देशको लागि अहित हुनेगरी र टुक्र्याउने गरेर संविधान संशोधन गर्नु हुँदैन : सुजाता कोइराला


काठमाडौं, २ माघ । नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले स्थानीयस्तरमा कांग्रेस अहिले पनि बलियो रहेको दाबी गरेकी छिन् । उनले जुनसुकै निर्वाचन भए पनि कांग्रेस अगाडि आउने बताइन् ।

नेपाली रेडियो नेटवर्कमा आइतबार बिहान पत्रकार ऋषि धमलासँग कुरागर्दै कांग्रेस नेतृ कोइरालाले भनिन्, ‘संविधान कार्यान्वयन गर्नुपर्छ । प्रमुख दलहरूबीच सहमति र सहकार्यको राजनीति अनिर्वाय छ । प्रमुख दलहरू मिलेपछि मात्रै राष्ट्रिय मुद्दाहरू मिलाउन सकिन्छ ।’ उनले चुनावहरू तोकिएको समयभित्र गर्नका लागि दबाब सृजना गर्नुपर्ने बताएकी छन् ।

संविधान संशोधनका विषयमा सोधिएको जिज्ञासामा कांग्रेस नेतृ कोइरालाले मुलुकको अहित नगरेर संविधान संशोधन गर्नुपर्ने बताइन् ।

‘कांग्रेस कार्यकर्ताको जगमा अडिएको छ’, उनले भनिन्, ‘स्थानीयस्तरमा विरोध हुँन्छ भने शीर्ष नेतृत्वले सोँच्नु पर्छ ।’

‘देशलाई टुक्र्याउने गरेर संविधान संशोधन गर्नु हुँदैन । संशोधनले देशलाई क्षति पुर्‍याउनु हुँदैन’, उनले भनिन्, ‘पाँच नम्बर प्रदेश टुक्र्याउने विषयमा धेरै जनताले विरोध गरेका छन् । मैले धेरै अध्ययन त गरेको छैन । तर विरोध धेरै आएको छ । यसलाई दलहरूलाई गम्भीर भएर सोँच्नु पर्छ ।’

आफू संविधान संशोधनको विपक्षमा नरहे पनि स्थानीय जनताको भावनालाई कांग्रेसले ध्यान दिनुपर्ने नेतृ कोइरालाको भनाइ थियो । ‘कांग्रेस कार्यकर्ताको जगमा अडिएको छ’, उनले भनिन्, ‘स्थानीयस्तरमा विरोध हुँन्छ भने शीर्ष नेतृत्वले सोँच्नु पर्छ ।’

स्तनक्यान्सरको उपचारपछि स्वास्थ्य लाभ लिइरहेकी कांग्रेस नेतृ कोइरालाले आफू विस्तारै निको हुँदै आएको बताइन् । ‘क्यान्सरको उपचार गराइ रहेकी छु’, उनले भनिन्, ‘धेरै सुधार भएको छ । मेरोबारेमा धेरै चिन्ता गर्नुपर्दैन ।’ –दैनिकनेपालबाट 

ऋषि धमला संगको संवाद:

Follow Us

Facebook

Twitter

© Copyright by NayaBato
सम्पर्क [email protected]
Scroll Up