दाहाल भन्छन्, ‘२ नम्बर प्रदेशमा पनि वामपन्थीकै सरकार’

धनकुटा । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले २ नम्बर प्रदेशमा पनि वामपन्थीकै सरकार बन्ने दाबी गरेका छन् । सातै प्रदेशमा वामपन्थीको स्थिर सरकार बनिरहेको अवस्थामा २ नम्बर प्रदेशमा पनि चाँडै वामपन्थी सरकारकै नेतृत्व रहने उनले दाबी गरे ।

हेर्दै जानोस् २ नम्बर प्रदेशमा पनि अब चाँडै वामपन्थीको नेतृत्वमा सरकार बन्ने निश्चित छ,’ धनकुटाको पाख्रिबासमा मंगलबार कृषि तथा वन विज्ञान विश्वविद्यालय कृषि संकाय तर्फको प्राकृतिक स्रोत व्यवस्थापन कलेजको भवन शिलान्यास गर्दै दाहालले भने।

२ नम्बर प्रदेशमा उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमले सरकारको नेतृत्व गरेको छ भने राष्ट्रिय जनता पार्टी (राजपा) सरकारमा छ। विश्वासको मत लिंदा वाम गठबन्धनका एमाले र माओवादी केन्द्रले पनि समर्थन गरेको थियो।

दाहालले आगामी वैशाख ९ गते एमाले र माओवादी केन्द्रबीचपार्टी एकताको औपचारिक घोषणा हुने निश्चित भएको जानकारी दिए। दुई पार्टीको एकताको लागि बनेको एकता संयोजन समितिको बुधबार बस्ने बैठकले एकताबारे टुंगो लगाउने उनको भनाइ छ। ‘विशाल जनसभा गरेर दुवै पार्टीबीचको एकता घोषणा गर्ने तयारी गरिएको छ,’ उनले थपे, ‘अब समावेशी, लोकतान्त्रिक र एकीकृत पार्टीको घोषणासँगै समाजवादतर्फ उन्मुखमा हामी जुट्ने छौं।’

पूर्वप्रधानमन्त्रीसमेत रहेका दाहालले अब मुलुकले विश्वको ध्यान तान्दै सामाजिक न्याय र आर्थिक विकास तर्फ उन्मुख हुने बताए। सामाजिक न्याय सहितको विकाससँगै धनी र गरिबबीचको खाडल पुरिदै जाने उनको भनाइ थियो।

दाहालले फरक प्रसंगमा मुलुकको वर्तमान शिक्षा पद्धति बेरोजगार उत्पादन गर्ने थलोको रुपमा रहेको टिप्पणी गर्दै अब प्राविधिक, उत्पादन वृद्धि गर्ने व्यवशायिक शिक्षा हुनु पर्ने बताए। उनले प्राकृतिक रुपमा सम्बृद्ध नेपालको भरपुर उपभोग गर्दै आगामी एक दशकभित्र मुलुक समृद्धशाली बनेको देख्न सकिने ठोकुवा गरे।

दाहालले पाख्रिबासमा १ नं. प्रदेशको कृषि संकायको विश्व विद्यालय स्थापनाका लागि आफ्नो पार्टी तथा सरकारले जोड गर्ने उल्लेख गरे। कार्यक्रममा कृषि तथा वन विज्ञान विश्वविद्यालयका उपकुलपति ईश्वरीप्रसाद ढकाल, सांसद राजेन्द्र राई, पूर्व सांसद हेमराज भण्डारी लगायतले पनि धारणा राखेका थिए।

– कान्तिपुर दैनिक

Follow Us

Facebook

Twitter

© Copyright by NayaBato
सम्पर्क [email protected]
Scroll Up