कमाउन साउदी गएका श्रीमान मारिए तर शव आएन, २३ बर्षमै विधवा बनेकी निशाको पिडा

– सन्जिता देवकोटा

काठमाडौं । कपिलवस्तुको सुद्धोधन गाउँपालिका–१ की सजरु निशा २३ वर्षकै उमेरमा विधवा बन्नुभयो । कमाउन गएका श्रीमानको साउदीमै हत्या भएपछि सजरुका जीवनको रङ पखालियो ।

खुसी ल्याउन विदेश गएका श्रीमान् सजरु र छोराछोरीका खुसी पनि सँगै लिएरै अस्ताए । कसैले मारिदियो भन्ने खबर सजरुको घरसम्म आइपुग्यो तर शव आएन । सजरु र मोहम्मदबीच दिनहुँ कुराकानी हुन्थ्यो ।

बालबच्चा र घरव्यवहारका बारेमा सोधिरहनुहुन्थ्यो मोहम्मदले । तर आफ्ना बारेमा नराम्रो कहिल्यै केही भन्नुभएको थिएन । श्रीमानले समस्या र अप्ठेराका बारेमा नबताएपछि सजरुलाई पनि विदेशमा राम्रै होला भन्ने लाग्थ्यो ।

तर एक्कासी हत्या भएको खबर भने सजरुलाई सपना झै लाग्यो । ‘म त बजार गएको थिएँ, घरबाट फोन गरेर खबर सुनाए, त्यो दिन उसले फोन पनि गरेको थिएन, बजारबाट कार्ड ल्याएर फोन गर्दा पनि लागेन,’ सजरु बताउनुहुन्छ ।

साउदीमै रहेका जेठाजुले मोहम्मदको हत्या भएको खबर गरेका थिए । ‘मलाई त पत्यार लागेको थिएन तर पछि जेठाजुले नै सनाखत गरेको भनेपछि पत्याएँ,’ सजरुले भन्नुभयो ।

सजरुका श्रीमान् कपिलबस्तु हुँदा क्रिकेट खेल्न रुचाउँथे । फुर्सदको दिन विदेशमा पनि सबै साथी मिलेर क्रिकेट खेल्थे । त्यही रहरले नै सजरुका श्रीमानको ज्यान लियो । ‘खेल्दा साथीहरुबीचमा झगडा भएको रे, त्यहीबेला बंगालीहरुले कुटेर मारिदिएछन्,’ सजरुले श्रीमानकाे मृत्युको कारण बताउनुभयो । खेल्दा खेलाचीमै श्रीमानको ज्यान गएको खबर सुनाउँदा सजरुका हातखुट्टा कापिरहेका थिए ।

साउदी जान्छु भन्दा नराम्रो हुने हो कि भन्ने लागेको थियो सजरुलाई । किनकी मोहम्मद कतारबाट पनि काम राम्रो नभएरै फर्किनुभएको थियो । गाडी चलाउन कतार पुगेका मोहम्मद ६ महिनामै फर्किनुभएको थियो ।

कतारबाट फर्किएको केही समयमै वाइरिङको काममा साउदी जानुभयो । तर साउदीको पहिलो यात्रा कतारको भन्दा राम्रो भएन । १० महिनामै फर्किनु पर्यो । दुई पटक नराम्रो काममा पर्दा पनि मोहम्मदले विदेश जाने सोच त्याग्न सक्नुभएन ।

फेरि ड्राइभर भिसामा साउदी पुग्नुभयो । तेस्रो यात्रामा भने मोहम्मदले भनेकै काम पाउनुभएको थियो । काम र कमाइ मिलेपनि गरिखाने भाग्य भने मिलेको रहेनछ मोहम्मदलाई ।

कमाउन थालेको १० महिना नपुग्दै हत्या भयो । न कमाएर परिवारका लागि केही गरिदिन पाउनुभयो न त श्रीमती र छोराछोरीले अन्तिम पटक अनुहार नै देख्न पाए ।

साउदीमै सदगत

श्रीमानको सात समुद्र पारि भएकै बेला हत्या भयो । के भएर हत्या भयो ? कसरी भयो भन्ने कुरा प्रष्ट भएकै थिएन । कम्पनीले शव त दियाे तर के हत्या गर्नेलाई कारवाही हुने खबर भने दिएन ।

