आमाको उपचार गर्न नसकेर रोएको त्यो दिन…

केशब प्रसाद पाण्डे –

भदौ १५ गते म काठमाडौं छिरेको एक वर्ष दुई महिना पुग्थ्यो। एसएलसी सकेपछि जागिर गर्ने अनि राम्रो पढाइ र आमाको उपचार गर्ने एकसरो सुनौलो सपना मात्र थिए, मसँग यो सहरमा सँगसँगै बाँचेका, वर्षौदेखि। गरिबको सपना कति नै ठूला हुन्छन् र! जसोतसो जोहो गरेर बुबाले लिइदिनुभएको कोठा थियो। मसँग पढाइको लागि काम गर्नुको विकल्प थिएन। केही दिनपछि ठमेल छेउ रेष्टुरेन्टमा भाँडा माझ्ने काम मिल्यो। मध्यरातिसम्म काम हुन्थ्यो, व्यस्त भएर लखतरान शरीर लिएर कोठामा पुग्नु र बिहान सबेरै कलेजको लागि तयार हुनु थियो। दैनिकी एउटा चक्र जसरी एउटै भएर चल्न थाल्यो। एक वर्षमा तलब बढेर तीन हजार रुपैयाँ पुगिसकेको थियो, महंगीको कुरै नगरौं।

कलेजमा फि,कोठाभाडा जसोतसो तिर्न पुग्थ्यो। बचाउने त परैको कुरो। पढाइ मुस्किलले चलेकै थियो,अर्को महान सपना आफैं कमाएर आमाको उपचार गर्नु थियो। अब जसरी नि गर्नुछ! भाडा नतिरेको तीन महिना पुगिसक्यो। कलेजमा फि पनि त्यसै छ, पटकऔपटक ताकेता गर्न थाल्यो। यता घरबेटी पनि अचाक्ली गाली गर्थे। कहिले त मध्यरातमा रक्सी धोकेर कराउँदा छोडेर जाउँ जसरी चित्त दुख्थ्यो। तर पनि बाध्यताले सहनु पर्यो। कहिले घरबेटी बूढो नरम भएर बोल्दा ‌धेरै खुसी लाग्थ्यो। बुबाले ल्याउनुहुन्छ, तलब दिएको छैन, यस्तै-यस्तै समस्या देखाएर टारेँ। गीताजस्तो धर्मशास्त्रमा भनिएको छ, ‘कसैको ज्यान जोगिने अवस्थामा झुटो बोल्नु पाप मानिँदैन!’

लेखक: केशब प्रसाद पाण्डे

यहाँ त जन्म दिने आमाको कुरा छ, मैले पनि त्यही गरेँ। कलेजको चेतावनीको समेत हद नाघेपछि मलाई गेटबाटै पालेले अपराधीलाई जसरी थर्काएर फर्काउन थाल्यो,‘धन नभएपछि सरस्वतीको ढोका पनि बन्द भयो।’

एक दिन क्याम्पस प्रमुखलाई बाहिरै भेटेर अनुनय विनय गरेँ। यस्ता बहाना लिएर आउने सबैलाई छुट दिए कलेज बन्द हुने भन्दै उनी कड्किए। मैले जवाफ फर्काउने ठाउँ देखिनँ। पढाइ छुट्दै गयो, अब त्यो समयमा पनि काम गर्न थालेँ। मेरो लागि समय धेरै कठोर बन्दै गयो, ममा बाँकी आशा भने बढ्दै गए।

कलेज र घरबेटीको गाली सम्झेर बेसरी रोएको छु, रुँदारुँदै कैयौँचोटि आँशुले रेष्टुरेन्टमा भाँडा धोएको छु। साथीहरू सोध्थे,‘के भयो तँलाई?’ बेलिबिस्तार सुन्थे र  साथीहरू सकेसम्म सहयोगको ढाडस दिन्थे। भदौ लागेपछि घरबाट पन्ध्र मिनेट टाढाको फोनमा कल गरेर बुबालाई बोलाउन लगाएँ। त्यो दिन बुबालाई आमालाई जँचाउन अब ढिला गर्न हुन्न पठाइदिनुस् भनेँ। यसबीचमा गाँउतिर सरसापट गरेको पैसा लिएर आमा आउँदा म बनेपा बसपार्कमा लिँन पुगेँ। पहिला आँखामा मासु पलाएर नानी छोप्न लागेको अप्रेसन तिलगंगा आँखा अस्पतालमा लगभग पाँच हजारमै सकियो। अब फलोअफ र आउँदा-जाँदा अप्रेसन गर्नुपर्दा बसमा भिडभाडले अप्ठ्यारो पर्दा ट्याक्सी लिनुपर्यो। भाडा महंगो भो। वर्षौं अघिदेखिको रोग ठिक भयो। दमको पनि राम्रो ठाउँमा परीक्षण गरियो। चेकअफ गरेर दबाई खान थालेपछि कम हुन थाल्यो।

