सर्वेन्द्र खनाल नेपाल प्रहरीको नयाँ आईजीपी बन्ने लगभग पक्का

काठमाडौं, २७ चैत- नेपाल प्रहरीको नयाँ प्रमुख प्रहरी महानिरीक्षक (आईजीपी)मा डीआईजी सर्वेन्द्र खनाल नियुक्त हुने सम्भावना बढेको छ।

लोकान्तरको सम्पर्कमा आएको सिंहदरबारस्थित एक उच्च स्रोतले प्रहरी प्रमुख नियुक्तिमा वरीयता नमिचिने बतायो । आईजीपीका लागि योग्य बहालवाला डीआईजीहरूको वरीयतामा खनाल सबैभन्दा अघि छन् ।

‘ठ्याक्कै निर्णयमा पुग्न बाँकी छ, तर वरीयता मिच्ने सोचाइमा सरकार छैन, अन्यथा केही नभएमा सर्वेन्द्र खनाल नै आईजीपी बन्नेछन्,’ स्रोतले लोकान्तर डटकमसँग भन्यो ।

प्रहरी प्रमुखका लागि डीआईजीहरू खनाल, रमेश खरेल र पुष्कर कार्की दौडमा छन् ।

प्रहरी प्रमुखकै विषयमा निर्णय लिन केहीबेरमा प्रधानमन्त्री केपी शर्मा ओली, सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र गृहमन्त्री रामबहादुर थापा बादलबीच छलफल हुँदैछ ।

उक्त छलफलपछि सम्भवत: आजै मन्त्रिपरिषद् बैठक बसी नयाँ प्रहरी प्रमुख नियुक्त गर्ने सम्भावना छ । बहालवाला आईजीपी प्रकाश अर्याल बुधबार सेवानिवृत्त हुँदैछन् ।

आईजीपी अर्यालसँगै बहालवाला एआईजीहरूले पनि एकसाथ अवकाश पाउन लागेकाले डीआईजीबाटै नयाँ प्रहरी प्रमुख चुन्नुपर्ने अवस्था आएको हो ।

Follow Us

Facebook

Twitter

© Copyright by NayaBato
सम्पर्क [email protected]
Scroll Up