दुई श्रीमतीलाई सहज ठान्ने समाज किन दुई श्रीमान राख्न दिंदैन ?

काठमाडौं। चर्चित बैंकर रवीना देशराज समकालीन समाज भन्दा बेग्लै सोच राख्ने ब्यक्तिका रुपमा चिनिन्छिन् । उनी बैंककी सफल सीईओ त हुँदैहुन्, लैंगिकताका विषयमा परम्परागत सोच विपरित धारणा राखेर र आफ्नो विकिनी तस्बिर सार्वजनिक गरेर पनि चर्चामा छिन् । अभिनेत्री प्रियंका कार्कीसँगै विकिनीमा उनको तस्बिर सामाजिक सञ्जालमा पोष्ट भएपछि त्यसले ठूलै चर्चा पायो । उनका छोरा आयुष्मान देशराज पनि अभिनेता हुन् । अभिनेत्री कार्की र आयुष्मान प्रेम सम्बन्धमा रहेका गसिपहरु पनि मिडियामा छाइरहन्छन् । सन्तान जन्माउन बिहे गर्नु नपर्ने बोल्ड धारणा राख्दै आएकी रवीना देशराजसँग प्रचलित सामाजिक ब्यवस्थाका बारेमा बिनु पोखरेलले गरेको कुराकानीः

लैंगिकता प्रकृति हो, तर लैंगिक हिसावले पूर्वीय समाजमा एउटा पक्ष दविएको र अर्काे पक्ष उन्मुक्त छ, किन ?

तपाईंलाई एउटा कुरा म सम्झाउँछु, महिलालाई शक्तिको रुपमा पुज्ने समाज यहि पूर्वीय समाज हो । उहिले मात्र होइन अहिले पनि सरस्वतीलाई विद्याकी देवी, अथवा ज्ञानकी भण्डार, भनेर पुजिन्छ । दुर्गा, महाकालीलाई शक्तिको प्रतीक, लक्ष्मीलाई ऐस्वर्यकी देवीका रुपमा पुज्ने समाज यहि हो । ती भगवान त्यसै भएका हुन् त ? हाम्रा ग्रन्थहरुमा कामुकता देखि प्रेम र मर्यादाका धेरै पात्र छन् । हामी तिनीहरुको मूर्तिमा पूजा गर्छाैं । तर, जीवनमा चाहिँ उनीहरुको चरित्रमाथि प्रश्न गर्छाैं । यस्तो गर्नु भएन । भगवान श्रीकृष्णलाई पूजा गर्ने तर, प्रेमलाई अवैध ठान्ने भूल गर्नु भएन । यो छुट किन भयो भने महिला सहन सक्छन् भन्ने आधारमा विधि र कानुनहरु बन्दै गए, त्यसै आधारमा अहिले यस्तो भयो । प्राकृतिक र पौराणिक मान्यता विपरितका कानुन लादिएको छ । म एक लाइनमा भन्छु– काम गर्ने कुरामा, धैर्यतामा, बोल्डनेशमा र प्रेममा महिलामा जति शक्ति पुरुषमा छैन ।

कानुनले अधिकार दिए पनि महिलाहरु त्यसको प्रयोगमा पछि छन्, किन त ?

हेर्नुस्, अधिकारले केहि हुन्न । जवसम्म उनीहरुलाई अधिकार प्रयोग गर्नु पर्छ र मभित्र मेरो पार्टनर सरह शक्ति छ भन्ने कुरा महसुस हुँदैन, तवसम्म कानुनी अधिकारले मात्रै केहि हुँदैन । किनकी समाजमा महिलालाई घरको काम पनि तैंले गर्ने हो, पाहुनालाई सत्कार पनि तैंले गर्ने हो, छोराछारी हुर्काउने पनि तैंले नै हो भनिएको छ । अनि कुन समयमा उसले संसार बुझ्ने र आफ्नो शक्ति चिन्ने ? त्यसमाथि घरबाट बाहिर निस्कन खोज्दा उसको नाममा त सम्पत्ति पनि छैन । तपाईंलाई साँचो कुरा भनौं, महिलाको नाममा सम्पत्ति मात्र हुने हो भने पनि ९० प्रतिशत महिला आफैं शक्तिमा आउँछन् । कानुन सानुन केहि चाहिंदैन ।

