भारतले बुझिदिनुपर्छ:‘नेपालको छिमेकमा चीन पनि छ’:नेपाल–चीन सम्बन्धबारे भारतको चासोलगायत विषयमा गरिएको कुराकानी प्रस्तुत छ :

हुआङ योई चीन सरकारलाई सल्लाह दिने आधिकारिक निकाय ‘चाइनिज पिपुल पोलिटिकल कन्सल्टेटिभ कन्फरेन्स’का विदेश मामिला सदस्य तथा थिंकट्यांक संस्था चाहार इन्स्टिच्युटको अन्तर्राष्ट्रिय सल्लाहकार बोर्डका महासचिव हुन् । काठमाडौंस्थित सिन्ह्वा न्युज एजेन्सीको आयोजनामा भइरहेको ‘चीन नेपाल थिंकट्यांक सम्मेलन’मा सहभागी हुन सोमबार साँझ काठमाडौं आएका हुवाङले नेपाल, भारत र चीनबीच आर्थिक करिडोर निर्माण र दीर्घकालीन आर्थिक सहकार्यमा जोड दिँदै आएका छन् । मंगलबार बिहान उनीसँग नेपाल–चीन सम्बन्ध, नेपालमा बढ्दै गएको चिनियाँ प्रभाव, नेपाल–चीन सम्बन्धबारे भारतको चासोलगायत विषयमा गरिएको कुराकानी प्रस्तुत छ :

तपार्इंको नेपाल भ्रमणको उद्देश्य के हो ?
दुईवटा उद्देश्यले म काठमाडौं आएको छु । पहिलो, सिन्ह्वा न्युज एजेन्सीले आयोजना गरेको थिंकट्यांक डायलगमा सहभागी हुने । विभिन्न विश्वविद्यालय तथा थिंकट्यांक संस्थाबाट हामी १४ जना यहाँ आएका छौँ । म चाहार इन्स्टिच्युटलाई प्रतिनिधित्व गर्छु । यो चीनको ठूला थिंकट्यांक संस्थामध्येको एक हो । हामी पब्लिक डिप्लोमेसीमा काम गरिरहेका छौँ ताकि चिनियाँहरूले नेपाललाई राम्रोसँग बुझून् र हाम्रो धारणा नेपालका जनतालाई स्पष्ट पार्न सकौँ । आपसी समझदारी बढाआैँ भन्ने मेरो भ्रमणको उद्देश्य हो ।
दोस्रो, नेपालसँग मेरो व्यक्तिगत चासो छ । मैले १९७८ मा एकजना नेपालीलाई पहिलोपटक भेटेको थिएँ । कृषि मन्त्रालयका एकजना अफिसर माछापालनसम्बन्धी अध्ययन गर्न आउनुभएको थियो । ३६ जना अरू पनि मानिस थिए । नेपालीसँग मेरो सम्बन्ध घनिष्ट भयो । म अनुवादक थिएँ । यात्रामा जाँदा बसको सिटमा हामी सँगै बस्थ्यौँ । उनीबाट नेपालको जनजीवन र नेपालका बारेमा जानकारी भयो । बोल्नुभन्दा अगाडि हाँस्ने उनको शैलीबाट पनि म प्रभावित भएँ । म यो पनि सेयर गर्न चाहन्छु कि मैंले प्राथमिक कक्षामा पढ्दैखेरि नेपाल र नेपालका राजाका बारेमा सुन्न थालेको हुँ । त्यस वेला टेलिभिजन थिएन । रेडियोबाट सुनेको थिएँ । नेपालका राजा १९६५ मा चीन भ्रमण गरेको मलाई थाहा छ । म सानै थिएँ तर नेपालका बारेमा जान्न उत्सुक थिएँ । राजाको भ्रमणका सम्बन्धमा तयार पारिएको भिडियो हेरेँ । राजाले लगाएको टोपी र नेपाली पोसाकबाट म ज्यादै प्रभावित पनि भएँ । त्यसकारण नेपालका बारेमा अध्ययन गर्ने रुचि प्राथमिक पढाइदेखि नै हुँदै आएको हो । भाग्यवश १९७८ मा पहिलोपटक नेपाली कृषि अधिकृतसँग भेटेँ । उनीसँग चार वर्ष बसेँ । अहिले धेरै नेपालीसँग भेटेर अन्तत्र्रिmया गरिरहेको छु । नेपालबारे जानकारी राखेको ४० वर्षपछि म पहिलोपटक काठमाडौं आएको छु ।

