मधेशका केही व्यक्तिहरु संविधान कार्यान्वयन हुन नदिने र चुनाव पनि गर्न नदिने षड्यन्त्रमा लागेका छन्- लालबाबु पण्डित

काठमाडौं, ३ माघ। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता तथा पूर्वमन्त्री लालबाबु पण्डितले प्रचण्ड नेतृत्वको वर्तमान सरकार चुनावबाट डराएर भाग्न खोजेको आरोप लगाएका छन्। उनले प्रश्न गरे,‘यो सरकार चुनावबाट किन भाग्न खोज्दैछ?’

सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले स्थानीय तहको निर्वाचन नै पहिले गर्नुपर्ने जिकिर गरे। उनले भने,‘पहिले स्थानीय तहकै निर्वाचन गर्नुपर्छ, अनि दोस्रो चरणमा संघीय प्रदेश र प्रादेशिक सभाको चुनाव गराउनुपर्छ, वा यी दुई तहको चुनाव एकैपटक पनि गर्न सकिन्छ।’

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले संविधानप्रति अपनत्व हो भने सरकारले हिम्मतका साथ चुनावको लागि लाग्नुपर्ने सुझाव दिए। पण्डितले भने,‘तर चुनावको लगि सत्ताधारी दलको ईच्छा नै छैन, दिन बताउने बाहेक अरु काम भएकै छैन्।’

उनले आफ्नो पार्टी चुनावको पक्षमा दृढ रहेको बताउँदै त्यसको लागि चुनावको मिति सरकारले घोषणा गर्नुपर्ने बताए। पण्डितले भने,‘ऐन तथा कानूनहरु फाष्ट ट्रयाकबाट पारित गराउने हो भनेपनि एमालेले साथ दिन्छ।’

उनले मधेशी मोर्चाले अहिले हठको राजनीति गरिरहेको समेत आरोप लगाए। उनले थपे,‘मोर्चालेपनि हठको राजनीति छोड्नुपर्यो नि? तर उहाँहरुले तराई मधेश र पहाडमा दुई राष्ट्रियताको कुरा गर्नुभएको छ, यो हठ हो।’

त्यस्तै उनले सरकारी कामकाजको भाषा हिन्दी बनाउने कसैको सपनापनि पूरा नहुने चेतावनी दिए। यद्धपी उनले नागरिकताको सवालमा बुहारी भित्र्याउनेहरुको हकमा एमाले लचकता हुने विश्वास दिलाए। उनले तराईमधेशका जनताहरुले शान्ति, स्थिरता र आर्थिक समृद्धि चाहेको भएपनि मधेशका केही व्यक्तिहरुले त्यस्तो नचाहेको आरोप लगाए।

उनले भने,‘मधेशका केही व्यक्तिहरु संविधान कार्यान्वयन हुन नदिने र चुनाव पनि गर्न नदिने षड्यन्त्रमा लागेका छन्, यो भनेको कता कता मलाई संघीयता नै कमजोर पार्ने त खेल भैरहेको छैन भन्ने आशंका लागि रहेको छ?’

उनले निर्धारित मितिभित्रै तीन वटै निकायको चुनाव नभए संवैधानिक तथा राजनैतिक संकट आउनेतर्फ सचेत गराउँदै भने,‘एमाले पनि केही विषयमा लचिलो बन्न तयार छ, हामी सहमतिबाटै अघि बढ्न चाहन्छौं।’
– रिपोर्टसनेपालबाट

भिडियो हेर्नुहोस:

Follow Us

Facebook

Twitter

© Copyright by NayaBato
सम्पर्क [email protected]
Scroll Up