागहरूलाई भारतीय संघभित्र गाभ्न सकेको छैन । भारतका इतिहासकार श्रीमन नारायणले १९५० को सन्धीको धारा ८ का विषयमा भनेका छन्, ‘यो भारतको ‘पोलिटकल ब्लन्डर’ हो । जुन दिन नेपालले यो आफ्नो भूमिमाथि दावी गर्छ त्यतिबेला भारतसित शक्ति प्रयोगको भाषा बोल्ने बाहेक अरु विकल्प रहँदैन ।’

दार्जीलिङ नेपालकै भूभाग हो:

सन् १९५० अघि नेपाल र ब्रिटिश भारतबीच भएका सबै सन्धि खारेज हुनुको अर्थ सुगौली सन्धि पनि खारेज हुनु हो र सो सुगौली सन्धि खारेज हुनुको अर्थ नेपालको सीमा टिस्टादेखि सतलजसम्म कायम हुनु हो । तर दार्जीलिङ क्षेत्रका जनताले महाकालीपारिको विषयमा केही भन्नु आवश्यक नदेखेर केवल मेचीपारि र टिस्टावारिका पहाडी तथा तराई भूभागको आधिकारिक प्रतिनिधि वा मुख्य हकदारको खोजी गरेका छन् । १९५० को नेपाल–भारत सन्धिको धारा ८ ले मात्र होइन, १९५० अक्टोबर ३० मा नेपाल र संयुक्त अधिराज्य (अङ्ग्रेज सरकार) बीच भएको सन्धिको धारा ८ ले पनि नेपाल र ब्रिटेनबीच भएका पहिलेका सबै सन्धि खारेज गरेको छ । सो सन्धिको धारा आठमा भनिएको छ-

“यो सन्धिपत्र चालू भएको मितिदेखि जहाँतक युनाइटेक किङ्गडम र नेपालका बीचको सम्पर्क छ, युनाइटेड किङ्गडम सरकार र नेपाल सरकारका बीचमा सन् १९२३ को डिसेम्बर २१ तारिखअघि औ सो तारिखमा काठमाण्डौंमा हस्ताक्षर भएको सन्धिपत्र समेत खारेज हुनेछन् ।”

दार्जीलिङमा निर्वाचनको वैधानिकता:

गोर्खा राष्ट्रिय मुक्ति मोर्चाले उठाएको यो प्रसङ्गले के स्पष्ट गर्छ भने दार्जीलिङ क्षेत्रबाट भारतको लोकसभा र राज्यसभामा कुनै प्रतिनिधित्व हुन सक्दैन । दार्जीलिङ क्षेत्रमात्र होइन, कुमाउँ, गढवालमा पनि भारतले संसदीय निर्वाचन गराउन मिल्दैन, जबसम्म ती भूभाग औपचारिक रूपमा भारतमा गाभिँदैनन् । तर ती भूभागलाई भारतमा गाभ्न भारतले उसको आफ्नै संविधानअनुसार पनि नेपालसँग भूमिसम्बन्धि नयाँ सन्धि गर्नुपर्छ । यसले पनि के पुष्टि गर्छ भने भारत अधीनस्थ दार्जीलिङ, कुमाउँ र गढवाल अर्थात महाकालीदेखि सतलजसम्म र मेचीदेखि टिस्टासम्मको समस्त क्षेत्र नेपालका हुन् ।

नेपालले गुमाएका मौका:

गुमेको भूमि फिर्ता लिने मौका नेपालले राणाकालमा नपाएको होइन । तर, राणाहरुले मौकामा चौका हान्न चुके ।

भारत र पाकिस्तानलाई स्वतन्त्र बनाएर ब्रिटिशहरु जाने भएपछि दार्जिलिङबाट डमरसिंह गुरुङ राणाहरुसमक्ष प्रस्ताव लिएर आए । उनले राणाहरुलाई भने, ‘ब्रिटिशहरु जाँदैछन्, अब दार्जीलिङलाई नेपालमा मिलाउनुपर्छ ।’

