कसरी विकसित भयो अहिलेको कोरिया ?

काठमाडौ, श्रावण १९ – सन् १९६० अगाडिसम्म दक्षिण कोरियाको अवस्था अति विपन्न अफ्रिकी मुलुकको जस्तो थियो । सत्तरीको दशकसम्म नेपालबाट खाद्यान्नलगायतका सहयोग प्राप्त गरेको मुलुक आज संसारको १३ औं ठूलो अर्थतन्त्र भएको मुलुक कसरी बन्यो होला ? जम्माजम्मी ३ दशकमा यो चमत्कारपूर्ण आर्थिक विकास कसरी सम्भव भयो ? असारमा दक्षिण कोरियाको अध्ययन भ्रमणमा पुगेका हामी सबैका लागि यो चासो र कौतूहलको विषय थियो ।

सन् १९४५ मा जापानी साम्राज्यको चंगुलबाट स्वतन्त्र भएपछि कोरिया उत्तर र दक्षिण कोरियामा विभाजित भयो । भूगोल र मान्छेहरूलाई सीमा छुट्यायो । तर, अहिले पनि देख्दा कुन उत्तर कोरियन कुन दक्षिण कोरियन छुट्याउन सकिँदैन । विभाजित भएपछि उत्तरलाई सोभियत रुस र दक्षिण कोरियालाई अमेरिकाले सहयोग गरे । जापानसँगको लडाइँपछि उत्तर र दक्षिण को रियाको आफ्नै लडाइँमा पनि लाखौंको ज्यान गएको छ । यी दुई देशबीच सीमा बन्द छ । कतिका श्रीमान् श्रीमती, दाजुभाइ, दिदी बहिनी वर्षौंदेखि सीमाको वारिपारि छन् ।

मेहनती कोरियन राजनीतिक रूपमा यस्तो हाल भए पनि आज दक्षिण कोरिया संसारमै सबैभन्दा धेरै इलेक्ट्रोनिक्स र औद्योगिक सामान निर्यात गर्ने मुलुकमध्ये पर्छ । दक्षिण कोरियाको आपmनै प्राकृतिक स्रोत छैन, कच्चा पदार्थ छैन र खनिज छैन । उद्योगपति गुन होले भने ‘तीस वर्षअघिसम्म हामीले साउदी अरब र जर्मनीका उद्योगमा श्रमिकका रूपमा काम गरेका हौं । हामीले त्यहाँबाट सीप र पैसा लिएर आयौं र यहीं लगानी गर्‍यौं,’ उनले अगाडि भने, ‘हामी चाहन्छौं कोरिया आएका नेपालीहरूले पनि त्यसै गरुन् ।’

दक्षिण कोरियामा पार्क चुङ हीलाई आर्थिक क्रान्तिको पिता मानिदो रहेछ । सन् १९६१ पछि उत्तर कोरियाको अर्थतन्त्रलाई जित्ने संकल्प गरेर वैदेशिक रोजगारीबाट आएको सबै पैसालाई ठूला ठूला राजमार्ग र औद्योगिक विकासमा उनले लगाए । निर्यातमुखी औद्योगिक विकासबाट मात्र कोरियाको विकास सम्भव छ भन्ने उनको मान्यताका कारण आज इलेक्ट्रोनिक्स सामान मात्र हैन अन्य औद्योगिक उत्पादन पनि निर्यात गरेर कोरिया समृद्ध बन्न सकेको छ । अहिले कोरियाले चीन र जापानजस्ता ठूलो अर्थतन्त्रलाई पनि चुनौती दिएको छ ।

आर्थिक विकासका लागि लोकतन्त्र आवश्यक छ कि छैन ? संसारका विकसित मुलुकलाई हेर्ने हो भने विपन्नता देखिन्छ । चीन, सिंगापुरमा राजनीतिक स्वतन्त्रता नभए पनि आर्थिक विकास भयो तर भारत, फिलिपिन्सजस्ता देशमा राजनीतिक स्वतन्त्रता भएर पनि लामो समयसम्म आर्थिक विकास भएन । बजारका हिसाबले चीन जति भारत खुला छैन । राजनीतिक हिसाबले भारत जति चीन खुला छैन । यसले राजनीतिक स्वतन्त्रताले मात्र आर्थिक विकास नहुने देखाउँछ । जापान, कोरिया र अमेरिकाले लोकतन्त्र र विकासलाई धेरै हदमा सँगै लगेको मानिन्छ तर दक्षिण कोरियामा पूर्ण लोकतन्त्र छ भनेर मान्न सकिन्न ।

