बगरको उत्पादन, राजमार्गको व्यापार, लोभलाग्दो कमाई

–शेरबहादुर सिंह

भीमदत्तनगर, ४ जेठ – कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ वनहरा मुक्त कमैया शिविरका विमल रानाको दैनिकी अचेल पूर्व–पश्चिम राजमार्गको वनहरा पुल नजिकै खरभुजा र काँक्रा बिक्रीमै बित्छ ।

एसइई परीक्षा दिएर केही समय फुर्सदिला बनेका १६ वर्षीय राना वनहरा नदीको बगरमा उत्पादन गरिएको तरकारी बिक्री वितरण गर्दै आउनुभएको छ ।

बुबा र दाइले कडा परिश्रम गरी बगरमा फलाएको खरभुजा, काँक्रा र लौका राजमार्ग छेउमा राखेर बिक्री गरिरहेको रानाले दैनिक तीन क्विन्टल तरकारी बिक्री हुने गरेको बताउनुभयो । “दुई दिन अघिसम्म दैनिक रु पाँच हजारसम्मको बिक्री भयो,” उहाँले भन्नुभयो, “अहिले खपत अलि कम छ ।”

राजमार्गमा यात्रा गर्ने नागरिकले बस, ट्रक, मोटरसाइकल र साइकल रोकेर खरभुजा र काँक्रा खरिद गर्ने गरेका छन् । उनीहरु बिक्रीका लागि फड् राखेर बस्दैआएका छन् । उहाँले भन्नुभयो, “यहाँको कमाइले घर खर्च र पढाइ खर्च चलेको छ ।” दशकौँदेखि किसानले बगरखेती गर्दै आएका छन् ।

यस्तै, वनहरा शिविरका बिरा राना अचेल बगरमा लगाएको नगदेबाली बिक्रीमै व्यस्त हुनुहुन्छ । छोराछोरीसमेत बिक्रीमा सघाइरहेको बताउँदै उहाँले गत चैत महिनायता रु ५० हजार आम्दानी भएको बताउनुभयो । “अहिले बिक्री अलिकति कम छ,” रानाले भन्नुभयो, “बगरमा रु १५ हजार जति लगानी गरेको हुँ ।”

कञ्चनपुरको बेदकोटस्थित पूर्व–पश्चिम राजमार्गमा मूला र खरबुजा बेच्न ग्राहकको प्रतिक्षा गर्दै स्थानीयवासी । तस्बिर ः शेरबहादुर सिंह, भीमदत्तनगर, रासस

राजमार्ग छेउमै फड् राखेर व्यापार गर्दै आउनुभएका राना अन्य मौसममा भने डकर्मीको काममा व्यस्त हुने गरेका छन् । दैनिक रु दुई हजारभन्दा बढीको बिक्री हुने गरेको र बगरको कमाइले बालबालिकाको लालनपालनदेखि घरको नून तेलसम्मको खर्च धानेको रानाको भनाइ छ ।

बगर खेतीका लागि जिल्ला कृषि विकास, रेडक्रस र नगरपालिकाबाट पनि सहयोग पाएको रानाले बताउनुभयो । “कृष्णपुर नगरपालिकाले यहाँका बगरखेती गर्ने किसानलाई सगोलमा रु एक लाखबराबरको मलखाद दिएको थियो ।” रानाले भन्नुभयो, “कृषि र रेडक्रसले बीउबिजनको सहयोग गरेका थिए ।”

आफू राजमार्ग छेउमा व्यापारका लागि आउनुअघि तरकारी गाउँ गाउँ पुगेर बिक्री गर्ने गरेको रानाले बताउनुभयो । “उत्पादित वस्तुको खपतका लागि बजारको समस्या छैन,” उहाँले भन्नुभयो, “यहाँको तरकारी काठमाडौँसम्म बिक्री हुन्छ ।”

तीन महिनादेखि पूर्व–पश्चिम राजमार्गको बेदकोट नगरपालिकास्थित चौधर नदी छेउमा सञ्जिता चौधरी तरकारी बिक्री गर्दै आउनुभएको छ । बेदकोट नगरपालिका–१० हरपालकी चौधरीले दैनिक रु तीन हजारसम्मको तरकारी, खरभुजा र काँक्रा बिक्री गर्नुहुन्छ । “यात्रुहरु नै हाम्रा ग्राहक हुन्,” चौधरीले भन्नुभयो, “बगरबाट थोकमा ल्याएर राजमार्ग छेउमा बसेर फुटकरमा बिक्री गर्छु ।” उहाँले हालसम्मको कमाइमध्ये रु ३० हजार बैंकमा जम्मा गरेको बताउनुभयो ।

“घर खर्च पनि यही व्यापारबाट चलेको छ ।” उहाँले भन्नुभयो, “श्रीमान् स्थानीय लालपुर बजारमा मजदूरी गर्नुहुन्छ ।” (रासस)

Follow Us

Facebook

Twitter

© Copyright by NayaBato
सम्पर्क [email protected]
Scroll Up