त्यतिबेला कांग्रेस राणाविरुद्ध लडिरहेको थियो । गुरुङले कांग्रेसलाई पनि सुझाव दिए, ‘अहिले राणाविरुद्धको लडाइँमा ध्यान नदिएर पहिले जमिन फिर्ता लिनुस । जमिन फिर्ता आएपछि हामी २५ हजार भूपू गोर्खाले राणाहरुलाई एक दिनमै पल्टाइदिन्छौं ।’

यो कुरा वीपी कोइरालाले नेहरुसित राखे । त्यसपछि नेहरुले राणाहरुलाई कस्न थाले । ‘भारतको बैंकमा रहेको तिमीहरुको पैसा रोकिदिन्छु’ भन्नेसम्मको चेतावनी दिए यद्यपि, राणाहरुले यस विषयमा कुराकानी गर्न तुल्सीमेहरलाई महात्मा गान्धीकहाँ पठाएका थिए । गान्धीले भने, ‘ठीक छ, जमीन तपाईंहरुको हो माग्न सक्नुहुन्छ । तर, ब्रिटिशलाई धपाउने आन्दोलनमा सरिक भएको नेपालीले तपाईंहरुलाई बाँकी राख्दैन भन्ने चाहिँ सोच्नुभएको छ कि छैन ?’ भारतका स्वतन्त्रता आन्दोलनमा थुप्रै नेपालीहरु पनि संलग्न थिए । उनीहरुलाई देखाएर गान्धीले घुमाउरो चेतावनी दिएका हुन् ।

आफ्नो शासनसत्ता गुम्ने भयका कारण अन्ततः राणाहरुले आफ्नो देशको भूभाग फिर्ता गर्ने प्रयासलाई जोडदार रुपमा नउठाएको देखिन्छ ।

इतिहासकार पुरुषोत्तम राणाले अंग्रेजहरु आफैंले तीन पटकसम्म ‘हामी भारत छाड्दैछौं, तपाईंहरु आफ्नो भूमिमा दाबी गर्नुस्’ भनेर सन्देश पठाएको उल्लेख गरेका छन् । बन्दरगाह चाहिन्छ भने बंगलादेशको चटगाउँसम्म दिन्छौं पनि भनेका थिए उनीहरुले । तर, गान्धी र नेहरुले तिगडम गरेर यो प्रसंगलाई यत्तिकै मत्थर बनाइदिए ।

जो वास्तविक नेपाली जनता हुन तिनीहरुसँग हाम्रो आफ्नोपना र राष्ट्रीयताको बलियो सम्बन्ध रहेको छ, चाहे त्यो हिमाल, पहाड, तराइमा बस्ने नेपाली होस वा दार्जिलिङ, सिक्किम, कुमाउ, गढवाल, देहेरादुनमा बस्ने नेपाली नै किन नहोस । दार्जिलिङ, सिक्किम, देहेरादुनलगायतका नेपालीहरुसँग मैले पनि राम्रो सङ्गत गरेको छु । बेला बेलामा उनिहरुसँग ग्रेटर नेपालको बिषयमा कुरा पनि गर्ने गर्छु । जब म उनीहरुसँग नेपाल – इष्ट इण्डिया कम्पनीको लडाइँ, त्यो लडाइँमा नेपालले बाध्य भै बृटिशसँग सुगौली सन्धी गरेर गुमाउनु परेको १ तिहाइ भूभाग अनि ग्रेटर नेपालको अभियानको बारेमा कुरा गर्छु, उनीहरु दङ्ग पर्दै निकै चाख मानेर मेरो कुरा सुन्छन अनि भन्छन्, “यो इतिहासको बारेमा मलाई थाहा थिएन, अहिले थाहा पाएँ, तपाइँको कुरा ठिक हो” । त्यसपछी उनीहरुले “म पनि आफ्नो ठाउँमा गएर आफ्नो साथिहरुलाई यसको बारेमा कुरा गर्छु” भन्दै मसँग भएका इतिहास र ग्रेटर नेपाल सम्बन्धी सामग्रीहरु मागेर लिन्छन ।

