इन्जिन फेल भएपछी कर्णाली नदीमा जहाज अवतरण गर्ने सहाशी पाइलटको बयान

image
काठमाडाैं, २२ साउन । सिमिकोटबाट सुर्खेतकालागी हाम्रो चौथौं फ्लाइट थियो । विहीबार दिउसो पौने चार बजेतिर कार्गो झारेर रित्तो जहाज उडाएर फर्किंर्दै थियौं । जहाजको कमान्ड मैले लिएको थिएँ अर्थात सिमिकोटबाट मैले जहाज टेक–अफ गरें । क्याप्टेन साङ्गे लामा सर कन्ट्रोल सिटमा हुनुहुन्थ्यो । टेकअफ (क्लाइम्ब) मैं थियौं । सिमिकोट पास काटीसकेका थिएनौं । क्रुजमा जहाज पुगिसकेको पनि थिएन । क्रुज समात्न ११ हजार ५ सय फिटको उचाईमा जहाज उक्लिरहेको थियो ।

हामी सिमिकोट विमानस्थलबाट करिब १६ किलोमिटर दक्षिण आइसकेका थियौं । भ्याट्टै इन्जिन गयो । अर्थात एउटामात्रै इन्जिन हुने जहाजको सबैभन्दा अगाडी भएको एक्लो इन्जिननै बिग्रेपछि हामीसँग विकल्प भनेको जहाज ग्लाइड गरेर नजिकैको मैदान, चौउर, खेत, बगर, कच्ची सडकमा अवतरण गर्नु हो । इन्जिनै बिग्रिहाले चंगा जस्तै हामी पखेटाको सहारामा ग्लाइड गर्दै समथल भूमीमा जोखिमपूर्ण अवतरण गर्न सक्छौं ।

हामीले सिमिकोट नै फर्किन प्रयास गर्‍यौं तर सिमिकोट फर्किन नसकिने भयो । इन्जिन बन्द भएपछि जहाज बिस्तारै तल तल झर्दै गयो । इन्जिन बन्दपछि क्याप्टेनले मेरो हातबाट कमान्ड लिनु भयो । उचाई गुमाइसकेकाले हामी सिमिकोट विमानस्थलमा अवतरण गर्न नसक्ने भयौं । तर जहाज दक्षिणबाट उत्तरतर्फ फर्काइसकेका थियौं । इन्जिन बन्द भएको खबर सिमिकोट टावरका एयर ट्राफिक कन्ट्रोलर (एटीसी) पवन अग्रहरीलाई पनि गरायौं । यस्तो बेला उड्डयन नियम अनुसार ‘इमरजेन्सी घोषणा’ गर्नुपर्छ । नियम अनुसार, त्यसो पनि गर्‍यौं । ‘मेडे’ ‘मेडे’ भन्यौं । यदी अन्तिम अवस्था आयो भने पाइलटहरुले एटीसीलाई यसो भन्नै पर्छ । यस्को अर्थ गुहार माग्दै ‘बचाउ बचाउ’ भनेको हो ।

सिमीकोट विमानस्थलमा अवतरण गर्न नसकिने भएपछि हामी त्यहाँको शिव मन्दिर पछाडीबाटै पश्चिमतर्फको हुम्ला कर्णाली नदीतर्फ लाग्यौं । मर्ने बाच्ने कुनै निश्चितता थिएन । जहाजले कुनै डाडालाई पो हान्ने हो की भन्ने डर लाग्यो । नजिकै बस्ती परिहाले झनै खतरा । हामीले अत्यन्त सजगताका साथ जहाजलाई खोलातर्फ ल्यायौं । पछाडी कर्गो र यात्रु नभएकाले हामीलाई दुइटा ज्यान जोगाउनु पर्ने । पानी दक्षिणतर्फ बगिरहेको थियो । हामी रिभरलाई प्वाइन्ट बनाउदै उत्तरतर्फ जहाज डाइभर्ट गरीरहेका थियौं । नदीमा पनि ठुलठुला ढुंगा सतह नमिल्ने हुने भएकाले अर्को जोखिम थियो । त्यसैले हामीले हाम्रो सिटलाई पहिल्यै पछाडी धकेल्यौं । जहाज छड्के पारेर नोजले पहिला ल्याण्डिङ्ग गर्दा जोखिम हुने भएकाले हामीले ककपिटमा खुकुलो बनायौं । दुबैतिरका झ्याल खौल्यौं । ताकि उफ्रिन सजिलो होस भनेर । पानीको अतिप्रवाह भएको ठाउँमै जहाज झ्याम्मै गयो । म किनारातर्फ थिएँ । पहिला उफ्रिएँ । पानी मेरो काँधसम्म थियो । म पछि क्याप्टेन बाहिर आउनु भयो । जहाज उडाएको डेढ वर्षको अनुभवमा यो मेरा लागि पहिलो घटना थियो । जहाजमा भएका हामी दुबैका फ्लाइट ब्याग हामीले निकाल्न सकेनौं । जहाभित्र पाइलट अनुमपतिपत्र, जहाजका डकुमेन्ट थिए । ती सबै बगे । हामी किनारमा उत्रिएपछि जहाजलाई २/३ मिनेटसम्म पानीले बगाइराख्यो । हामी किनाराबाट हेरिरह्यौं ।

क्याप्टेनको मोबाइल पानीमै परेछ । मेरो भने साथैमा थियो । सबैभन्दा पहिले काठमाडौंमा दिदीलाई फोन गरें । अनि सुर्खेतमा रहेको हाम्रै कम्पनीको स्टेशन म्यानेजरलाई खबर दिएँ । उनले सिमीकोट टावरलाई फोन गरेर हाम्रो लोकेशन र अवस्थाबारे बताइदिएछन् । केही मिनेटमै सिमीकोटमा रहेको सिम्रिक एयरको हेलिकप्टरले हामीलाई कर्णाली नदीबाट उद्धार गर्‍यो । क्याप्टेनले सुर्खेत जानेकी सिमीकोट भनेर सोधे । हामीले पहिला सिमीकोट जाउँ भन्यौं । किनकी हामीलाई नदीमा फाल हान्दा चोट लागेको थियो । सिमिकोटमा सामान्य उपचार चेकजाँच गरेपछि हामी विहीबारै नेपालगंज आयौं । शुक्रबारमात्रै काठमाडौं फर्कियौं । यो हाम्रो दोस्रो जन्म हो ।

(को–पाइलट शाहसंग कान्तिपुरका सुरज कुँवरले गरेको कुराकानी)

Follow Us

Facebook

Twitter

© Copyright by NayaBato
सम्पर्क [email protected]
Scroll Up