मलाई नसोधी मेरो कार्यक्रम खोसियो

image
सरकारी सञ्चारमाध्यमबाट प्रसारण हुने कतिपय कार्यक्रममा सरकार फेरिएसँगै प्रस्तोता फेरिन्छन्। सत्तारुढ दलहरूले आफू निकट व्यक्तिलाई नै त्यस्ता कार्यक्रममा प्रस्तोता राखेका हुन्छन्। जब सरकार फेरिन्छ, उनीहरू स्वतः जागिरबाट बाहिरिन्छन्। सरकारी सञ्चारमाध्यमहरूले जनताप्रति दायित्व पूरा गर्न नसक्नु र ती सत्तारुढ दलको प्रोपोगान्डा माध्यम मात्र हुनुको एउटा कारण यो पनि हो।

सरकार जुनसुकै पार्टीको होस्,सञ्चारमाध्यमलाई पार्टीगत स्वार्थबमोजिम दुरुपयोग हुन दिनु हुँदैन। सञ्चारमाध्यम जनताप्रति नै उत्तरदायी हुनुपर्छ। हामीले यही सोचेर डेढ वर्षअघि नयाँ टेलिभिजन कार्यक्रमको खाका बनाएका थियौं, जसको नाम थियो, ‘सिधा कुरा प्रधानमन्त्रीसँग’।

यो कार्यक्रमलाई राजनीतिबाट मुक्त राख्ने र प्रधानमन्त्री कार्यालय वा सम्बन्धित सञ्चारमाध्यमलाई कुनै व्ययभार नपर्ने गरी कार्यक्रममा विज्ञापन पनि बजाउने हाम्रो योजना बन्यो। त्यसैअनुसार हामीले तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाई प्रस्ताव सुनायौं। उहाँले हाम्रो उद्देश्य राम्रो भएको बताउनुभयो। तर, त्यतिबेला उहाँका प्राथमिकता अरू नै थिए। उहाँको कार्यकालमा कार्यक्रम सुरु गर्न सम्भव भएन।

त्यसपछि केपी शर्मा ओली प्रधानमन्त्री हुनुभयो। प्रधानमन्त्री नहुँदै मैले उहाँसँग आधा घन्टा एक्लै भेटेर कार्यक्रमको अवधारणाबारे बताएँ। मेरो कुरामा उहाँ विश्वस्त हुनुभयो।

सुरुमा हामीले प्रधानमन्त्री निवास बालुवाटारबाटै यो कार्यक्रम प्रसारण गर्ने र जुनसुकै इच्छुक मिडियाले बजाउन सक्ने योजना बनाएका थियौं। तर, नेपाल टेलिभिजनले प्राविधिक कुरा मिलाउन गाह्रो पर्ने बताएपछि उसकै स्टुडियो प्रयोग ग¥यौं। नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रसारण हुने ‘सिधा कुरा प्रधानमन्त्रीसँग’ नामक कार्यक्रमलाई ‘न्युज ट्वान्टी फोर’ टेलिभिजन र रेडियो नेपालले पनि सँगसँगै प्रसारण गर्न थाले।

हरेक शनिबार राति पौने ९ बजेबाट आउने यो कार्यक्रम ४५ मिनेटको थियो। विषयवस्तु नसकिए समय लम्बिन सक्थ्यो। यसका लागि हाम्रो प्रायोजकले नेपाल टेलिभिजनलाई एक कार्यक्रमको १ लाख २५ हजार रुपैयाँभन्दा बढी रकम बुझाउँथ्यो।

कार्यक्रमले चर्चा पाइरहेको थियो। जनताले आफ्ना कुरा सिधै प्रधानमन्त्रीसँग भन्न पाइरहेका थिए। कतिका समस्या त समाधान पनि भएका थिए। हामीले कार्यक्रमको वेबसाइट, फेसबुक तथा ट्विटर ह्यान्डल र मोबाइल एप्लिकेसन पनि बनाइसकेका थियौं। वेबसाइटमा अहिलेसम्म प्रधानमन्त्रीलाई सोधिएका प्रश्नहरू संग्रह गर्ने तयारी भइरहेको थियो। यसबाट अझ एक कदम अघि बढेर मोबाइल एप्लिकेसनबाट सिधै प्रश्न सोध्न सक्ने पनि बनाउन लागेका थियौं।

यसैबीच ओली सरकार परिवर्तन हुने भयो। उहाँपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा सरकार बन्ने भयो। दाहाल प्रधानमन्त्री हुने भएपछि मैले उहाँलाई भेटेर कार्यक्रमबारे कुरा गर्न प्रयास गरेँ। तर, धेरैपटक प्रयास गर्दा पनि सफल हुन सकिनँ।