बाँकी थियो, अनुहारको दायाँ पाटो आफैं चलिरहने। सुरुमा आँखा बेस्सरी फर्फराँउथ्यो। गाउँमा अनेक शुभ-अशुभका अड्कल काट्दाकाट्दै ढुङग्रोमा आगो फुक्दा सास बाङ्गिने र लुछे जसरी आधा अनुहार चलाएमान भएर अप्ठ्यारो हुन थालेपछि मात्र रोग हो भन्नेमा शंका भएन। घरको कमाइले वर्षभरि खान पुग्दैन थियो। आमाभन्दा कमै रोगी भए पनि बुबाको जीर्ण शरीरले भाइबहिनीलाई धानेकै मात्र छ। जेठोबाठो हुनुले थामिनसक्नुको जिम्मेवारी ममाथि थपिँने नै भयो। त्यो रोगबारे बुझ्दै जाँदा जतिसुकै अन्त गए पनि थापाथली नर्भिक हस्पिटल नपुगी ठिक हुँदैन भन्ने सुनेँ। अब राम्रो ठाउँ महंगो परे पनि नराम्रोतिर किन ट्राई गरिरहनु भन्ने सोचेँ।

एक जना पन्त थरका डाक्टरकोमा बिहान नौ बजेको समय मिल्यो। डाक्टरले सबै हेरे ,सोधे र एमआरआई गरेर ल्याउनुस् भनेर पानीपोखरीको ‘प्रशान्ति एमआरआई’को नाम दिए। सोध्दैखोज्दै पुगेर दिनभरजस्तो भोकै बसेर त्यसै दिन सोह्र हजार तिरेर रिपोर्ट लिएर आइयो। भोलिपल्ट रिपोर्ट लिएर पुगेँ, डा.पन्तले रिपोर्ट हेरेर त्यो रोगबारे भने, ‘यसलाई  समयमै उपचार नपाए विस्तारै एउटा पाटो च्यापेर नचल्न सक्छ। नसाको समस्या हो। टाउको पछाडिको भागबाट अप्रेसन गर्नुपर्दछ, अरु विकल्प छैन।’

बाँकी सहयोगीलाई बुझाइदिन भने। सहयोगीले पहिला उपचार गराएका बिरामीको भिडियो देखाँउदै भने, ‘यी शिक्षकको बेलाबेला आँखा आफैं झिम्किएर विधार्थी जिस्काएको आरोपमा तनाव पाएछन्। बेलैमा आइपुगेर निको भए। तपाईंहरुको पुरानो समस्या हो। यसमा तलमाथि हुन नि सक्छ। ग्यारेन्टी भन्न सकिन्न। हस्पिटलको भित्री खर्च दुई लाख र बाहिरी खर्च जोहो गरेर घरसल्लाह गर्नुस् अनि फोन गर्नुहोला। उसले थोरै मात्र हेक्का नराखी बिरामी आमाकै अगाडि सब कुरा लाखौंलाखमा भन्दियो।

रिपोर्टको झोली बोकेर म आमाभन्दा अगाडि अगाडि केही नबोली हिँडे। भन्न बाँकी केही थिएन। सब उसैले भनिदिएको थियो। कहिले नसुक्ने सातपत्र सुक्ने भदौको चर्को घाम पनि मलाई अँध्यारो लाग्यो। सिंहदरबार, रत्नपार्क हुँदै मनभरि अनेक तर्कना उठ्दै आए। मुस्किलले जुटेको तीस हजारको त ऋण छ, अब कस्ले पत्याँउछ तिर्ने आधार नभएपछि? म आफूलाई यति निरीह सोच्न पुगेँ कि पछाडि फर्केर आमाको अनुहार हेर्ने हिम्मतसम्म नि गर्न सकिनँ। त्यो रात मलाई निन्द्राले छुन सकेन। आमाको आँशुले भिजेको सिरानीको याद आइरहन्छ। आमाको मन न हो! आफ्नो कारण ऋणै ऋणमा सन्तान डुबेको कल्पना पनि कसरी गर्न सक्नुहुन्थ्यो र!

आजकाल समाचारमा  देख्छु :

‘पूर्वराष्ट्रपतिलाई क्यान्सर! ६०लाख उपचार खर्च दिने, अमेरिकामा उपचार हुने।’

‘देउवा स्वास्थ्य जाँचका लागि सिंगापुर।’

‘अोली थाइल्याडमा उपचार गर्दै।’

‘यता नक्कली डाक्टर!’

स्वदेशमै हुनसक्ने उपचारका लागि विदेश जान ठिक लाग्दैनन मलाई! तथापि, त्यही विषय राष्ट्रवाद र घातको नाममा अन्धबिरोध र अन्धसमर्थन देख्दा घृणा जाग्छ। यता, भएका स्वास्थ सेवा उपयोग गर्न नसकि मर्ने जनता छन्, उता जनप्रतिनिधि नामकालाई यताको घिउ पच्दैन।

यस्तै मुद्दा लिएर अनसन बस्दा गोविन्द केसीमा ‘हामी र हामीभन्दा धेरै गरिब नेपाली देख्छु, डलरमा भोको बसेको देख्दिँन।’ गगन थापा स्वास्थ्य मन्त्री हुँदा केही धुमिल आशा देख्छु, बहुमत नेपालीले देख्छौँ जसरी। आज उबेलाको डाएरी पल्टाएर हेरेँ,

कबिताबद्ध ती आलो अतीतका केही अक्षर देखिए।

जाँदा थियो आशा हजुर, आउँदा सब चकनाचुर!
गरिबलाई नै लाग्नपर्ने यो रोग नामको महिषासुर!!

अस्पतालमा डाक्टर, नर्सको कति मिठो बोली!
त्यै बोलीले लगाइदियो लाखौँलाखको गोली!!

सरल, सुपथ स्वास्थ्य सेवा कहिले पाँउने होला!
रक्षा गर , शरण परेँ , हे पशुपतिनाथ भोला!!

Follow Us

Facebook

Twitter

© Copyright by NayaBato
सम्पर्क [email protected]
Scroll Up