‘मनोज संसारको सबैभन्दा ठूलो रुन्चे कलाकार हो !’ -आमा ईन्द्रमाया गजुरेल

म इन्द्रमाया सापकोटा हुँ । अहिले ७५ बर्ष कि भएँ । ११ बर्षको उमेरमा मेरो बिबाह भयो । आफुभन्दा चार बर्ष जेठा भवानी प्रसादसँग साइनो जोडिएपछि म ‘गजुरेल’ हुन पुगेँ । हामीबाट आठ सन्तानको जायजन्म भयो । पाँच छोरी र तीन छोरा मध्य ‘मनोज’ सबैभन्दा कान्छो सन्तान हुन् । सुकेनासले सताएर मनोजको शरीर जम्मा एक मुठिको थियो । त्यसैले उसको बुबाले मुठी भनेर जिस्काउनु हुन्थ्यो । आज उ मोटाएर चार कोरी पुग्न अाँटेकाे छ तर बलियो छोरो हेर्न चाहने उसको बुबा हामीबिच हुनुहुन्न, जिन्दगीमा बिस्मात यहि छ ।

हिजोजस्तो लाग्छ, मनोज जन्मिएको, ४४ बर्ष पुगि सकेछ । उ जति बर्ष भयो, उसका बुवा बितेको पनि त्यति नै बर्ष बित्यो । सास जाने बेलामा उहाँले भन्नू भएको कुरा अझै याद छ मलाई – ‘किन रुन्छेस् ठूली, तेरै अनुहारको छोरो छोडेर जाँदैछु । बाँचेछ यसैले पाल्छ तँलाई ।’ पाल्न त अरु छोराछोरीले पनि राम्रै पालेका छन तर मनोजले उसका बाबुको सपना पूरा गर्छ जस्तो लाग्छ ।

हो, उहांको सपना ! मास्टर हुनुहुन्थ्यो । समाज सुधारक हुनुहुन्थ्यो । भजन, शिलोक भन्न रुचाउनु हुन्थ्यो । गरिबको पक्षमा बोल्नु हुन्थ्यो । अन्याय बिरुद्द आवाज उठाउनु हुन्थ्यो । हँसिलो, फरासिलो, मिजासिलो हुनुहुन्थ्यो । शत्रु कोही थिएनन् । सारा गाउँको प्यारो हुनुहुन्थ्यो । तर तिसै बर्षको उमेरमा दैब लाग्यो । म बिधुवा भएँ, सन्तान टुहुरा भए ।

ए, म त मनोजको जन्मको पो कुरो गर्दै थिएँ । २०३० सालकाे बैसाख महिना । सिदिङ्बा डाँडो चिर्दै झुल्किएको घाम कन्चन्जङ्गा हिमालमा ठोक्किदै थियो । बुबा कार्जेमा जानु भएको थियो । केटाकेटीहरु स्कुल गैसकेका थिए । पेटमा मनोज थियो । आज भोलिनै धर्तीमा आउनेवाला थियो । त्यस्तो बेलामा पनि म लेकतिर मालिङ्गो काट्न जान लागेकी थिएँ ।

अलिकती भुटेका मकै खाएँ । एक डबका मोही पिएँ । केहि मकै पोल्टामा राखें । नाम्लो कम्मरमा भिरेँ । त्यसमाथी खुर्पा खाँदे । मालिङ्ग्गो बाँध्न अलिकती अर्गेलीका लोक्ता बोकेर बाहिर निस्कन लाग्दै थिएँ, तल्लाे पेट एकदमै दुखेर आयो । फेरि भित्रै पसेँ । भित्रै दैलो समाएर उभिएँ । कराएँ, चिच्याएँ, गुहार मागेँ तर न भगवानले सुने, कोहि मान्छेले ! त्यसपछी म बेहोस भएँ ।

बच्चो कतिबेला जन्मियो, कसरी जन्मियो, कति रोयो, कति करायो, कसैले थाहा पाएन , मैंले पनि । दुर्गम गाउँ , एकलासको घर, एकल परिवार कोही चाहेरपनी आउन गार्हो थियो । म होसमा आउँदा बच्चो सालमा बटारिएको थियो । एकोहोरो रुवाई, फोहोर भुइँ र धुलो मैलोले बिजोग देखिन्थ्यो ।(लाग्दछ मलाई रमाईलो मेरै पाखा पखेरा कञ्चनजंघा मुन्तिर म जन्मिएको घर !)

न सुंडेनी, न सहयोगी, न त श्रोत साधन ! कपडाको नाउँमा लगाएको एउटा सारी थियो। त्यो पनि रगत र फोहोरले आधाउधी बिग्रीसकेको । त्यसैको एउटा फेर च्यातेर नानी सफा गरेँ । अर्को फेर च्यातेर आफुलाई सफा गरेँ । त्यसपछि बाँकी रहेकाे टुक्रामा नानीलाई गुटुमुटु पारेर घाम ताप्न बसेपछी बल्ल सासूआमा आई पुग्नु भयो ।

मनोज मेरो सबैभन्दा कान्छो सन्तान हो । कान्छो हुनुको नाताले दाजुदिदीहरु जति दु:ख गरेन । उ मेरो कोखबाट जन्मियो तर काखमा कमै बस्यो । कैले मामाघरमा बस्यो । कैले सानिमाको बस्यो । काका, दाजुसङ्ग बसेर पढ्यो । अहिले पनि मनोजसङ्ग म कमै बस्छु तर पनि मलाई उसको माया अरुभन्दा बिशेष लाग्छ । सायद मेरा दिवङ्गत श्रीमान् काे अन्तिम चिनो भएर होला !