जुन लोकतन्त्रमा राजनीतिक दलहरू अत्यधिक मात्रामा शक्तिशाली छन् तिनीहरूले मुलुकको सुशासन बिगार्ने गर्दछन् । कानुन हातमा लिएर शक्ति प्रदर्शन गर्दा तत्काल तिनीहरू बलिया मानिएलान् तर कालान्तरमा तिनीहरू कमजोर हुन्छन् र मुलुकलाई पनी कमजोर बनाउँछन् । त्यसकारण राजनीतिक दलहरू सुशासन र दक्षिणका सहयोगी हुनुपर्छ । जब दलका बलले दक्षिण भत्काइन्छ त्यसपछि सबै चिज लथालिंग हुन्छ । दक्षिण कोरियाली कामदारहरू संसारमा सबभन्दा बढी काम गर्नेमा पर्छन् । उनीहरू प्राय: हप्ताको ४४६ घन्टा काम गर्छन् । काम नसकिएसम्म समय नहेरी काम गर्छन् । दक्षिण कोरियाको आर्थिक विकास गराउने नेताहरूप्रति कतिले गर्व गर्छन् भने कतिले लज्जा ! दक्षिण कोरिया बनेको ६ दशकभन्दा लामो समयमा कहिले लोकतन्त्र कहिले सैनिक त कहिले तानाशाही शासन थियो, १९८८ पछि मात्र लोकतन्त्रको संस्थागत विकास भएको हो ।

जनतालाई पहिला विकास दिने कि समानता भन्ने बहस पनि छ । बेरोजगारी, असमानता र विकास सँगै हिँड्छन् र अत्यधिक विकास भयो भने असमातना र बेरोजगारी घट्दै जान्छ तर समाप्त हुँदैन भन्ने कोरियालीहरूको विश्वास रहेछ । सत्तरीको दशकमा २३ सय अमेरिकन डलर प्रतिव्यक्ति आम्दानी भएको कोरिया सजिलै २२ हजार ७ सयमा पुगेको होइन । तर आज विकासको परिभाषा बदलिएको छ । आद्योगिक विकास र आर्थिक वृद्धिमात्र विकास होइन, उन्नत मानव जीवनका लागि आवश्यक शिक्षा, स्वास्थ, रोजगारको वितरणमा असमानता कति छ भन्ने कुराले पनि विकासको मापनमा आधारको काम गर्छन् ।

धनी हुने कि खुसी ?

धनी हुनु खुसी हुनु फरक कुरा हुन् । नर्वे र स्विजरल्यान्डलगायतका स्केंडेभियन राष्ट्रहरूमा ९० प्रतिशत मान्छे खुसी छन्, अमेरिकामा ७०-७५ प्रतिशत । तर, दक्षिण कोरियामा भने ३६ प्रतिशतमात्र खुसी भएको सर्वेक्षणले बताएका छन् । प्रत्येक दिन दक्षिण कोरियामा ३५ जनाले आत्महत्या गर्छन् । यहाँका मानिसले दिनरात नभनी काम गर्छन् । यसैले आर्थिक वृद्धिसँगै जनताको खुसी बढाउने चुनौती अहिले कोरियासामु छ । तर, उनीहरू हामी नेपालीजस्तो कामै नगरी खुसी हुन खोज्दैनन्, काममा रमाउने, आफूले रोजेको कामबाट मनोरञ्जन लिने र सफलताबाट खुसी हुनुपर्छ भन्ने उनीहरूको भनाइ छ । जबसम्म काम गर्नुलाई दु:ख ठानिन्छ तबसम्म न जनता खुसी हुन्छन् न मुलुक । आवश्यक मेहनत र प्रयत्नबिना राम्रो परिणामको अपेक्षा पूरा हुन सक्दैन । हाम्रो संस्कृति, इतिहास, शिक्षा, राजनीति कसैले पनी उद्यमशीलता सिकाएनन । गफ गर्न, भाषण गर्न हद भए जागिर खान सिकायो तर आफैं उद्यम गर्ने र अरूलाई रोजगारी दिने कुराको विकास हुन सकेन । यति धेरै सम्भावना र स्रोत हँदा हुँदै पनि नेपाल पछाडि पर्नुको कारण पनि यही हो जस्तो लाग्छ कोरियालाई हेरेपछि ।

भ्रष्टाचार जहाँ पनि दक्षिण कोरियाका पूर्व राष्ट्रपति चुन दु हान र रो ते हुले भ्रष्टाचारको अभियोगमा जेलको हावा खाएका थिए । अर्का पूर्वराष्ट्रपति नो म्यु छयानलाई पनि उनकी पत्नीले करिब एक लाख डलर पर्ने उपहार लिएबापत भ्रष्टाचारको अभियोग लाग्यो । करिब दस घन्टासम्म उनलाई केरकार गरियो, जसलाई सहन नसकेर उनले आत्महत्या गरे । त्यहाँका मानवअधिकारवादी कार्यकर्ता लीका अनुसार दक्षिण कोरियाका अहिलेसम्मका सबै राष्ट्रपतिलाई कि त आफैंलाई कि परिवारका सदस्यलाई भ्रष्टाचारको अभियोग लागेको छ । ‘हाम्रोमा भ्रष्टाचार पनि छ र कारबाही पनि हुन्छ, यसैले विकास पनि भएको छ,’ लीले भने ।

