भारतबाट विद्युत् आयात गरेर लोडसेडिङ हटाउन खोज्दा प्राधिकरणलाई यो वर्ष झन्डै १२ अर्व घाटा

काठमाडौँ, १९ साउन – भारतबाट बिजुली आयात गरेर लोडसेडिङ अन्त्य गर्ने घोषित नीतिका कारण नेपाल विद्युत् प्राधिकरणको यो वर्षको घाटा झन्डै १२ अर्ब रूपैयाँ पुगेको छ।

प्रधानमन्त्री केपी ओलीले नौ महिनाअघि कार्यभार समालेदेखि भारतबाट बिजुली आयात गरेर यो वर्ष लोडसेडिङ उल्लेखनीय रूपमा घटाउने र आगामी वर्ष निमिट्यान्न पार्ने घोषणा गर्दै आएका थिए। उनको घोषणालाई मन्त्रिपरिषद्ले पारित गरेको राष्ट्रिय ऊर्जा संकट निवारण तथा विद्युत् विकास दशक सम्बन्धी कार्ययोजनाले समेटेको छ।

सरकारले आगामी वर्ष भारतबाट ६ सय मेगावाट बिजुली आयात गर्ने लक्ष्य राखेको छ। गत वर्ष पाँच अर्ब १९ करोड घाटा बेहोरेको प्राधिकरणले यसपालि भारतबाट अत्यधिक बिजुली आयात गर्दा झन्डै सात अर्ब रुपैयाँ नोक्सानी सहनु परेको हो। प्राधिकरणले आगामी भदौ १ गते प्रकाशन गर्न लागेको वार्षिक प्रतिवेदनअनुसार यस वर्ष भारतबाट एक अर्ब ७७ करोड युनिट बिजुली आयात गरेको छ।

अघिल्लो वर्ष एक अर्ब २७ करोड युनिट बिजुली आयात हुँदा १० अर्ब रुपैयाँ तिर्नुपरेको थियो। प्राधिकरणले भारत र निजी क्षेत्र गरी यो वर्ष साढे २४ अर्ब रुपैयाँको बिजुली खरिद गरेको छ। प्राधिकरणले अमेरिकी डलरमा भुक्तानी गर्नुपर्ने खिम्ती र स्वदेशी मुद्रामा खरिद गरेको बिजुलीको मोल यस वर्ष साढे आठ अर्ब रुपैयाँ परेको छ।
४५ मेगावाटको माथिल्लो भोटेकोसीको विद्युत्गृह गत वर्षको भूकम्पदेखि बन्द रहे पनि भारतीय आयात बढेर भोटेकोसीभन्दा बढी मूल्य परेको प्राधिकरणका एक अधिकारीले बताए। आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ।

Follow Us

Facebook

Twitter

© Copyright by NayaBato
सम्पर्क [email protected]
Scroll Up