उसले सानामा कसैसङ्ग झगडा गरेको याद छैन । ठुलो भएपछी पनि उसका कोही शत्रु छन् जस्तो लाग्दैन । एउटै कुराको डर लाग्छ – नेतालाई ब्यङ्ग गर्दै हिड्छ, मार्दिने हुन् कि ! मैले यसो भन्दा उ जवाफ फर्काउंछ- ‘तपाईंहरुले भगवानलाई निवेदन हारेर म जन्मिएको पनि हैन, यमराजलाई घुस खुवाएर बाँचेकाे पनि हैन । नहुने कुरा केही पनि हुँदैन, हुने कुरा भएरै छाड्छ ।’

आजकाल मलाई पनि त्यस्तै लाग्न थालेको छ । उसले पाएको सुख उसैको कर्मको फल हो , उस्ले भोग्नु परेको दु:ख पनि उसैको कर्मको फल हो । तर उ भन्छ – ‘मेरो खुसी तपाईहरुको कमाइ हो तर मेरो दु:ख मेरै कर्मको फल हो । केहि बर्षदेखि न्यासध्यानमा खुब रुचि राख्छ । उसको सोच, चिन्तन, जिवनशैली, खानपान र स्वभावमा आमूल परिवर्तन भएको छ, उसको बुबाजस्तै ।

उ आफुलाई भन्दा बढी माया छोराछोरीलाई गर्छ, आफन्तलाई गर्छ र समाजलाई गर्छ । भन्छ – ‘ लाखौ जनता मेरा सुरक्षा कवच हुन् । त्यसैले उहाँहरुलाई चित्त दुखाउने काम कहिल्यै गर्नुहुन्न ।’ पहिला पहिला खुब क्रान्तिकारी कुरा गर्दथ्यो । अहिले यो ध्यान-स्यानतिर लागेपछि त ‘ढुङ्गाले हिर्काउनेलाई फुलले हान्नुपर्छ’ भन्छ । ‘कसैले एउटा गालामा चड्कायो भने के गर्छन् ?’ एकदिन मैले साेधें । ‘अर्को गाला थापी दिन्छु ।’ उसले जवाफ फर्कायो । ‘अर्को गालामा पनि पड्कायो भने ?’ मेरो यो प्रश्नको उतरमा उसले भन्यो – ‘त्यसपछी चाहिँ बिचार गर्नुपर्छ ।’

मलाई मनोजको एउटा बानी पटक्कै मन पर्दैन, खाली जिस्किने, कैलेपनि सिरियस नहुने ! आज ४४ बर्ष पुग्यो तर अघि बिहानपनी मेरा गाला मुसार्दै बच्चालाई जिस्काएजस्तो गर्दै भन्यो – ‘मेलो गाला चाउरिएकी बुली आमाले माम खायो ?’ अस्ति एकदिन त साह्रै रिस उठ्यो । एक झापड लगाएर भनेँ – ‘घरमा ज्वाईं , सम्धिनी आउने बेला भयो । जहिलेपनी जिस्किएर हुन्छ ? सिरियस बन्न सिक ।’ हाँस्दै भन्यो – ‘म सिरियस भएँ भने त मलाई भेट्न अस्पताल आउनु पर्छ बजै !’ आजकाल त मनोज जिस्किएन, गम्भीर भयो भने पो चिन्ता लाग्छ ।

आज मनोज आफ्नो बाबुभन्दा पनि १४ बर्ष ज्यादा बाँची सक्याे । दुनियाँले हास्य कलाकार भनेर चिन्छन् । तर मेरा नजरमा उ दुनियाँको सबैभन्दा रुञ्चे कलाकार हो । प्रत्येक बिहान मेरो कोठामा आएर रुन्छ । ‘के भयो’ भनेर सोध्दा ‘तपाईं कहिल्यै हाँस्नु हुन्न, हँसाउन रोएको नि ।’ उसले यसो भन्दा अलिअली हाँस्ने प्रयास गर्छु । हो, अलिअलिमात्र ! किनभने बिकराल गरिबिको बिचमा एक्लै लड्दा लड्दै मेरो अाँशु र हाँसाे दुबै रित्तिइसकेका छन् ।

एउटा समय थियो, फलानाको नाति, फलानाको छोरो भनेर चिनिन्थ्यो । समय बदलिएको छ । आज मनोज गजुरेलकी आमा भनेर चिनिनँ पाउँदा बिगतको अभाव, गरिबी र पति बियोगको पींंडामा केही मल्हम लागेको छ । आशा छ, उप्रान्त पनी सुकर्म गर्नेछस् । बरु भोकै बस्नु परोस् , कुकर्म गर्ने छैनस् । नाङ्गै बस्नु परोस् , फट्याइँ गर्ने छैनस् ।

तेरो सुकर्म नै हाम्रा लागि ठुलो उपहार होस् । मनोज गजुरेलकी दिदी, मनोज गजुरेलको आफन्त, मनोज गजुरेलको साथी, मनोज गजुरेलको गाउँले, मनोज गजुरेलको शुभ-चिन्तक भन्दा गर्वले हाम्रो छाती ढक्क फुलोस् । मरेपछी तैले चढाएको खिर पाउछु कि पाउदिनँ, थाहा छैन तर म ज्युँदाे रहुन्जेल सुकर्म गरि रहिस् भने मेरा लागि त्यही प्रसाद हुनेछ । मेरो अन्तिम कोखप्रति सधैं गर्व गर्नेछु ।

सधैं अरुलाई हँसाइ रहने तेराे अनुहारमा कहिल्यै औंशि नआओस् । देश दुनियाँ ब्युझाउने अभियान सधैं चली रहोस् । जन्मदिनको धेरै धेरै शुभ कामना कान्छा ।मनोजको ब्लगबाट

Follow Us

Facebook

Twitter

© Copyright by NayaBato
सम्पर्क [email protected]
Scroll Up