काममा ढिलाइ गर्ने ठेकेदारहरु गृहमन्त्रीको ठाडो निर्देशनमा पक्राउ पर्न सुरु

जेठ ४, काठमाडौँ । सडक मर्मत सम्भारमा ढिलाइ गर्ने ठेकेदारलाई प्रहरीले पक्राउ गर्न थालेको छ ।

गृहमन्त्रालयबाट जारी निर्देशन अनुरुप ठेकेदारलाई पक्राउ गर्न थालिएको हो । सोही अनुरुप पृथ्वी राजमार्गको गगनगौंडा सडकखण्डमा १ हजार ४ सय मिटर सडक कालोपत्रे गर्न ढिलाइ गर्ने निर्माण व्यवसायी सुरेन्द्र बस्नेत पक्राउ परेका छन् । उनलाई जिल्ला प्रहरी कार्यालय, कास्कीले नियन्त्रणमा लिएको हो ।

आर्थिक वर्ष ०७३/७४ को जेठमा असारभित्रै सक्ने गरी सम्झौता भएको थियो तर, समयमै सक्न सम्भव नभएको भन्दै गत आर्थिक वर्षको चैत सम्मका लागि सम्झौता थप गरिएको थियो । चैतमै सक्नुपर्ने काम हालसम्म ५० प्रतिशत मात्रै सम्पन्न भएको छ ।

गिटी छरेर सडक निर्माणमा ढिलाइ गरेपछि धुलो र दुर्घटना बढेको भन्दै स्थानीयले विरोध गरेका थिए । बिटुमिन प्रयोग गर्ने मेसिन नभएको भन्दै काममा ढिलाई गरेको सडक ढिभिजन कार्यालय पोखराका प्रमुख प्रेम खत्रीले बताए ।

समयमै सक्नुपर्ने काम मेसिन नभएको भन्दै ढिलाई गरेपछि गृहमन्त्रालयकै आदेशमा निर्माण व्यवसायी पोखरा-२८ का सुरेन्द्रलाई प्रहरीले बिहीबार समाएको हो । ‘गृहमन्त्रालयको आदेशअनुसार जिल्ला प्रशासन कार्यालयबाट निर्देशन आएपछि केसीलाई झिकाएका हौं,’ कास्की प्रहरी प्रमुख एसपी ओम रानाले भने, ‘छिटोभन्दा छिटो काम सक्ने गरी आज (शुक्रबार) कागज गरेर छाडेका छौं ।’

गगनगौंडा सडक खण्डका यो १४ सय सडक कालोपत्रे गर्न २ करोड रुपैयाँमा ठेक्का सरुवा कन्ट्रक्सनले जिम्मा पाएको थियो ।

Follow Us

Facebook

Twitter

© Copyright by NayaBato
सम्पर्क [email protected]
Scroll Up