तपाईँले सुनेको र अहिले आएर देखेको नेपाल कस्तो लाग्यो ?
नेपाल तीव्र गतिमा विकासतर्फ अघि बढेको मैले अनुभूत गरेँ । अन्तर्राष्ट्रिय ब्रान्डका पसलहरू, स्थानीय उत्पादनहरू छन् बजारमा । म पाटन भ्रमण गर्दा मानिसहरू किनमेलमा व्यस्त देखेँ । आर्थिक गतिविधि बढेको पाएँ । अर्को, नेपाल प्राचीन संस्कृतिमा धनी छ । नेपालीहरू मित्रवत् छन् । मुस्कान नभएका नेपाली सायद छैनन् । दुई शब्दमा भन्दा नेपालीहरू डाइनामिक र मित्रवत् पाएँ ।

तपाईं चाइनिज पिपुल पोलिटिकल कन्सटेटिभ कन्फरेन्सका विदेश मामिला सदस्य, विज्ञ हुनुहुन्छ । राजनीतिक चस्माबाट नेपाललाई अहिले कस्तो देख्नुभएको छ ?
निकट छिमेकीका रूपमा नेपाललाई हेर्दा राजनीतिक रूपमा यो परिवर्तनतर्फ गइरहेको म देख्छु । मेरो दृष्टिमा यदि तपाईं विकासतर्फ देशलाई लैजान चाहनुहुन्छ भने स्थिर राजनीतिक प्रणाली अपरिहार्य छ । हामी नेपालमा स्थिर सरकार देख्न चाहन्छौँ । सरकारको निरन्तर परिवर्तन नेपालको विकास प्रक्रियाका लागि उत्कृष्ट समाधान होइन । म नेपालको राजनीति धेरै बुझ्दिनँ । तैपनि, राजतन्त्रबाट प्रजातन्त्रतर्फ नेपाल गएको छ । नौ–दश महिना होइन चार–पाँच वर्षका लागि सरकार चाहिन्छ । अनि परिवर्तन आठ–नौ महिनामा देखिँदैन, यसका लागि समय लाग्छ । अहिले सरकारको दु्रत गतिमा परिवर्तनलाई नकार्न नसकिएला, तर भविष्यमा यो निरन्तर जाँदैन भन्नेमा म विश्वस्त छु । भविष्यमा विभिन्न राजनीतिक क्षेत्रका मानिस एकैठाउँमा बसेर स्थिर सरकारका लागि प्रयत्न गर्ने अपेक्षा छ । दलहरू एकैठाउँ रहे भने मात्रै विकासका योजना कार्यान्वयन हुन सक्छन् ।

