फर्जी नागरिकता बाँड्ने वामदेव, भारतबाट पैसा लिने केपी’

✍️सुदर्शन बराल

नेपालमा यतिबेला राष्ट्रियताको बहस चरम उत्कर्षमा पुगेको छ । आम साधारणभन्दा साधारण मानिसदेखि देशकै उच्च बौद्धिक व्यक्तित्वसमेत यो बहसमा सक्रियातापूर्वक सहभागी भएका छन् । खासगरी भारतीय शासक वर्गले अप्रत्याशित रुपमा देशमा थोपरेको नाकाबन्दी, संविधान घोषणा हुने बेलामा उसले दिएको घटिया दबाव र सरकार गठन तथा विघटनलगायतका विषयमा उसले प्रदर्शन गर्ने गरेको अस्वाभाविक क्रियाशीलता आदिले पनि नेपाली जनतामा अभूतपूर्वरुपमा राष्ट्रियताको भावना उर्लेर आएको छ ।

यतिसम्म कि विगतमा ‘कम्युनिष्टहरुले जितेमा भारतले नुन तेल बन्द गर्छ र भारतीय रिटायर्ड आर्मीको पेन्सन रोक्का हुन्छ’ भनी आफू भारतको प्यारो भएको खुल्ला प्रचार गर्नेहरुसमेत यतिबेला भारतीय विस्तारवाद विरोधी बनेर देखापरेका छन् । कम्युनिष्ट पार्टीहरुमा ‘भारतलाई विस्तारवाद भन्नुहुँदैन, भारतसँग जोरी खोजेर कहिल्यै अगाडि बढ्न सकिँदैन’ भनी पार्टीमा लबिङ गर्नेहरु समेत कट्टर भारत बिरोधी बनेका छन् ।

यसरी समग्रमा हेर्दा राष्ट्रियताको पक्षमा देखापरेको यो ऐक्यवद्धता उत्साहजनक छ भन्न सकिन्छ । तर, यतिबेला हामी यस आलेखमा राष्ट्रियताको यो वृहद बहसमा राष्ट्रिय एकताको सुत्र र यसको अन्तरवस्तुका बारेमा संक्षिप्त चर्चा गर्न गइरहेका छौं ।

नेतृत्वको इतिहासको समीक्षा

राष्ट्रियताको विषय एक हिसाबले भावनात्मक र संवेदनशील विषय पनि हो । र, यसकारण आम जनताले यसमा आफ्नो तिव्र चासो पनि व्यक्त गर्दछन्, जो नितान्त जायज पनि हो । तर, हामीले चर्चा गर्नर् खोजेको विषयचाहिँ यो हो कि नेपालमा ‘देशको हावापानी र माटो सुहाउँदो व्यवस्था’ भनेर राष्ट्रियताकै विषय उठाएर राजा महेन्द्रले नेपालमा के गरे ?

अहिले पनि नेपालमा राष्ट्रियताको बहसको नेतृत्व गर्ने नेताहरुको इतिहास के हो ? हामीले समीक्षा गर्न जरुरी छ ।

कथित नागरिकता आयोग निर्माण गरेर लाखौं फर्जी नागरिकता भारतीयलाई वितरण गर्ने वामदेवजी हुन् । महाकाली सन्धीबाट नेपालमा वर्षेनी खर्बौं आम्दानी हुने भाषण गर्ने र मदन भण्डारी फाउन्डेशनका नाममा करोडौं वर्षेनी भारतबाट लिएर देशव्यापी कार्यक्रम गर्ने केपी ओलीजी हुन् । यसबारेमा कतै सार्वजनिक रुपमा आत्मालोचना वा गल्ती महसुस गरेको पढ्न वा सुन्न पाइएको छैन । बरु एक टेलिभिजन अन्तर्वार्तामा तपाईंको भारतसँग सम्बन्ध कहिलेबाट बिग्रेको हो भनी प्रश्न गर्दा उनले सही जवाफ दिन सकेनन् ।

त्यस्तै भारतमै रहेका विभिन्न शक्तिपीठको दर्शनका नाममा शक्तिकेन्द्रको चाकरी गरेर आउने पूर्वराजा ज्ञानेन्द्रले देशको बारेमा निकै भावुक सन्देश दिने गरेका छन् । त्यसको अन्तर्यमा पुग्दा उनको विगतको इतिहास बिर्सन सकिन्न ।

त्यसरी नै विगतमा भारतको इशारामा भएको कटवाल प्रकरण, पशुपतिको भट्ट पुजारी प्रकरण र दुई-दुई ठाउँमा पराजित माधव नेपाल प्रधानमन्त्री हुँदासमेत भारतको कुनै भूमिका नदेख्नेहरु अचानक कसरी राष्ट्रियताको पक्षमा उभिने भए ? त्यसैले यी र यस्ता पात्रहरु वास्तवमै विगतदेखि नै लगातार देशका बारेमा चिन्तित र प्रतिवद्ध भएर लागेका हुन् वा वर्तमानको खास घटना वा उद्देश्यबाट प्रेरित भएर राष्ट्रवादी भएका हुन् भन्ने बारेमा समीक्षा जरुरी छ ।