हो, नेपाल – बृटिशबीचको युद्ध, बाध्यकारी सुगौली सन्धी अनि त्यो सन्धिमा नेपालले गुमाउनु परेको १ तिहाइ भूभागको इतिहासको बारेमा उनिहरु अनभिज्ञ नै छन्, शुन्य नै छन । किनकी ती भूभागहरु अहिले इण्डियाले हस्तक्षेप गरेर भोग चलन गरिरहेका छन्, उनीहरुलाई आफु इण्डियन भएको आभास दिलाएर वास्तविक इतिहासलाई लुकाइ उनिहरुसामु आउनै दिएको छैन ।

बाल्यकालमा बिद्यालयदेखी नै उनीहरुलाई गान्धी र नेहरुको जीवनी पढाइयो, पृथ्वीनारायण शाह, बहादुर शाहको होईन । भगत सिहँको वीरताको गाथा सुनाइयो, अमरसिहँ थापा, भक्ती थापा अनि बलभद्र कुँवरको होईन । राष्ट्रीय गानको रुपमा उनीहरुलाई “जन-गण-मन अधिनायक जय हे” गाउन लगाइयो, नेपालको पुरानो राष्ट्रीय गान “श्रीमान गम्भिर नेपाली” वा “सयौँ थुङ्गा फूलका हामी एउटै माला नेपाली” होईन । गान्धिको “आजाद हिन्दूस्तान” को इतिहास पढाइयो तर त्यही हिन्दूस्तान ब्रीटिशहरुले छोडेर जाने बेला सुगौली सन्धिमा नेपालले गुमाएको भूभाग फिर्ता माग्न जाँदा तिनै गान्धी र नेहरुले राणा तथा कांग्रेसका नेताहरुलाई बिभिन्न डर धम्की देखाएर, अनेक तिकडम गरेर फिर्ता पठाइदिएको कुरा कहिल्यै पढाइएन । किनकी इण्डियाको बिद्यालयमा नेपाली इतिहास पढाइँदैन । इण्डियाले आफ्नो हारको इतिहास सधैँ लुकाएर राखेको छ र बालबालिकाहरुलाई टुटेफुटेको आफ्नो इतिहास बटुलेर पढाइरहेको छ, त्यो इतिहास, जतिबेला इण्डिया नामको देशको कुनै अस्तित्त्व नै थिएन । सायद गान्धीको “आजाद हिन्दूस्तान” को इतिहासदेखि पहिलेको इतिहास इण्डियाको छैन र हारको इतिहास इण्डियाले कहिल्यै देखाउँदैन ।

अनी कसरी उनीहरुले बुझोस कि हामी अझै पनि नेपाली हौँ र हाम्रो भूभाग अझै पनि नेपालको अभिन्न अङ्ग हो, भनेर ? कसरी थाहा पाओस कि सुगौली सन्धिमा नेपालबाट खोसिएको हाम्रो भूभाग इण्डियाले अझै पनि हस्तक्षेप गरी भोग चलन मात्र गरिरहेको हो भनेर ? अनि कसरी, कुन आधारमा उनिहरुले भनोस कि हामी नेपाली हौँ ?

इण्डियाले उनीहरुको पहिचान खोसिदिएको छ, उनिहरुको वास्तविकतालाई लुकाइदिएको छ । उनीहरुलाई आफ्नो मातृभुमिबाट अलग राखेर टुहुरो बनाइदिएको छ । त्यसैले अब उनीहरुको पहिचान र वास्तविकतालाई उनीहरुसामु परिचित गराइ बिगतका तिता इतिहासलाई छर्लङ्ग पारिदिनुपर्ने बेला आइसकेको छ । उनिहरुलाई आफ्नो घर बोलाउनु पर्ने बेला आइसकेको छ ।

त्यहाँका नयाँ पुस्तालाई हाम्रो इतिहासको बारेमा जानकारी नभए पनि उनिहरुको पूर्वजले अझै पनि भनिरहेका छन्, “हामी नेपाली हौँ, हाम्रो शरीरमा गोर्खालीको रगत बगेको छ” । अम्बर गुरुङ्ग, गोपाल योन्जन, कुमार कान्छा, गोपाल भुटानी लगायतका प्रतिष्ठित व्यक्तित्त्वहरु यसैको उदाहरण हुन, जसले जीवनभरी नै आफुलाई नेपाली भनेर नै चिनाए र नेपालकै निम्ति आफुलाई समर्पित गरिरहे ।

