टेम्पु चालक चन्द्रमायाको सपना – छोरी पढाउनु छ हजुर

चन्द्रमायाले गाँस र बासका लागि मात्रै बिनातलब गलैंचा कारखानामा काम गरिन्, धर्म परिवर्तन पनि गरिन्, बिहे गरिन्, छोरी जन्माइन्, अन्ततः आफ्नो परिचय बनाइन्—टेम्पु चालक

फातिमा बानु
‘टेम्पु चलाउने महिलाजति सबै बम्बईमा बेचिएर फर्किएका हुन् । श्रीमानले छोडर हिँडेका, बिग्रेका हुन्— यस्तै गाइँगुइँ सुन्छु र दुःख लाग्छ,’ यसो भन्दै गर्दा चन्द्रमायाको मुहार अलिअलि अँधेरियो ।

काम गरेर खानेहरूलाई किन त्यसो भन्छ यो सहर ? उनलाई नरमाइलो लाग्छ । ‘बेचिएर आएका महिला पनि होलान् । के उनीहरूले काम गरेर खान पाउनुपर्दैन ? मानिसहरूलाई कति नानाभाँती कुरा गर्ने फुर्सद भएको होला ?’ चन्द्रमाया आक्रोश व्यक्त गर्छिन् ।चन्द्रमाया तामाङ, उज्यालो भविष्य खोज्न सहर आएकी हुन्, ०५८ सालतिर, हेटौंडाको लामटारदेखि । जतिबेला उनी जवान थिइन्, अहिले उनको उमेर ढल्कँदो छ, ४० मा हिँड्दै छिन् ।

योबीचमा चन्द्रमायाले गाँस र बासका लागि मात्रै बिनातलब गलैंचा कारखानामा काम गरिन्, धर्म परिवर्तन पनि गरिन्, बिहे गरिन्, छोरी जन्माइन्, अन्ततः आफ्नो परिचय बनाइन्— टेम्पु चालक ।

‘टेम्पु चलाएरै छोरीलाई पढाउने धोको छ,’ चन्द्रमाया भन्छिन्, ‘हाम्रो गाउँमा छोरीलाई स्कुल पठाउने चलन थिएन, पठाइहाले पनि बाबुआमाले कापी–कलम किन्ने खर्च दिन सक्दैनथे, गाउँमा कसैका छोरी पनि स्कुल जाँदैनथे । मैले एक कक्षा पनि पढ्न पाइनँ । छोरीले पढोस् भन्ने चाहना छ ।’

चन्द्रमायाको परिवारलाई साँझ–बिहानको छाक टार्न धौ–धौ हुन्थ्यो । पढ्ने उमेरमा उनले घाँस काट्न सिकिन्, दाउराको भारी बोकिन् । अनि, बाख्राका गोठाला लागेर बित्यो, उनको बाल्यकाल । गाउँघरमा दाजुभाइ स्कुल गएको देख्दा उनलाई पनि पढ्न जान रहर लाग्थ्यो । तर, कहिल्यै मेटिएन त्यो रहर ।

उनलाई आफ्नो नाम मात्रै भए पनि लेख्न सिक्ने रहर थियो, प्रौढ शिक्षा पढ्न गइन् । ‘दिनभरि घरको काम गरेर साँझमा प्रौढ शिक्षा पढ्न जान्थे, बुवाले त्यति राम्रो मान्नुहुन्नथ्यो । बुवालाई दोष दिन चाहन्नँ, गरिब र अशिक्षित भएपछि त्यस्तै हो,’ चन्द्रमाया भन्छिन्, ‘नाम लेख्नसम्म जान्ने भएपछि प्रौढ शिक्षा पढ्न छाडें ।’

दिनानुदिन घरको आर्थिक अवस्था खस्कँदो थियो । उनका बुवाआमाले अर्काको मेलापात गर्थे, घरको उब्जनीले खान पुग्दैनथ्यो । चन्द्रमाया जेठी छोरी, बहिनीहरू सानै थिए । उनले बुवाआमाको दुःख हेर्न सक्दिनथिन् ।

गाउँमा उनले थाहा पाउँथिन्, पैसा कमाउन भनेर मान्छेहरू काठमाडौं हिँड्थे, कोही साउदी कतार । उनलाई पनि सहर छिरेर पैसा कमाउने रहर लाग्न थाल्यो ।

गलैँचा कारखानामा दिनहुँ आठ घन्टा काम गर्थें । काम गरेबापत कारखानामै खान–बस्न पाउँथे । तर तलब पाउँदिनथें । तलब माग्दा भन्थे— खान पाएकी छौ, बस्न पाएकी छौ, केको तलब ?’

बिनातलबको काम

खल्तीमा एक हजार रुपैयाँ र टाउकामा आमाको आशीर्वाद बोकेर चन्द्रमाया काठमाडौं आइन् ।‘एकजना साइनोले मामा पर्ने हुनुहुन्थ्यो, उहाँले गलैँचा कारखानामा काम लगाइदिनुभयो,’ चन्द्रमाया भन्छिन्, ‘दिनहुँ आठ घन्टा काम गर्थें । काम गरेबापत कारखानामै खान–बस्न पाउँथे । तर तलब पाउँदिनथें । तलब माग्दा भन्थे— खान पाएकी छौ, बस्न पाएकी छौ, केको तलब ?’