चरम नश्लवादको डकार

पराजित प्रतिकृयावादी वर्ग अग्रगामी वर्गका विरुद्ध १० गुणा बढी घृणा र सय गुणा बढी जोशका साथ आफ्नो गुमेको स्वर्ग फर्काउन संघर्ष गर्छ भन्ने लेनिनको भनाइ अनुसार नै नेपालमा यतिबेला पराजित सामन्ती नश्लवादी अहंकारी वर्ग मैदानमा ज्यान फालेर लागेको छ ।

आफ्नो जाति, भाषा, संस्कृति र मनोविज्ञानमात्र सर्वोत्कृष्ट छ र आफ्नो समुदायमात्र यहाँ शासन गर्न योग्य छ, अन्य समुदाय शासित हुन मात्र जन्मेका हुन् भन्ने फासिवादी हिटलरी अहंकार कतिपय प्रतिगामी शासक वर्गका मानिसहरुको नशा नशामा व्याप्त छ । त्यसैले, गणतन्त्र पश्चात मुलुकमा समानुपातिक, समावेशीका कारणले राज्यका विभिन्न निकायमा उत्पीडितहरु उपस्थित भएको उनीहरुलाई फुटेको आँखालेसमेत हेर्न मन छैन ।

“पोथी बासेको राम्रो हुन्न” भन्ने मानसिकताबाट ग्रस्त यो तप्काले महिलाहरु राष्ट्रपति, सभामुख र प्रधानन्यायाधीशजस्तो उच्च आसनमा पुगेको र अघिपछि साइरन बजाउँदै सेना प्रहरी लिएर हिँडेको हेर्नु पर्दा ज्यूँदै मरेसरह महशुस गरेको छ । हो, यही नश्लवादी डकारका रुपमा अहिले कतै पृथ्वीनारायण शाह त कतै स्वयं महेन्द्र र अझ हिम्मत गरेर ज्ञानेन्द्रलाई शितलनिवासमा स्वागत गर्न तयार हुन्छ ।

अहिले यही एउटा जाति वा समुदाय मात्रै हरेक कुरामा योग्य छ र उ मात्रै शासक हो, अन्यले बलेनीमा बसेर माग्ने अनि कसैले अड्कलेर दिएको मात्र खानु पर्दछ भन्ने नश्लवादी चिन्तन विभिन्न रुप र कोणबाट कथित राष्ट्रवादका रुपमा प्रकट भैरहेको तथ्यलाई विशेष ध्यान दिनु जरुरी छ ।

विविधतामा एकता

विभिन्न विरोधी विचार र दर्शनको सम्मान तथा अस्तित्व स्वीकार नै बहुदलीय राजनैतिक प्रणाली हो । त्यसैगरी देशमा रहेको विविधतायुक्त जाति, भाषा, धर्म, सँस्कृति र मनोविज्ञानको अस्तित्वको स्वीकारोक्ति नै संघीय शासन प्रणाली हो ।

शान्तिपूर्ण सह-अस्तित्व स्वीकार गर्ने र विगतमा भएका दमन उत्पीडनको दर्दनाक इतिहासमा मलम लगाउने उपाय भनेकै केन्द्रीय शासनमा उनीहरुको साझेदारी अनि स्थानीय तहमा स्वशासनको तरिका हो । यसरी विविधतायुक्त देश तथा समाजलाई एकीकरण गरेर मात्रै हामी सिंगो देशलाई एकताबद्ध गर्न सक्छौं ।

इतिहास साक्षी छ, चाहे त्यो नालापानी किल्लामा जाने पानीको मुहान देखाउने कुरा होस् वा पूर्वका पहाडी कन्दराहरुमा अंग्रेज फौजलाई बाटो देखाउने कुरा नै किन नहोस् , ती केन्द्रीय शासनबाट पीडित र असन्तुष्ट नेपालीले नै गरेका थिए । अहिले पनि देशका नागरिकलाई दोस्रो वा तेस्रो दर्जाका नागरिक बनाएर किमार्थ राष्ट्रिय एकता निर्माण गर्न सकिन्न ।

पहाडका जनजातिलाई पश्चिमा वा अमेरिकी डलरमा बिकेको देख्ने, मधेसी र थारुलाई भारतले उचालेको देख्ने, अनि वास्तविक नेपाली अब को रहन्छ ? यति विशाल जनसंख्यालाई असमानता र उत्पीडनमा राखेर कस्तो देश निर्माण हुन सक्दछ ?

कसैले आफू अन्याय र उत्पीडनमा परेँ भनेर गुनासो गर्नेवित्तिकै उसको राष्ट्रियतामा शंका गर्ने तरिकाले कुनै हालतमा नयाँ र समृद्ध नेपाल निर्माण हुन सक्दैन । तसर्थ, अहिले राष्ट्रियताको बहसलाई सार्थक बनाउन पहिले राष्ट्रिय एकताको बहस गरौं र पहिले राष्ट्रिय एकताको निम्ति संघर्ष गरौं । साभार अनलाइन खबरवाट

(लेखक बराल पूर्वसभासद हुन्)

Follow Us

Facebook

Twitter

© Copyright by NayaBato
सम्पर्क [email protected]
Scroll Up