मृत्यु जितेका ‘रियल हिरो’को ‘एयर स्टन्ट’

हुम्ला सदरमुकाम सिमिकोटबाट मकालु एयरको जहाज सुर्खेतका लागि उड्यो। ११,५०० फिट उचाइमा पुगेपछि जहाजको इन्जिन फेल भयो। जहाजमा थिए क्याप्टेन साङ्गे लामा र कोपाइलट प्रशान्त शाह। लामा र शाहका अगाडि जीवनको सबैभन्दा भयावह मोड सामुन्नेमा उभियो र हाँक दियो– तिमीहरु मृत्युको मुखमा छौं, क्षणभरमै जहाजसँगै तिमीहरुको जीवन खारानी हुनेछ।

चलचित्रमा देखाइने काल्पनिक ‘क्लाइमेक्स’ थिएन यो, जहाँ असाध्य परिस्थितिलाई साध्य तुल्याउनकै लागि ‘हिरो’ खडा गरिएको हुन्छ।

कोपाइलट प्रशान्तको हातबाट जहाजको कमाण्ड क्याप्टेन लामाले लिए। बचाउनु सिंगो जीवन थियो, समय सेकेण्डमा बदलियो। प्रतिसेकेण्डमा सही चाल र तिक्ष्ण विवेक चाहिएको थियो। क्याप्टेन लामाले छेउमा ‘कोपाइलट भाइ’को अनुहार नियाले। भयावह डरको बोझलाई शक्तिमा बदल्ने अठोट लिए। भने– ‘नो वरी, आइएम हेयर, (धैर्य गर, म छु)।’

त्यसपछि सुरु भयो ‘रियल हिरो’को जीवन–मरणको ‘एयर स्टन्ट’।आउनुस्, क्याप्टेन लामाकै मुखबाट त्यो क्षण महसुस गरौं र रियल हिरोलाई चिनौं।

त्योभन्दा पहिले एउटा सुखद ‘क्लाइमेक्स’ जानिराख्नुस्– रियल हिरो लामाले जब कर्णालीको भेलमा जहाज छिराए र मृत्युलाई छलेर दुई भाइ कर्णाली किनारामा उभिए, कोपाइलट शाह थामिएनन् र रियल हिरोको खुट्टा छोएर अंकमाल गर्दै हर्षका आँशु बगाए। ‘दाइ यु आर माइ रियल हिरो, माइ रियल गड (हजुर मेरो हिरो हो, मेरो भगवान हो)।

अब भने रियल हिरो पनि पग्लियो। अंगालो कसेर दुई भाइ कर्णालीमा बगेको ‘निर्जिव तर प्रिय’ (उनीहरु जहाजलाई प्रेमिका ठान्थे) जहाज हेर्दै, आँशु पुछे र मनमनले क्षमा मागे– ‘सरी, हामीले तिमीलाई बचाउन सकेनौं।’

Follow Us

Facebook

Twitter

© Copyright by NayaBato
सम्पर्क [email protected]
Scroll Up