उहाँको सपथग्रहणको दिन राष्ट्रपति भवन शितलनिवासमा माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र नेता वर्षमान पुनलाई कार्यक्रमका बारेमा बताएँ। उहाँहरू दुवैले कार्यक्रमको उद्देश्य राम्रो भएको र यसलाई निरन्तरता दिन आफूले सहयोग गर्ने आश्वासन दिनुभयो।

हिजो शनिबार बिहानसम्म पनि कार्यक्रम मैले नै चलाउने भन्नेमा प्रधानमन्त्रीज्यूको सचिवालय सहमत थियो। तर, कार्यक्रमको सेट परिवर्तन गर्नुपर्छ भन्ने खबर नेपाल टेलिभिजनको प्रशासनमार्फत् दिइयो। हामीले उहाँहरूले भनेअनुसार नै सेटसहित कुर्सी पनि परिवर्तन ग¥यौं। शनिबार दिउँसो आएर भने कार्यक्रम प्रायोजन गरेको वेलकम मार्केटिङका प्रबन्धक निर्मलराज पौडेलले नयाँ प्रस्तोता आउने बताउनुभयो।

निर्मलजीले यो कार्यक्रमको कन्सेप्ट र डिजाइन मैले नै गरेकाले प्रस्तोता मै हुनुपर्छ भन्नुभए पनि प्रधानमन्त्री सचिवालयले मानेन। तुरुन्तका तुरुन्तै अर्को प्रस्तोताबाट कार्यक्रम सञ्चालन गरियो। मसहित ३५ जनाको टिमले डेढ वर्षदेखि मेहनत गरेर बनाएको ब्रान्डमा हिजो एकाएक परिवर्तन भयो। कार्यक्रममा विज्ञापन पनि बजेन।

कार्यक्रम अर्कैले चलाउन थालेको औपचारिक जानकारी मलाई अहिलेसम्म नेपाल टेलिभिजनले दिएको पनि छैन। मैले माओवादी नेताहरू नारायणकाजी श्रेष्ठ र वर्षमान पुनलाई धेरै ‘म्यासेज’ पठाइसकेँ। प्रधानमन्त्रीको स्वकीय सचिवालयमा रहेका प्रकाश दाहाललाई पनि बीसौं सन्देश पठाएको छु। नारायणकाजीले ‘सरी, मैले सकिनँ, त्यहाँ अरू नै साथीहरूले हेर्नु हुँदो रहेछ’ भनेर जवाफ पठाउनुभयो। अरूले भने जवाफ दिन पनि जरुरी ठान्नुभएन।

म मान्छु, प्रधानमन्त्रीज्यूले समय दिनुभएन भने कार्यक्रम बन्द हुन्छ। म यो पनि मान्छु, मबाहेक अर्को प्रस्तोताले पनि कार्यक्रम चलाउन सक्छ। तर, हामीले दुःख गरेर बनाएको ब्रान्डका बारेमा निर्णय गर्दा कमसेकम हामीलाई एकचोटि सोध्नु त पर्छ।

म अहिले पनि प्रधानमन्त्रीज्यूलाई भेट्न खोजिरहेको छु। तर, कसैगरी पनि उहाँको पाँच मिनेट समय पाउन सकेको छैन।

अझै पनि केही बिग्रेको छैन। यो कार्यक्रमलाई राजनीतिमुक्त राख्दै जनता र प्रधानमन्त्री जोड्ने सेतुका रूपमा विकास गर्ने हो भने एकचोटि बसेर कुरा गरौं भन्ने मात्र मेरो आग्रह हो। प्रस्तोता अरू नै राख्नुस्, केही छैन, तर ‘सिधा कुरा प्रधानमन्त्रीसँग’ कार्यक्रमको मर्म मारेर यसलाई ‘घटना र विचार’ जस्तै प्रधानमन्त्री फेरिनासाथ प्रस्तोता फेरिने कार्यक्रम नबनाइयोस्।

अर्को कुरा, यो हाम्रो टिमको बौद्धिक सम्पत्ति पनि हो। अर्काको सम्पत्ति खोसेको भन्दा त प्रधानमन्त्रीज्यूका लागि पनि राम्रो सुनिँदैन!

त्यसैले, म आग्रह गर्न चाहन्छु, कार्यक्रम टिममा प्रधानमन्त्रीका सल्लाहकार राख्नुपर्छ भने पनि कसरी गर्न सकिन्छ, हामी तयार छौं। अर्को प्रस्तोताका विषयमा पनि छलफल गर्न सकिन्छ। हामी सबै कुरामा छलफल गर्न तयार छौं। तर, प्रधानमन्त्रीज्यू, यसबारे छलफल गर्न मलाई पाँच मिनेट समय त दिनुस्।

(लामिछानेसँग सेतोपाटीले गरेको कुराकानीमा आधारित)

Follow Us

Facebook

Twitter

© Copyright by NayaBato
सम्पर्क [email protected]
Scroll Up