विवाहका लागि दवाव बढेपछि गीता चपाईको हत्या

सुर्खेत, ३ वैशाख । सुर्खेतमा युवती हत्याको अभियोगमा एक जना पक्राउ परेका छन् । पञ्चपुरी नगरपालिका–२, सालकोटकी २१ वर्षीया गीता चपाईको हत्याको अभियोगमा फरार रहेका सुर्खेतको बराहताल गाउँपालिका–८, कुनाथरीका १९ वर्षीय सुवास बोहरा पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय सुर्खेत र केन्द्रीय अनुसन्धान ब्यूरो काठमाडौंको संयुक्त अनुसन्धानका क्रममा सुवासलाई काभ्रेपलाञ्चोकबाट पक्राउ गरिएको हो । फोन र फेसबुकको विस्तृत विवरणका आधारमा सुवासलाई काभ्रेपलाञ्चोकवाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीले बताए । चपाईको हत्या गरेको भोलिपल्ट सुवास सुर्खेतबाट भागेर काभ्रेपलाञ्चोक गएको प्रहरी प्रमुख चतुर्वेदीले बताए ।

हत्याको कारण भने विवाह बनेको छ । गीता र सुवास प्रेम सम्बन्धमा रहेको र गीताले बिहे गर्न सुवासलाई दबाब दिएकी थिइन् । सुवासले नमानेपछि उनीहरुबीच मनमुटाव सुरु भएको थियो । सुवासले गीताको दबाब सहन नसकेर उनलाई हत्या गर्ने योजना बनाए ।

प्रहरीका अनुसार पक्राउ पर्नुअघि सुवास काभ्रेपलाञ्चोक जिल्लाको भुम्ती गाउँपालिका–४, पोखरीचौबासमा मजदुरी गरी बसेका थिए । हत्या भएको एक महिनापछि २०७४ साल माघ ९ गते पञ्चपुरी नगरपालिका–८, जामुने वनमा गीताको कंकाल फेला परेको थियो । त्यसपछि गीताको शव खोजी गर्ने क्रममा टाउकोको कंकाल, एउटा खुट्टाको हड्डी, कपाल, कपालमा लगाएको क्लिप, एक जोडा कपडा, चप्पल फेला परेको चतुर्वेदीले बताए ।

हत्या अभियोग लागेका सुवासलाई २०७४ साल चैत २८ गते काभ्रेमा पक्राउ गरी गत शनिबार सुर्खेत ल्याइएको हो । सुवासले गीतालाई पुस ४ गते राति खोलामा धकेलेको प्रहरीलाई बयान दिएका छन । २०७४ साल पुस ४ गते राति सुर्खेतको पञ्चपुरी नगरपालिका–२, सालकोटकी चपाईको हत्या गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

Follow Us

Facebook

Twitter

© Copyright by NayaBato
सम्पर्क [email protected]
Scroll Up