राजिनामा दिने तयारीमा रहेका खरेललाई पुर्वगृहमन्त्री शर्माले दिए यस्तो जवाफ

काठमाण्डौ । नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी)मा सर्वेन्द्र खनाल नियुक्त गरिएपछि विभिन्न टिका टिप्पणी सुरु भएको छ ।

आईजीपीका लागि सर्वेन्द्र खनालसँगै रमेश खरेल र पुष्कर कार्की दौडमा थिए । डीआईजी बढुवाको बरियतामा खनाल पहिलो, खरेल दोस्रो र कार्की तेस्रो नम्बरमा थिए ।

तर कतिपयले खनालभन्दा खरेल योग्य भएकाले उनलाई आइजिपी बनाउनुपर्ने तर्क गरेका छन् । यद्यपी खनाल पनि सफल व्यक्ति हुन भन्नेमा आशंका भने छैन ।

मन्त्रिपरिषद्को मंगलबार साँझ बसेको बैठकले डीआईजी खनाललाई आईजीपीमा बढुवा गरेको हो ।

डीआईजीमा बढुवा भएको ८ महिना मात्र भएकाले नयाँ कार्यसम्पादन मूल्यांकन समेत तयार हुन सकेको थिएन । प्रहरी नियमावलीमा एक वर्षको कार्यसम्पादन मूल्यांकन गर्ने व्यवस्था छ ।

कार्यसम्पादन मूल्याङ्क बिना नै आइजिपी तोकिएकाले पनि कतिपयले आशंका गरेका हुन् ।

यससम्बन्धमा पूर्व गृहमन्त्री जनार्दन शर्माले भने सरकारले नियम र प्रक्रियाअनुसार उचित निर्णय गरेको बताएका छन् ।

यसैबिच नेपाल प्रहरीको महानिरीक्षक पदका अर्का प्रमुख दावेदार डिआईजी रमेश खरेलले पदबाट राजीनामा दिने भएका छन् । सरकारले सहब्याची सर्वेन्द्र खनाललाई महानिरीक्षक (आईजीपी) बनाएपछि असन्तुष्ट बनेका खरेलले राजिनामा दिने तयारी गरेका हुन् ।

पूर्व गृहमन्त्री शर्माले भने विधि र प्रक्रियाअनुसार भएको निर्णयलाई अन्याथा मान्न नहुने बताए ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै शर्माले पहिलो नम्बरमा भएकालाई नै नियुक्ति गरिएकाले अरु प्रतिस्पर्धीले राष्ट्रलाई सेवा गर्नै नमिल्ने वा नपाउने भन्ने नहुने तर्क गरे ।

“राजिनामा दिनैपर्ने कुरा छैन । खरेलजी पनि असल व्यक्तिमध्येकै हो । उहाँले पनि यो अवस्थामा सरकारको निर्णयलाई सहज रुपमा लिएर आफ्नो काम गर्नुपर्छ ।” शर्माले भने ।

यसअघि वरियाता मिचेर आइजिपी बनाएपछि अघिल्लो पटक नवराज सिलवालले राजिनामा दिएका थिए ।

यसपटक नेपाल प्रहरीमा सर्वेन्द्र खनाल र शसस्त्र प्रहरीमा शैलेन्द्र खनाललाई नियुक्त गर्दा विधि र प्रक्रियाका आधारमा नै गरेको शर्माको दाबी छ ।

Follow Us

Facebook

Twitter

© Copyright by NayaBato
सम्पर्क [email protected]
Scroll Up