नेपालकै पहिलो वैज्ञानिकले बनाएको ‘बिर गन’ ३०००० डलरमा बिक्रि, कसरि पुग्यो अमेरिकामा? (भिडियोसहित)

काठमाडौँ : विज्ञान र प्रविधिको युगसँगै अनेकौँ आविष्कारहरू भैरहेका छन् । याद गर्नुभएकै होला कि, हरेक अनुसन्धान होस् या आविष्कार- कहिले ‘अमेरिकाको वैज्ञानिक’ त कहिले ‘जापानको अनुसन्धानकर्ता’ भनेर सुनिन्छ।

तर ‘नेपालको वैज्ञानिक’, ‘नेपालको अनुसन्धानकर्ता’ भनेर कतै देख्नु वा सुन्नुभएको छ?

गेहेन्द्र शमशेर नेपालको पहिलो वैज्ञानिक हुन। बि.सं.१९२८ पुसमा भारतको कोलकत्तामा जन्मिएका ‘गेहेन्द्र शमशेर जबरा’ नेपाली शाहीसेनाका जर्नेल थिए।

तत्कालीन राणाकालको तेश्रो प्रधानमन्त्री ‘महाराजा बीर शमशेर जबरा’का जेठा छोरा थिए गेहेन्द्र। उनलाई आधिकारिक रूपमै नेपालको पहिलो वैज्ञानिक भनेर चिनिन्छ।

घरमै अङ्ग्रेजी प्रशिक्षकसँग केहि कुरा सिकेका गेहेन्द्रले नेपालको पहिलो विध्यालय ‘दरबार हाइ स्कुल’मा पढ्न थाले। त्यहाँ पढ्ने क्रममा उनको रचनात्मकता, बोल्ने कला अनि गीत-सङ्गीतमा रुची अनि खेलकुदमा रुची देखेर सबैजना छक्क पर्थे।

दुनियाका नामी वैज्ञानिकहरू जस्तै उनले पनि अरूको कामको प्रशंसा गर्नेभन्दा बढि आफैले नयाँ र नवीन कुराहरूको रचना गर्ने गर्थे।

बि.सं.१९४२ मा उनको पिता प्रधानमन्त्री भएपछि उनलाई सानै उमेरमा नेपाली सेनाको हातहतियारको मुखिया बनाइदिएका थिए, जसले गर्दा उनले सुनौलो अवसर चाख्न पाए। उनले यस अवसरको सही सदुपयोग गरी नेपालको हातहतियारको क्षेत्रमा थुप्रै योगदान दिए।

उनले सेनाहरूको लागि चाहिने सर-सामान तथा हात-हतियारहरूलाई विदेशबाट आयात गर्नुको सट्टा यहिँको श्रोतलाई प्रयोग गरेर यहिँ नै निर्माण गर्ने गर्थे। उनले त्यतिबेला पनि जमल, सुन्दरीजल, बालाजु तथा भोजपुरको मेघचन भन्ने ठाउँहरूमा नेपालकै पहिलो लघु जलविध्यूत, पानीघट्टाबाट चल्ने चामल कुट्ने मिल, हावाबाट चल्ने पानी तान्ने मोटर जस्ता थुप्रै आविष्कारहरू गरेका थिए।

बि.सं.१९६५ मा उनले ब्रिटेनबाट ‘फोर्ड कम्पनी’को कार आयात गरेर त्यसको हरेक पार्टपुर्जाको अध्ययन गरे, आफैले बनाउनको लागि। उनले त्यस कारको पुरै पार्टपुर्जा फुकाले र फेरि जस्ताको तस्तै गरेर जोडिदिए।

साथै उनले आफ्नै कार पनि बनाएका थिए। उनले त्यो कार तत्कालीन राजा पृथ्वी बीरबिक्रम शाहदेवलाई उपहार दिएका थिए।

त्यतिबेला नेपालका सेनाहरूले १ नाले राइफल मात्रै चलाउँथे। तर उनले २ नाले राइफलको आविष्कार गरे र त्यसलाई ‘गे-राइफल’ (गेहेन्द्रको ‘गे’) नाम दिए। फेरि उनले २ नाले बन्दुकको आविष्कार गरे र त्यसलाई आफ्ना पीताको नामबाट ‘बिर-बन्दुक’ नाम दिए।

त्यति मात्रै कहाँ हो र, उनले फेरि नयाँ मोडेलको तोपको आविष्कार गरे र त्यसलाई आफ्ना हजुरबुवा ‘धीर शमशेर’को नामबाट ‘धीर-तोप’ नाम दिए।

उनका यस्ता कामले राणाहरू खुसी थिए। जब देव शमशेर जबरा प्रधान मन्त्री बने, उनले गेहेन्द्रलाई जापानी प्रविधिको जासुसी गर्न जापान पठाए। जापानबाट फर्किएपछि उनले त्यहाँकै प्रविधिमा आधारित रहेर नयाँ हातहतियार हरूको निर्माण पनि गरे।