विगतमा राजतन्त्रलाई चीनको स्थायी मित्र भनिन्थ्यो । गणतन्त्र आइसकेपछि चीनले आफ्नो मित्र गुमाएको र अहिलेको अवस्थासँग चीन विश्वस्त हुन सकेको छैन भन्ने तर्क यहाँ व्याप्त छ । तपाईं यसमा के भन्नुहुन्छ ?
यो एउटा परिकल्पना मात्र हो । यससँग हामी सहमत छैनौँ । राजतन्त्र गइसकेपछि हामीसँग धेरै मित्र छन् । हामी सबै राजनीतिक दलसँग मित्रवत् संवाद गरिरहेका छौँ, यसमा हामी खुसी छौँ । हामी सबै राजनीतिक पार्टीसँग बलियो सम्बन्ध जोड्न चाहन्छौँ । कुन पार्टीले देशमा शासन गर्ने भन्ने तपाईंहरूको छनोटको विषय हो । हामी राजनीतिक पार्टीसँगको सम्बन्ध थप मजबुत पार्ने र अनुभव आदान–प्रदान गर्ने कुरा बढाउँदै जानेछौँ । यसैबीच हामी सत्तामा नभएका पार्टीसँग पनि संवाद गरिरहेका छौँ, यसलाई निरन्तरता दिन्छौँ । तपाईंहरूका जति धेरै राजनीतिक दल छन्, ती सबै हाम्रा मित्र हुन् । र, हामी विश्वास गर्छौं कि नेपालले राजनीतिक प्रणालीका सन्दर्भमा आफ्नो राजनीतिक यात्रा आफैँ तय गर्नेछ । कुनै देशको एउटा राजनीतिक प्रणाली अर्कोमा लैजान मिल्दैन र यो सम्भव पनि छैन । वास्तवमा राजतन्त्रपछि नेपालसँग हाम्रो आदान–प्रदान बढेको छ । किनभने नेपालमा हाम्रा धेरै मित्र थपिएका छन् । आर्थिक रूपमा नेपाल अघि बढिरहेको छ । मलाई लाग्छ, राजतन्त्रपछि हाम्रो सम्बन्ध झन् सुदृढ भएको छ, यहाँ कहीँ कतै आशंका वा अविश्वास छैन ।

नेपालको भूराजनीतिलाई चाहिँ कसरी हेर्नुभएको छ नि ?
नेपालको रणनीतिक अवस्थिति दुई ठूला शक्ति चीन र भारतको बीचमा छ । यतिवेला हामी कसरी आपसमा सहकार्य गर्छौं भन्ने विषय महत्वपूर्ण छ । चीन, नेपाल र भारतबीच आर्थिक करिडोर बनाउन सक्छौँ र तीनै देशका जनता यसबाट लाभान्वित हुन सक्छन् भन्ने हाम्रो दृढ विश्वास छ । हामीले भनेका छौँ, कम्युनिटिज अफ सेयर्ड फ्युचर । नेपालले यसका लागि स्वतन्त्र विदेश नीति तय गर्नुपर्छ । दुई विशाल देशबीचको सानो देशको भविष्य दुवैसँग असल सम्बन्ध स्थापित गर्नुमा छ भन्ने कुरा तपाईंहरूले बुझ्नुपर्छ । चिनियाँ दृष्टिकोणबाट हामी नेपालसँग अझ बलियो सम्बन्ध स्थापित गर्न चाहन्छौँ । हामी यो पनि बुझ्छौँ कि नेपालको भारतसँग पनि बलियो सम्बन्ध आवश्यक छ । तीन देश (चीन, नेपाल र भारत)ले भविष्यमा अझ बढी छलफल गर्नुपर्छ ताकि यो क्षेत्रको कमन कम्युनिटी मेम्बरबाट आपसमा लाभान्वित हुन सकियोस् ।

चीन र नेपालबीच सहकार्य मजबुत पार्ने कुरा चलिरहँदा भारतका नीति–निर्मार्ताहरू ठान्छन् कि नेपालबाट चीन भारतलाई लक्षित गर्दै छ । के नेपालमा चीन र भारत प्रतिस्पर्धा गरिरहेका हुन् ?
केही मानिस यसो पनि भनिरहेका छन् । मेरो फरक धारणा छ । नेपालका जनता कुन क्षेत्रको कुन परियोजनामा कुन छिमेकीसँग सहकार्य गर्ने भन्नेबारे पर्याप्त जानकार छन् । मेरो विचारमा पर्यटन, वान बेल्ट वान रोड, पूर्वाधार विकासमा चीन र नेपालले सहकार्य गर्ने हो । नेपालको भारतसँग परम्परागत हिसाबले व्यापार हुँदै आएको छ । दुवै छिमेकीसँग अलग–अलग प्राथमिकतासाथ नेपालले काम गर्ने हो भने कहीँ पनि स्वार्थको द्वन्द्व आउनेवाला छैन । यसको छनोट नेपाली जनताले नै गर्ने हो ।