हामीले भ्रष्टाचार र विकास कसरी सँगै जान सक्छ भनेर प्रश्न गर्‍यौं । उनले त्यहाँको दुईवर्षे कार्यकाल हुने शक्तिशाली भ्रष्टाचार छानबिन निकायलाई यसको श्रेय दिए । ‘यसले राष्ट्रपति कार्यालयको पनि तत्कालै छानबिन गर्न सक्छ,’ उनले भने । हामी पूर्व राष्ट्रपति नो म्यु छयानको संग्रहालय हेर्न किमे पुग्यौं । उनी गरिबका छोरा रहेछन् । वकिल हुँदै न्यायाधीश बनेका । उनी न्यायाधीश हुँदा सैनिक सरकार थियो । उनले सैनिक सरकारको अधीनमा निष्पक्ष न्याय दिन नसकिने भन्दै राजीनामा गरेर मजदुर आन्दोलनको नेतृत्व गरेका थिए । चुनाव लडेर सांसद भए । तर, संसद्को कारबाहीमा पनि उनको चित्त बुझेन र संसद्लाई जुत्ता हिर्काएर राजीनामा दिई बाहिरिएर फेरि आन्दोलनमा लागेका थिए । पछि राष्ट्रपतिमा विजयी भएका थिए । २००३ देखि २००८ सम्म राष्ट्रपति रहेका उनको कार्यकालमा दक्षिण कोरियाले आधुनिकता र अर्थतन्त्रको विकासमा नयाँ उचाइ हासिल गरेको थियो । उनकै प्रयासमा वान कि मुन संयुक्त राष्ट्रसंघको महासचिव बन्न सफल भएका थिए । उनको संघर्षशील छविलाई कोरियाली जनताले सम्झिँदा रहेछन् । श्रीमतीले महँगो उपहार लिएको आरोप लाग्दैमा आत्महत्या गरेको कुरो मेरो दिमागमा नाचिरह्यो । मनमा प्रश्न उब्जियो- वास्तवमा स्वाभिमानी मानिसलाई भ्रष्टाचारको आरोप लाग्दा कति धेरै मन दुख्दो रहेछ !
फरक शिक्षा उच्च शिक्षाका लागि कम्तीमा ७ वर्ष लाग्छ तर सीपमूलक शिक्षा दुई वर्षमा पढाउन सकिन्छ । आधारभूत पढाइ सकिएपछि व्यावसायिक र सीपमूलक शिक्षा दिने हो भने व्यक्ति रोजगार हुन सजिलो हुनुका साथै औद्योगिक क्षेत्रले दक्ष जनशक्ति पनि पाउँछ । यसो गर्दा राज्यको लगानी पनि कम हुने र धेरै समय पनि खेर नजाने ! दक्षिण कोरियामा अधिकांश विद्यार्थीले यसरी सीपमूलक शिक्षा लिँदा रैछन् । यहाँ निजी क्षेत्रले दिने शिक्षा महँगो छ । तर, हाम्रोमा जस्तो विदेश जाने विद्यार्थी उनीहरूले तयार गर्दैनन् । दक्ष जनशक्ति आपmनै देशलाई भन्ने भावना रैछ ।

कृषि, उच्च शिक्षा र अनुसन्धानमा अमेरिकाभन्दा बढी लगानी गरिएको छ । जमिनको चक्लाबन्दी गरी कृषि सहकारी निर्माण, सोमोलोंमो कार्यक्रमबाट ग्रामीण विकास गरिएको छ, जुन हाम्रो ‘आफ्नो गाउँ आफैं बनाउ’को उच्चरूप जस्तो रैछ । सार्वजनिक यातायात र मुलुकभरि रेल तथा हवाई सञ्जाल बनाइएको छ ।

हामीले १६ वटा विकासका मापदण्ड बनाएर छलफल गर्दा दसवटा विषयमा दक्षिण कोरिया अमेरिका र जापानभन्दा अगाडि देखियो । औद्योगिक लगानीका लागि सम्पूर्ण पूर्वाधार राज्यले खडा गर्ने, जमिन दिने रहेछ । हामी आफ्नो पैसा खर्च गर्दा धेरैपटक सोच्छौं तर सरकारी पैसा खर्च गर्दा लापरबाह हुन्छौं । तर, कोरियामा सरकारी बजेट बनाउँदा र खर्च गर्दा निकै छलफल हुँदो रहेछ । १९८८ मा आयोजना भएको सिउल ओलम्पिक र शासनमा लोकतान्त्रिक पद्धति स्थापनापछि कोरियनहरू आर्थिक विकासमा कहिल्यै पछि परेनन् ।

राज्यका संरचनाहरूलाई जवाफदेही र लोकतान्त्रिक बनाएर आर्थिक विकासबाट मात्र लोकतन्त्र बलियो हुन्छ भन्ने मान्यताले आज दक्षिण कोरियालाई विकासको अग्रपंक्तिमा उभ्याएको रहेछ । दल र नेता बदलिरहन्छन् तर संरचना बलियो बनाउनुपर्छ भन्ने मान्यताले दक्षिण कोरियाले आर्थिक विकास र समृद्धि हासिल गरेको सजिलै अनुभव गर्न सकिन्छ ।

Follow Us

Facebook

Twitter

© Copyright by NayaBato
सम्पर्क [email protected]
Scroll Up