बि.सं.१९६३को दशैँको अवसरमा, आफूले निर्माण गरेको पिस्तोल कोटको खल्तीमा राखेर चन्द्र शमशेरलाई देखाउन उनी सेतो दरबार गएका थिए। चन्द्र शमशेरलाई ज्यू गर्ने बेला निहुरिँदा उनको खल्तीबाट उक्त पिस्तोल खसेको थियो।

यहि कारण नै बि.सं.१९६४ मा उनको रहस्यमय मृत्यु भएको विश्वास गरिन्छ। गेहेन्द्र शमशेरको चर्चापरिचर्चाबाट जलेका चन्द्र शमशेरले नै उनको हत्या गरेको त्यतिबेला शङ्का गरिएको थियो। अहिलेसम्म पनि त्यसको रहस्य खुल्न सकेको छैन।

यसरी ३५ वर्षको कलिलो उमेरमै मृत्यु भएको युवा वैज्ञानिकको आविष्कारहरूलाई छाउनीको राष्ट्रिय सङ्ग्रहालयमा संरक्षण गरेर राखिएको छ।

कसरी पुग्यो नेपाली हतियार अमेरिकामा?
एक डकुमेन्ट्रीमा दावी गरिए अनुसार काठमाडौँको लगनस्थित पुरानो दरबारबाट ४३० टन हतियार सन् २००३/२००४ मा उठाएर अमेरिकाको न्युजर्सी लगिएको थियो। यो समाचार किन अहिलेसम्म गुपचुप राखियो ? को को संलग्न छन् यसमा ?

डेढ सय वर्षभन्दा पुरानो नेपाली राइफलहरु (भरुवा बन्दुक) अहिले अमेरिकामा करिब ३५० अमेरिकी डलर मूल्यमा किन्न पाइन्छ। ऐतिहासिक हातहतियारका सामाग्रीहरुको संकलक एवं बिक्रेता इन्टरन्यासनल मिलिटरी एन्टिक यूसएको साइटमा ऐतिहासिक हतियार विवरणसहित बिक्रीमा रखिएका छन्।

नेपालमा बनाइएका यी राइफलहरु तत्कालीन ब्रिटिश p-1853 enfield rifle musket मोडेलका बन्दुकहरु हुन्। यो मोडेलको बन्दुकहरुको महत्व किन छ भने यस्तै खाले बन्दुकहरु नै सन १८५७ को भारत विद्रोह (Indian mutiny) मा, सन् १८६० को सुरुवातमा भएको अमेरिकाको गृहयुद्धमा र अन्य तत्कालीन समयका प्रमुख लडाईंहरु जस्तै क्रिमियन युद्ध, न्युजिल्यान्डको युद्ध मा समेत प्रयोग भएको थियो।

नेपालको प्रथम वैज्ञानिक गेहेन्द्रशमशेरले बनाएको राइफल बिक्रीमा।

तत्कालीन ब्रिटिश सैनिक निर्देशनमा ती बन्दुकहरु नेपालमा बनेको अनुमान गरिएको छ। बन्दुक संकलनका सौखिनहरु, बारुदी बन्दुकबाट सिकार गर्न रहर गर्नेहरु, अमेरिकन सिभिल वारको प्रदर्शन गर्नेहरुका लागि यो बहुमूल्य सामाग्री हो।

सो वेबसाइटका अनुसार वेबसाइट प्रमुख क्रिस्चेन क्रेन्मरले २००३/२००४ मा नेपाल गएर नेपालको पुरानो हतियार खरखजानाघर लगन सिलखानाबाट हजारौं ऐतिहासिक हातहतियार फेला पार्न सफल भएका थिए।

त्यसमा ५० हजारभन्दा बढी बन्दुकहरु, अनगिन्ती खुकुरीहरु, राइफलका सङ्गिनहरु, १८० तोपहरु अनि गोलीगठ्ठाहरु थिए। सय वर्षभन्दा बढी थान्को लागेका ती हतियारहरु काम नलाग्ने गरी सडिसकेका थिए। ती बन्दुकहरु अहिले अमेरिकामा ल्याएर कुनै त्यतिकै अवस्थामा र कोही मर्मत गरी राम्रो पारेर बिक्रीमा राखिएका छन्।

क्रिस्चेन क्रेन्मरले नेपालमा गएर त्यो हतियार भन्डारन कसरी फेला पारे भन्ने बारे डकुमेन्ट्री पनि बनाएका छन्,

हेर्नुहोस् भिडियो :

Follow Us

Facebook

Twitter

© Copyright by NayaBato
सम्पर्क [email protected]
Scroll Up