शुरु भयो २ महिनामा २ खर्ब झ्वाम पार्ने ‘आर्थिक अनियमितताको मौसम’


मनीषा अवस्थी/काठमाडौं, चालू आर्थिक वर्षको ‘क्लोजिङ’ मा आइपुग्दा विकासे अड्डाहरुमा बजेट सक्ने चटारो शुरु भएको छ । नेपाली जनजिब्रोमा झुण्डिएको ‘असारे विकास’अन्तर्गत केन्द्रदेखि स्थानीय तहसम्मका निकाय जसरी पनि बजेट सक्ने ध्याउन्नमा लागेका छन् ।

चालू आर्थिक वर्ष (२०७४/०७५) सकिन २ महिना मात्रै बाँकी रहँदा बजेट सकेर फ्रिज हुन नदिनका लागि मनोमानी रुपमा विकासे क्रियाकलाप शुरु भइसकेका छन् ।

जताततै विकास निर्माणमा हुने यो मौसममा  रातारात कच्ची सडक पक्कीमा परिणत हुने तर नयाँ आर्थिक वर्ष शुरु नहुँदै उप्किने, सडकहरूका छेउछाउ सडकपेटी बन्ने तर तत्कालै भत्किहाल्ने, ढल हालिने तर ठूलो पानी पर्ने वित्तिकै फुटिहाल्ने, पर्खाल ठडिनेदेखि लिएर घर, भवनहरुको ढलान हुने तर सबै गुणस्तरहीन हुने गर्छन् ।

असार नलाग्दै शुरु भएको यो वर्षको झरीका बीच नै धमाधम विकासे कामहरु गाउँदेखि शहरसम्म चलिरहेका छन् ।

चालू आर्थिक वर्षमा विकास निर्माणका नाममा (पूँजीगत खर्च) सरकारले ३ खर्ब ३५ अर्ब १७ करोड रुपैयाँ विनियोजन गरेकोमा बैशाखसम्म ४० प्रतिशत मात्रै अर्थात् १ खर्ब ३२ अर्ब ६९ करोड खर्च भएको महालेखा परीक्षकको कार्यालयले जनाएको छ । यस हिसावले अबकाे २ महिनामा सरकारले २ खर्ब २ अर्ब ४८ कराेड रूपैयाँ पूजीगत बजेट खर्च गर्नेछ ।

बाँकी ६० प्रतिशत बजेट फ्रिज नहोस् भन्नका लागि हरेक विकास निर्माणका जिम्मेवार संस्थाहरुले धमाधम पूर्वाधार निर्माण तथा पुनर्निर्माणका कामहरु धमाधम अगाडि बढारहेका छन् ।

Follow Us

Facebook

Twitter

© Copyright by NayaBato
सम्पर्क [email protected]
Scroll Up