चीनको विदेश नीतिमा नेपालको स्थान कति हो ? चीनले कति प्राथमिकता दिन्छ नेपाललाई ?
नेपाल चीनको १६ वटा छिमेकी देशमध्ये महत्वपूर्ण छ । हामी हार्दिक, मित्रवत्, आपसी सम्मानमा आधारित र आपसी फाइदाका आधारमा नेपालसँगको सम्बन्धलाई हेर्छौं । देश ठूला–साना हुन सक्छन् । तर, एक–आपसमा सम्मान हुनुपर्छ भन्ने चिनियाँ नीति हो । नेपाललाई हामी उच्च सम्मान गर्छौं । म फेरि भन्छु, राजतन्त्र भएका वेला मात्र होइन, अहिले पनि नेपाल हाम्रो प्राथमिकतामा छ, सम्बन्ध झन् मजबुत छ । हाम्रो दिलमा नेपाललाई ठूलो स्थान छ । चीन र नेपाल अझै नजिक हुन सक्छन् । हामी साझा सीमा सेयर गर्छौं र दिनहुँ हाम्रा मानिस हिमालय पार गरिरहेका छन् । चीन–नेपालबीच दैनिक तीनभन्दा बढी उडान भइरहेको छ । चीनको वान बेल्ट वान रोड रणनीतिमा नेपालको स्थान उच्च छ ।

तर राजनीतिक तहमा यस्तो देखिँदैन, चीनका राष्ट्रपतिको नेपाल भ्रमण नभएको धेरै समय भइसक्यो, यस वर्ष पनि हुने निश्चित छैन ?
चीनबाट नेपालमा उच्चस्तरीय भ्रमण भएको छ । उदाहरणका लागि अघिल्लो महिना चिनियाँ कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य लिउ छिपाओको भ्रमण भयो । उनी चीनका अत्यन्तै प्रभावशाली र शक्तिशाली नेता हुन्, जसले भ्रमण गर्नु महत्वपूर्ण हो । यसैगरी राष्ट्रपति सी जिनपिङ नेपाल आउनुहुन्छ । दुवै देशले यथोचित तयारी गर्नुपर्छ । हाम्रोबाट हेर्दा राजनीतिक संयन्त्रले यसका लागि काम गरिरहेको छ र गर्छ । नेपालतिर हेर्दा स्थिर र दीर्घकालीन राजनीतिक संयन्त्र निर्माण भयो भने पक्कै पनि राष्ट्रपति सीको भ्रमणका लागि परिस्थिति बन्नेछ । हाम्रो राष्ट्रपतिले भ्रमण नगर्ने भन्ने प्रश्नै आउँदैन ।

नेपालमा ठूलो भूकम्पपछि पहिला सञ्चालित सीमानाका सुचारु गर्न र नयाँ नाका खोल्नेबारे द्विपक्षीय कुराकानी भएका छन् । तर, सुरक्षाका कारण चीनले सीमानाका खुला गर्न चाहेको छैन भन्ने यहाँ बुझाइ छ । यसबारे तपाईं के भन्नुहुन्छ ?
मैले काठमाडौं आउनुअघि यसबारे चीन सरकारका सम्बद्ध अधिकारीसँग कुराकानी गरेको छु । यसमा कोही पनि नकारात्मक छैनन् । नेपालभन्दा पहिला भूकम्पबाट हामी पीडित भएका हौँ । हामीले पनि धेरै विदेशी सहायता लिएका छौँ । नेपालमा आएको भूकम्प हाम्रा लागि स्वभावतः चासो हुने नै भयो । हरसम्भव सहयोग गर्‍यौँ पनि । एउटा नाका बन्द हुँदा नेपाली मात्र होइन, हाम्रै जनता पनि पीडित छन् । यसलाई सुचारु गर्न दुवै पक्षबीच छलफल भइरहेको छ र अझै घनीभूत छलफल गर्नुपर्छ भन्ने म ठान्दछु । दुवै देशका जनता र सरकारबीच अन्तत्र्रिmया बढाउँदै लगेर सम्भव भएका अन्य सीमानाका खोल्नुपर्छ । सीमा खुला नगर्ने कुराले चीन र नेपाललाई फाइदा गर्दैन, अर्को पक्षलाई मात्रै फाइदा हुन्छ । चीन सरकार यसमा स्पष्ट छ ।

