पूर्व प्रहरीको घरबाट ठूलो परिमाणमा अवैध साम्रगी बरामद

रुपन्देही। जिल्ला प्रहरी कार्यालय रुपन्देहीले भारतबाट अवैधरुपमा भन्सार छली भण्डारण गरिएको ठूलो परिमाणमा विभिन्न किसिमका अवैध साम्रगी बरामद गरेको छ।

प्रहरीले नेपाल प्रहरीको एक पूर्व प्रहरी सहायक निरीक्षकको घरबाट अवैधरुपमा भन्सार छली भण्डारण गरिएको ठूलो परिमाणमा विभिन्न किसिमका अवैध साम्रगी बरामद गरेको हो।

रुपन्देहीको सिद्धार्थनगर नपा ६ किशोरपुरमा रहेको पूर्व प्रहरी सहायक निरीक्षक कृष्णप्रसाद शर्मा (पाण्डेय) को घरबाट अवैधरुपमा भन्सार छली भण्डारण गरिएका लाखौँ मुल्य बराबरको सुर्ती, कपडा, हार्डवयेरलगायतका विभिन्न किसिमका अवैध साम्रगी बरामद भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।

विशेष सूचनाको आधारमा शर्माको घरमा खानतलासी गर्दा लाखौँ रुपैयाँ मुल्य बराबरको सूर्ती कपडा, हार्डवयेरलगायतका विभिन्न किसिमका साम्रगी बरामद भएको रुपन्देहीका प्रहरी उपरीक्षक (एसपी) श्याम ज्ञवालीले बताए।

उनका अनुसार प्रति बोरा करिब ४० किलोको ६० बोरा सुर्ती, लेडिज सुट ६० थान, बनारसी साडी ७ थान, कमसल बनारसी साडी २ सय १९ थान, सानो गलैचा ३ थान, चप्पल एक हजार ४ सय ४० जोर, ढोकाको चुक्कुल ५ सय ७६ थान, ढोकाको कब्जा ९ सय ६० थान, ठूलो गलैचा ६ थान बरामद भएको छ।

बरामद साम्रगी १५ लाख रुपैयाँ बढी मुल्य बराबरको रहेको र भन्सार कार्यालयमा बुझाउने तयारी भइरहेको उनले बताए।

उनले घरधनी शर्मासँग बरामद अवैध साम्रगीबारे सोधपुछ गरिनुका साथै घटनाको थप अनुसन्धान गर्ने बताए।शर्माले घरको २ वटा कोठा भाडामा दिएका थिए।

– अन्नपूर्णपोस्ट 

Follow Us

Facebook

Twitter

© Copyright by NayaBato
सम्पर्क [email protected]
Scroll Up