अबका युवाले पिएचडी गरेर अपमानजक काम गर्न विदेश जानु पर्दैन – अध्यक्ष प्रचण्ड

धनकुटा : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अबका युवाले पिएचडी गरेर अपमानजक काम गर्न विदेश जानु नपर्ने बताएका छन् । मंगलबार धनकुटाको पाख्रिवासमा प्राकृतिक स्रोत व्यवस्थापन कलेजको उद्घाटन तथा भवन शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन् ।

प्रचण्डले स्थिर सरकार बनेकाले व्यवसायिक शिक्षा नीति कार्यान्वयन भएपछि शैक्षिक बेरोजगारको अन्त्य हुने दाबी गरेका हुन् । ‘अबका युवाहरुले पिएचडी गरेर अपमानजनक काम गर्न विदेश जानुपर्ने छैन,’, पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले भने, ‘त्यसैले अबको शिक्षा नीति र पद्धति प्राविधिक, व्यवसायिक र रोजगारमुलक हुनेछ ।’

प्रचण्डले धनकुटाको पाख्रिबास स्थित ९८ हेक्टरमा रहेको कृषि अनुसन्धान केन्दमा रहेको श्रोत साधनलाई सदुपयोग गर्न यो बर्षदेखि सन्चालनमा आएको कृषि विश्व बिद्यालयको भवनको शिलान्याश गरेका छन् । ५ करोडको लगानीमा १ सय ५ रोपनीमा निर्माण हुने उक्त भवनको शिलान्यास प्रचण्ड, प्रतिनीधिसभा सदस्य राजेन्द्रकुमार राई र विश्वविद्यालयका उप–कुलपति ईश्वरीप्रसाद ढकालले संयुक्त रुपमा गरेका हुन् ।

वैशाख ९ गते एकीकृत पार्टी घोषणा

त्यसैगरी ‘प्रचण्ड’ले आगामी वैशाख ९ गते विशाल जनसमुदायको अगाडि एकीकृत पार्टीको घोषणा हुने दाबी गरेका छन् । उनले एकीकृत पार्टी घोषणाको विषयमा बुधबार प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग बैठक बस्ने तयारी गरिरहेको बताए। दुई कम्युनिस्ट पार्टीलाई एकता गर्ने उद्देश्यले नै केपी र आफूले हस्ताक्षर गरेर पार्टी एकता संयोजन समिति गठन गरेको उनको भनाइ छ ।

‘वैशाख ९ गते विशाल जनसमुदायका अगाडि एकीकृत पार्टीको घोषणा गरेर देशलाई नयाँ आर्थिक विकासको युगमा लैजान समाजवादको नयाँ युग, सामाजिक न्याय र विकास केन्द्रको निर्माण गर्नेछौं’, प्रचण्डले भने ।
नेपाल पर्यटनको खानी भएकोले पर्यटक भित्र्याएर अबौं रुपैयाँ नेपाल भित्राउन सकिने उनको दाबी छ । उनले भने, ‘८-९ वर्ष भित्र नेपाललाई तिव्र विकास भएको देश बनाउन सकिन्छ । अहिले वामपन्थी सरकारले अवसर पाएको छ र यसलाई सदुपयोग गर्नुपर्छ।’

Follow Us

Facebook

Twitter

© Copyright by NayaBato
सम्पर्क [email protected]
Scroll Up