नेपालको सीमाछेउको चिनियाँ सहर केरुङसम्म रेल ल्याउने तयारी कहाँ पुग्यो ?
रेल पूर्वाधारको आधारभूत मेरुदण्ड हो । हामीलाई तिब्बतमा रेल सञ्चालन गर्न ६० वर्ष लाग्यो । उच्च हिमाली भूभाग, हिउँ परिरहने, भौगोलिक कठिनाइ जस्ता कारणले समय लाग्यो र अन्ततः ल्हासासम्म रेल ल्याइयो । प्रविधिको समेत विस्तार र विकास हुँदा हामीले थप रेल विस्तार गरिरहेका छौँ र नेपालसम्म चिनियाँ रेल आउँछ । यसले नेपाल आउने चिनियाँ पर्यटकको संख्या मात्र होइन, व्यापारसमेत विस्तार हुन्छ । यसमा चीन सरकारको रुचि छ । हामीसँग विकसित प्रविधि पनि छ । यो सम्भव हुन्छ । हामीले कनेक्टिभिटी (सम्पर्क विस्तार) भन्दै आएका छौँ । रेलवे, हाइवेको विस्तार भयो भने यो क्षेत्रका अन्य देश पनि आपसमा जोडिन्छन् । यसले हामी सबैको आर्थिक विकासमा महत्वपूर्ण आधार निर्माण गर्छ । जस्तो, चीन, नेपाल र भारतबीच आर्थिक करिडोर निर्माणले तीनै देशको आर्थिक विकासमा मद्दत गर्छ । त्रिदेशीय आर्थिक करिडोरअन्तर्गत सडक, रेलवे निर्माणले सुरुमा नेपाल र चीन तथा पछि सीमावर्ती भारतीय सहरको ठूलो जनसंख्या लाभान्वित हुन्छन् ।

चीन र नेपालबीच सैन्य अभ्यास हुने चर्चा चलेको छ र भारतबाट यसमा चासो व्यक्त भएको छ । यसको अर्थ के हो ?
यसबारे म धेरै जानकार छैन । तर, चीन र नेपालबीचको सैन्य अभ्यास हुने विषयलाई स्वाभाविक रूपमा लिनुपर्छ । यो आश्चर्यको कुरै होइन । वान बेल्ट वान रोड इनिसिएटिभ्सको यो सुरक्षा अवधारणाका रूपमा पनि आएको हुन सक्छ । ओबिओआरअन्तर्गतका रेलवे, हाइवे सुचारु गर्ने दीर्घकालीन सोचका लागि पनि संयुक्त सैन्य अभ्यास, संयुक्त सुरक्षा संयन्त्र आवश्यक हुन्छ । यो कनेक्टिभिटी सुरक्षाका लागि पनि आवश्यक छ । यति मात्र होइन, चीन, नेपाल र भारतले संयुक्त रूपमा पनि सैन्य अभ्यास गर्न सक्छन् । मानिसमा खुला सोचको आवश्यकता छ । हामी नेपालसँग बलियो सम्बन्ध चाहन्छौँ र नेपालले भारतसँग बलियो सम्बन्ध स्थापित गरोस् भन्ने पनि हामी चाहन्छौँ । नेपालले एउटा छिमेकीसँग मात्रै सम्बन्ध राखोस् भन्ने हिसाबले कसैले हेर्न हुँदैन । दुईवटा छिमेकीसँग नेपालले आफ्नो आवश्यकताअनुसार सम्बन्ध स्थापित गर्ने उसको अधिकार हो । चीन र भारतले नेपालको पोजिसनलाई बुझिदिनुपर्छ । एकअर्कासँग नेपालको बलियो सम्बन्धमा कुनै छिमेकीले ईष्र्या गर्नु जरुरी छैन ।