उनले सादा गलैंचा राम्रोसँग बुन्न सक्ने भइन् । तर, एक रुपैयाँ तलब नपाउने भएपछि नौ महिना काम गरेर गलैंचा बुन्ने काम छाडिन् । अर्को काम खोज्न काठमाडौंका गल्ली–गल्ली भौँतारिइन् । निराश भइन् ।

गलैंचा बुन्ने काम गर्दा उनले हल्ला सुनेकी थिइन्— धर्म परिवर्तन गरेर क्रिस्चियन बने काम पाइन्छ, खाने बस्ने व्यवस्था पनि हुन्छ । उनी भन्छिन्, ‘अरु विकल्प थिएन, हिन्दूधर्म परिवर्तन गरेर क्रिस्चियन बन्नेबाहेक ।’ उनी क्रिस्चियन बनिन्, तत्कालको आधा समस्या समाधान भयो । भन्छिन्, ‘कमसेकम पेट भर्न र टाउको लुकाउनका लागि चिन्ता गर्नुपरेन ।’

क्रिस्चियनहरूले उनलाई सिलाई सिक्ने तालिममा लगाइदिए । उनी खुसी भइन्, अब त पैसा कमाएर घर पठाउन पाइन्छ भनेर । सिलाई तालिम पनि सोचेजस्तो सहज भएन । उनलाई सामान्य हिसाब पनि आउँदैनथ्यो । हिसाब गरेर कपडा काट्ने सिलाउने उनको बसको कुरा भएन । ६ महिना अल्झेपछि चन्द्रमायाले सिलाइ सिक्ने काम पनि छाडिन् ।

विवाह

यसैबीच उनको विवाह भयो, चर्चमा प्रार्थना गर्न आइरहनेसँग । चर्चमा आउने–जाने क्रममा उनीहरूको भेट भयो, दुवै एक–अर्काको प्रेममा परे । यो थाहा पाएपछि चर्चका फादरले उनीहरूकोे विवाह गरिदिए ।

चन्द्रमायाका श्रीमान्को घर झापाको भद्रपुर हो । निरक्षर, गरिब परिवारका चन्द्रमायाका श्रीमानले पनि सानैमा आमा गुमाएका रहेछन् । चन्द्रमाया भन्छिन्, ‘बुवाले दोस्रो बिहे गरेपछि घरमा सौतलो व्यवहार खेप्नुपरेछ, त्यसैले उहाँ पनि काम गरेर खान काठमाडौं आउनुभएको रहेछ ।’

चन्द्रमायाका श्रीमान्ले साइकल मर्मतको काम गर्थे । खर्च चलाउन मुस्किलै थियो । बजारमा तरकारी किन्न जाँदा चन्द्रमायाले देख्थिन्, महिलाले टेम्पु कुदाएको । उनलाई पनि टेम्पु कुदाउने रहर लाग्यो । साथीहरूसँग बुझिन्, ‘टेम्पु सिक्न १५ हजार रुपैयाँ लाग्ने रहेछ ।’

श्रीमानले साइकल मर्मतबाट कमाएको पैसा उनले खुत्रुकेमा हाल्थिन् । एक दिन खुत्रुकै फुटाइन्, सात हजार जम्मा भएको रहेछ । त्यसमै ऋणधन गरेर उनले टेम्पु चलाउन सिकिन्, महिना दिन लगाएर, यो त्यस्तै ०६९ सालतिरको कुरा हो ।
पहिलो दिन चक्रपथमा टेम्पु कुदाउँदा चन्द्रमायालाई निकै डर र खुसी दुवै लागेको थियो । टेम्पु चलाउन सकेको खुसी त छँदै थियो, तर भीडभाडमा पहिलोपटक टेम्पु चलाउँदा डर लाग्नु स्वाभाविकै थियो ।

टेम्पु चलाउन सकेको खुसी त छँदै थियो, तर भीडभाडमा पहिलोपटक टेम्पु चलाउँदा डर लाग्नु स्वाभाविकै थियो । फेरि पेसेन्जरहरूले हजार–हजारका नोट दिन्थे, उनलाई त्यति हिसाब नआउने । तर उनी धैर्यले काम गर्न गर्थिन् । भन्छिन्, ‘नहडबडाइ पैसा फिर्ता गर्न र भीडभाडमा ढुक्कले टेम्पु चलाउन सिक्न मलार्ई एक महिनाजति लाग्यो ।’
सुरुमा दैनिक तीन सय रुपैयाँ टेम्पु साहुलाई बुझाउनुपथ्र्यो । उनी भन्छिन्, ‘कहिले त्यति पनि हुँदैनथ्यो । कहिले त एक राउन्ड लगाउँदा एकजना मात्रै पेसेन्जर चढ्थे ।’

अहिले उनी दैनिक १२ घन्टा टेम्पु चलाउँछिन् । दैनिक एक हजार जस्तो आम्दानी गर्छिन् । उनका श्रीमान् अहिले बिदेसिएका छन् । कोठा भाडा तिर्ने, घरखर्च जुटाउने र छोरीलाई पढाउने जिम्मेवारी चन्द्रमायाकै काँधमा छ । उनकी छोरी आठ कक्षामा पढ्छिन् । ‘छोरीलाई अंगे्रजी स्कुलमा हालेकी छु । मासिक १५ सय फिस लाग्छ,’ उनी भन्छिन्, ‘आफूले त पढ्न पाइनँ, छोरीलाई पढाउने धोको छ ।’

भ्यान चलाउने धोको

दिनहुँजसो सडकमा ठूला सवारीका चालकले पेल्ने, हेप्ने, जिस्काउने गर्छन् । ‘सडक सबैको हो नि, तर ठूला गाडी चलाउनेले हेप्छन्, पेल्छन्,’ चन्द्रमाया भन्छिन्, ‘यो हेपेको देखेर मैले पनि सामान ओसार्ने पिकअक भ्यान चलाउन सिक्दै छु ।’

Follow Us

Facebook

Twitter

© Copyright by NayaBato
सम्पर्क [email protected]
Scroll Up