“जब म मेरो भान्सामा इन्डक्शन चुलो देख्छु, तब मोदीको धुर्त अनुहार देख्छु”

काठमाडौं। जब म आफ्नो भान्सामा छिर्छु, इन्डक्शन चुलो देख्छु; र सम्झन्छु यो चुलो नाकाबन्दीले सिर्जित ग्याँसइन्धन अभावमा बिजुली भएको बेला खाना पकाउनका लागि झन्डै ४ गुना महँगो मूल्यमा किनेको ! अनि अझ नजिक पुगेर चुलोको चिल्लो आवरणमा हेर्दा कारण र प्रभावका सम्वन्धको फ्रेममा मोदीको धूर्त अनुहार देख्छु ।

कुनै दार्शनिकको भनाइ छ, “जस्ले भूत/बिगतलाई सम्झन सक्दैनन्, उनीहरु उही गल्ती दोहो-याउनका लागि अभिशप्त हुन्छन्।” सायद यसै कारण पनि इतिहास पढिन्छ/पढाइन्छ । यस्तै कारणले पनि समोचित प्रसंगमा वीरताका कथाहरु सन्ततिलाई सुनाइन्छ। जस्तै बलभद्र र नालापानीको वीरतापूर्ण युद्धको स्मरण ।

डिकेन्द्र ढकाल

नालापानीको सबैभन्दा उच्च स्थानमा पर्ने खलङ्गा किल्लामा आफ्ना सिपाही, महिला तथा केटाकेटी गरी करिब छ सय जनाको साथमा बलभद्र युद्धको तयारी गर्दै थिए । त्यसै बखत अंग्रेज सेना नाइके जेलस्पीले आफ्ना मातहतमा भएका तीन हजार पाँचसय भन्दा बढी फौजको साथमा किल्लामाथि आक्रमण सुरू गरे । नेपाली फौजसित हतियारका नाममा केही तोप, भरुवा बन्दुक, ढुङ्गामुढा खुकुरी,धनुष भालाजस्ता साधनहरू मात्रै थिए । अङ्ग्रेजहरूका आधुनिक हतियार र सुसङ्गठित ठूलो फौजको सामना गर्नु नेपालीलाई कठिन कार्य थियो । यद्यपि नेपाली फौजले हरेस् खाएनन् । युद्धमा आफ्नो धैर्य र पराक्रमको परिचय निरन्तर दिइरहे । पहाड पर्वतमा हुर्केका नेपाली सैनिकहरूको वलिष्ठ शरीर र उच्च युद्ध कौशलको चमत्कारको परिणामस्वरूप अङ्ग्रेजहरूको मनोबल क्रमशः घट्दै गयो । अन्ततः नेपाली वीर वीराङ्गनाको सामु अङ्ग्रेजहरूको केही लागेन । किल्लातर्फ बढेका अंग्रेज फौजका केही अधिकृत जवान मात्र बच्न सफल भए । लेफ्टिनेन्ट एलिससहित अङ्ग्रेजका धेरै जवान युद्धमा मारिए । प्रथम प्रयास असफल भएपछि अङ्ग्रेजहरूले थप तयारी गरी दोस्रो हमला गरे । यसपटक जनरल जेलेस्पीसमेत बचेनन् । जेलेस्पीको मृत्युपश्चात् तितर-वितर फौजको नेतृत्वका भार कर्नल माँवीले सम्हाले । माँवीको पटकपटक आक्रमण पनि असफल भएपछि उनले युद्धद्वारा नेपालीलाई परास्त गर्ने आशा मारे । अन्तिममा उनले क्रुर एवं अमानवीय षड्यन्त्र रची किल्लाभित्र जाने पानीको मुहान थुनिदिए । अङ्ग्रेजहरूको उक्त धोकापूर्ण चालले नेपालीले पानीसमेत पिउन पाएनन् ।

भनिन्छ, इतिहास दोहोरिन्छ/दोहोराइन्छ । अंग्रेजको कुनै समयको उपनिवेश भारत/मोदीले अढाई बर्ष अगिमात्र नेपालमाथि नाकाबन्दी लगाएर बेलायतीहरुको नीच, अधम् एवं कायरतापूर्ण छलकपटको असफल सिको गरेको ताजै छ । मोदीको नेपालमाथिको नाकाबन्दीलाई नेपालीहरुले जुन कठोरता र वीरताकासाथ सहे, यस्ले नालापानीको इतिहास दोहोरिएको आभास हुन्छ; नेपाली जनताहरुको उही ऐतिहासिक राष्ट्रप्रेम दोहोरिएको उजागर हुन्छ । मोदीले नेपालमाथि नाकाबन्दी लगाएको बेला काठमाडौँमा धेरैका चुला साविकका इन्धनबाट चल्न छोडेका थिए । तर जनतामा अद्भुत धैर्यता र वीरता देखिएको थियो । राष्ट्रप्रेममा नेपाली रत्तिभर विचलित भएनन् । ग्याँसको अभावले घर घरमा बूढाबूढी र बालबालिकालाई दुई छाक तातो खुवाउन गाह्रो परेको, महान चाड दशैँतिहारमा घर फर्कन बाधा पुगेको, औषधी अभावमा बिरामीले दुःख पाएको र मर्न परेको आदि मोदीको नाकावन्दीका कष्टप्रद दिनचर्या नेपालीले कहिल्यै कहिल्यै बिर्सने छैनन् ।

तर त्यो ‘दानवमन’ले जति दुःख दिए पनि नेपालीहरुले कठोरता र वीरताकासाथ ती आर्ततायी व्यवहारबाट उत्पन्न समस्याहरु सहे । सहरहरुमा धेरैका भान्सामा एक छाकमात्र खाना पाक्थ्यो । दाउरा, बिजुलीबाट चल्ने चुलो सम्भव भएसम्म चलाइए । नभए जनताले बिस्कुट, चाउचाउ, च्युरा जस्ता सुख्खा खाना आदि खाएर भए पनि तत्कालिन सरकारलाई मोदीसामु नझुक्न साथ दिइरहे । जनतामा ठूलो धैर्यता र वीरता देखिएको थियो त्यो बेला । नेपालीहरु राष्ट्रप्रेमबारे रत्तिभर विचलित भएनन् । हो, बास्तवमै नेपालीमा रहेको नेपालीपन देखियो त्यो बेला । राष्ट्रप्रेम झनै गाढा भयो नेपालीहरुमा ।

बरु दुःख्ख सहन परोस्, नेपालीहरुको टाउको सधैँ ठाडो रहिरहोस् ।

(यो सामाग्री डिकेन्द्र ढकालको फेसबुकबाट नयाँबाटोले साभार गरेको हो)

Follow Us

Facebook

Twitter

© Copyright by NayaBato
सम्पर्क [email protected]
Scroll Up