एउटा विज्ञका रूपमा तपाईंले हेर्दा नेपाल र चीनबीच सम्बन्ध बढ्दै जाँदा भारतलाई अप्ठ्यारो महसुस हुनुको पछाडि के कारण हुन सक्छ ?
म यसबारे अनुमान मात्रै गर्न सक्छु किनभने म भारतीय नीतिबारे धेरै जानकार छैन । पहिलो कारण, भारतले नेपालसँग ऐतिहासिक र अझ नजिकको सम्बन्ध राख्दै आएको हिसाबले उसले आफूसँग बढी सम्बन्ध राखोस् भन्ने सोचेको हुन सक्छ । अर्को, भारत र नेपालमा ठूलो हिन्दू जनसंख्या छ र उनीहरूबीच साझा सांस्कृतिक सम्बन्ध छ । चीनमा हिन्दू धर्मावलम्बी छैनन् । ऐतिहासिक धार्मिक पोजिसन पनि अर्को कारण हो । सायद चीनले गरेको कनेक्टिभिटीको प्रस्तावलाई भारतले राम्रोसँग नबुझेको पनि हुन सक्छ । मलाई लाग्छ, तीनै देश एकै ठाउँमा बसेर यसबारे छलफल गर्नुपर्छ । म विश्वास गर्छु कि भविष्यमा नेपाल तथा चीन–नेपाल सम्बन्धबारे भारतको सोच अझ खुला हुनेछ । जहाँसम्म हाम्रो बुझाइ छ, नेपालले भारतसँग बलियो सम्बन्ध राख्नुपर्छ र नेपालको त्यो प्राथमिकतामा पनि छ । नेपालको उत्तरी छिमेकमा चीन छ भन्ने कुरा भारतले बुझिदिनुपर्छ । भारतका जनता हार्दिक छन्, उदार छन् । भारत पश्चिमा विचारबाट प्रभावित भएको पनि अर्को यथार्थ हामीले बुझ्नुपर्छ । त्यसकारण उनीहरूमा साँघुरो मानसिकता छ, यसबाट उनीहरू बदलिनुपर्छ ।

नेपालमा पनि पश्चिमाहरूको प्रभाव बढेको जस्तो लाग्छ तपाईंलाई ?
हामी नेपालसँग सहकार्य गर्न थालेपछि यहाँका केही मानिस दुःखी हुन्छन् । हाम्रो सम्बन्धका सन्दर्भमा अन्य पक्षको अनावश्यक प्रभाव निस्तेज पार्नुपर्छ । नेपाल, भारत र चीन एकै ठाउँमा आयौँ भने त्यहीँबाट समाधान हुन्छ । यसमा तेस्रो, चौथो पक्ष (पश्चिमा) खुसी हुँदैनन्, तर हामीसँग सहकार्यको विकल्प छैन । हामी तीनै पक्ष जानकार छौँ, सावधान पनि हुनुपर्छ।

त्रिदेशीय आर्थिक साझेदारीका विषयमा भारत सहमत छैन, चीनले भारतसँग यसबारे कुराकानी गरिरहेको छ ?
विज्ञको तहमा विभिन्न ठाउँमा भारतीयसँग कुराकानी भइरहेको छ । भारत चिन्तित हुनुपर्ने जरुरी नै छैन । हामीले सँगसँगै काम गर्नुपर्ने धेरै विषय छन् । साँघुरो घेराबाट भारतले हेर्नु हुँदैन ।-नयाँ पत्रिकाबाट

Follow Us

Facebook

Twitter

© Copyright by NayaBato
सम्पर्क [email protected]
Scroll Up