परिवारले मुस्लिम धर्म अनुसार मोहम्मदको उतै सदगत गर्ने निर्णय गर्यो । ‘हाम्रो धर्म अनुसार साउदीलाई पवित्र मान्ने भएकाले शव उतै राख्ने कुरो भयो, सबै जनाले त्यसै भने मैले के भन्नु, चुपचाप बसें, मलाई त घरमै ल्याउन मन थियो नि’ सजरुले मसिनो श्वरमा भन्नुभयो ।

सबैजनाले साउदीमै सदगत गर्ने भनेपछि अन्तिम पटक श्रीमानको अनुहार हेर्ने इच्छा पनि पूरा भएनन् । घरमै शव ल्याउने सजरुका इच्छा परिवारको निणर्य विपरीत मुखबाट बाहिर नै निस्किएनन् ।

साउदीमै रहेका आफन्तले मोहम्मदको शव तीन महिनापछि उतै सदगत गरिदिए । पवित्र ठाउँमा श्रीमानको अन्तिम संस्कार भएको ठिकै हो भन्ने लाग्यो उहाँलाई । तर श्रीमतीको मन न हो । मुख देख्न पाइनँ भनेर सजरुको मन पोलिरहन्छ । ‘उता पनि शव हेर्न दिएनछ, कस्तो थियो, कहाँ हानेर मारिदियो होला भन्ने लागिरहन्छ, मलाई त केही थाहा छैन,’ सजरु भन्नुहुन्छ, ‘मलाई त आफूले नदेखेर होला अझैंपनि आइहाल्छ कि झैं लाग्छ ।’

सजरुसँग श्रीमानको फोटो पनि छैन । ‘फोटो हेरेर रुन्छे भनेर सासुससुराले फोटो सबै लुकाइदिए,’ सजरु भन्नुहुन्छ । फोटो लुकाइदिए पनि सजरु र उहाँका छोरीहरुका आँखैमा माेहम्मदकाे तस्बिर छ ।

छोरीहरुले निदाउनुअघि बुवाकै बारेमा कुरा गर्छन । ‘हाम्रो बुवा मोटो थियो भन्छन्, दिनकै सम्झन्छन्, जेठीले त बुवा बित्यो भन्ने थाहा पाएकी छ, त्यसैले होला हाम्रो बुवा त आउँदैन भन्छे,’ सजरु सुनाउनुहुन्छ ।

छोरीहरु काखैमा राखेर श्रीमानका बारेमा बताइरहेकी सजरुका आसुँ छोराछोरीका अगाडी अडिकै थिएनन् । तर सुत्ने बेलामा छोराछोरीले बुवाका कुरा गर्दा भने सजरु रुनुहुन्न ।

‘बुवा नभएपनि म छु, तिमीहरुलाई पढाउँछु भन्छु, तर म उनीहरुको अगाडी रुँदिन,’ छोराछोरीका अगाडी नरुने सजरुलाई आँसु लुकाउन गाह्रो परिरहेको थियो । उहाँका तीन छोरी छन् । जेठी छ वर्षकी, माइली पाँच र कान्छी चार वर्षकी भइन् ।

मजदुरी गरेर पढाउन र घर चलाउन गाह्रो

तीनै जनालाई राम्रोसँग पढाउने सजरुको योजना छ । पढाउने आँट बटुले पनि छोराछोरीले भने पढेका छैनन् । घर नजिकैको स्कुल जान्छन् तर जाने आउने मात्रै हुन्छ ।

पैसा भए त सजरुँलाई छोरीहरुलाई राम्रो स्कुल पढाउने चाहाना छ । ‘५० हजार रुँपैयाँ जम्मा भएको थियो, परिवार(श्रीमान्) बितेपछि त्यो पैसा त सक्किहाल्यो, अब कसरी गर्नु, मलाई त केही थाहा छैन,’ सजरुले भन्नुभयो ।

सजरुलाई बेलाबेलामा सासुससुराले तरकारी किनिदिन्छन् । बिरामी परेका बेला सहयोग गर्छन । तर घरमूली नै नुहँदा सजरुलाई अरुको सहयोगले मात्र सधैभरी पुग्दैन भनेर मन पोलिरहन्छ ।

कलिलै उमेरमा विधवा हुनु अनि श्रीमानको मुख पनि देख्न नपाउनुको पीडाबाट माथि उठ्न सक्नुभएको छैन । पीडामा डुवेकी सजरुका भोलीका योजना छैनन् । भन्नुहुन्छ, ‘मजदुरी गर्ने ज्यान केही नहोस् ।’

Follow Us

Facebook

Twitter

© Copyright by NayaBato
सम्पर्क [email protected]
Scroll Up