दार्जिलिङका बासिन्दाहरु त्यहिँका आदिवासी जनता हुन भन्नेमा दुइ मत छैन । तर तराइमा अहिले कथित मदेसवादी नेताहरुले जुन बखेडा निम्त्याइरहेका छन्, उनीहरुको माग जायज या नाजायज भन्ने निर्णय गर्नुपूर्व उनीहरुको वास्तविकता के हो ? के उनीहरु साँच्चै आदिवासी नेपाली हुन ? तिनीहरुले कस्तो अवस्थामा कसरी नेपाली नागरिकता प्राप्त गरे ? के त्यहिँका आदिवासी नेपाली जनताहरु पनि उनीहरुको मागप्रती समर्थन गर्छन ? ती कथित मधेसवादी नेताहरुको तराइमा वास्तविक समर्थक कती छन अनि कस्ता छन ? पहिले यी सबैको बारेमा प्रष्ट हुनु आवश्यक छ ।

स्मरण रहोस्: इण्डियाको दवाव र दलाल नेताहरुको कारण ३८ लाख भन्दा बढी इण्डियनहरुले नेपाली नागरिकता पाइसकेका छन भने झण्डै यती नै सङ्ख्यामा अझै नागरिकता लिनेहरु लाईनमा छन । यसरी तराइमा त्यहिँका आदिवासी नेपालीहरुलाई अल्पमतमा पार्ने षड्यन्त्र भैरहेको छ, जसको एउटै उद्देश्य भनेको कुनै पनि हालतमा नेपालको तराइलाई इण्डियामा बिलय गराउनु नै हो । यसैको परिणाम हो, सरकार कथित मधेसवादी नेताहरुको मागमा जती लचिलो बन्यो त्यती नै उनीहरुले नयाँ-नयाँ बखेडा झिकेर तराइमा अशान्ति मच्चाउने । नेपालबाट तराइलाई टुक्र्याएर इण्डियामा बिलय गराउने षड्यन्त्र अहिलेको मात्र नभै इण्डियाका तत्कालिन प्रधानमन्त्री इन्दिरा गान्धिको पालादेखी बनेको प्लानिङ्ग अनि षड्यन्त्र हो । त्यतिबेला स्थगित भएको यो षड्यन्त्र अहिले पुन: बल्झाइएको छ ।

नेपालले गोर्खाल्याण्ड आन्दोलनको समर्थन गर्नु र इण्डियाले अङ्गिकृत नागरिकताधारी कथित मधेसिहरुको अधिकार (कुन अनि कस्तो अधिकार भन्ने बारे स्वयम कथित मधेसी नेताहरु नै अनभिज्ञ) को आन्दोलनमा समर्थन गर्नु आकाश जमिनको फरक छ । दार्जिलिङ मात्र होईन, सिक्किम, कुमाउ, गढवाल, देहेरादुन, सतलजलगायतका बाध्यकारी सुगौली सन्धिमा नेपालले गुमाएको एक तिहाइ भन्दा बढी भूभाग अझै पनि हाम्रै हो, तर तराइ कहिल्यै पनि इण्डियाको थिएन र होईन । किनभने नेपाल – ब्रीटिशबीच युद्ध हुँदा इण्डिया मात्र होईन पाकिस्तान र बङ्गलादेश कुनैको पनि अस्तित्त्व नै थिएन ।

अब बेला आएको छ हाम्रो इतिहासको बारेमा परिचित भै बाध्यकारी सुगौली सन्धिमा गुमाउनु परेको हाम्रो एक तीहाइ भूभाग फिर्ता लिने । त्यसैले प्रत्यक सचेत नेपाली नागरिकले गोर्खाल्याण्ड आन्दोलनमा साथ र समर्थन जनाइरहेका छन ।

Follow Us

Facebook

Twitter

© Copyright by NayaBato
सम्पर्क [email protected]
Scroll Up