हरेक एक पुरुष महिला बाटै हुर्काइन्छन्, अनि किन सिकाउन सकेनन् आमाले ती छोरालाई विभेदमा नजान ?
हामीले सधैं समाज समाज मात्र भन्यौं । तर समाज भन्दा पहिलो खुट्किलो ब्यक्ति हो भन्ने सोचनौं । घरमा आफैंले हुर्काएको छोरालाई उ ब्यक्ति हो भन्ने सिकाएनौं, समाज मात्र सिकायौं । समाज सिकाउनासाथ उसले के सिक्यो भने समाजमा आफ्नो स्थान के छ भन्ने सिक्यो । छोरीलाई छोटो कपडा लगाएर हिंड्न मन छ भने छोरीले त्यसो गर्नु हुँदैन भन्यौं । छोरालाई छोटा कपडा लगाउन छुट छ भने छोरीलाई किन छैन मैले मेरो छोरालाई राम्रो संस्कार दिए सबै समस्या आफैं हराएर जान्छ ।

एकजना आफन्तसँग एकदिन कुरा गर्दैथिएँ । उहाँले एउटा ग्यादरिङमा हजुरवा, हजुरवाका तीनजना श्रीमती र छोराछोरी सबै जम्मा भएको भन्नुभयो । ल त्यहि ठाउँमा हजुरआमाका तीनजना श्रीमान जम्मा भएको भनौं त ? एउटा पुरुषका तीन श्रीमती एकै ठाउँ भेला हुनुलाई स्वाभाविक रुपमा लिने समाजले एउटी महिलाका तीन श्रीमान एकैठाउँ ग्यादरिङ गरेको पचाउन सक्छ ? पुरुषहरु खुला रक्सी, चुरोट खान्छन् । ल हामी खाउँ त, के भन्छ समाज ? अहिले जे जे भएको छ त्यो सबै महिलाले सहिदिने भएर हो । उसले तीनवटा ल्याउँदा, १०औं जनासँग सेक्सुअल रिलेशनमा रहंदा, चुरोटले डाम्दा पनि सहिदिए मात्र परीवार जमेको देख्ने, त्यसलाई नसहे परीवार विखण्डन भएको देख्ने ?

मनलागेको कुरा गर्नु, खुला हुनु भनेको संस्कार छोड्नु होइन । सबैले नियममा रहनु पर्छ । मेरा दुई छोरा छन् । मेरा छोरा धेरै नै सांस्कारिक छन् । विहान उठेर मामुको गोडा छुन आउँछन् । खान मन लाग्दा खाना बनाउन उनीहरु कहिल्यै मलाई गुहार्दैनन् । हामी समान काम गर्छांै । यौनिकताका विषयमा पनि उनीहरुलाई मैले सानैदेखि शिक्षा दिएकी छु । मलाई गर्व छ कि मैले सभ्य दुई पुरुष मेरो घरबाट हुर्काएकी छु । तिनले सभ्य समाज र विभेदरहित समाजको निर्माणमा भूमिका खेल्न सक्छन् ।

यौनिकताको कुरा गर्दा तपाईंको समाजिक संजालमा आएको एउटा फोटोबारे कुरा जोड्न मनलाग्यो । तपाईं र अभिनेत्री प्रियंका कार्कीले विकिनी लगाएको तस्बिर पोष्ट गर्नुभयो । त्यसप्रति आएका प्रतिक्रियाले कस्तो महसुस गर्नुभयो ?

तपाईंका प्रश्नले मलाई उत्साहित बनाइरहेको छ । सबै घटना हरुले मान्छेलाई सिकाइ नै रहेका हुन्छन् । चाहे दुःखद हुन् चाहे सुखद् । त्यो फोटो खासमा सामाजिक संजालमा मैले राखेको होइन । प्रियंकाले हालेकी हुन् । खासमा म त्यो झन्झट ब्यहोर्न चाहान्नथेँ । किनकी म यो पदमा रहेर कामले दुनियाँ बदल्न चाहन्थेँ । त्यति झिनो कुरामा आफूलाई नअल्झाउँ भन्ने थियो । मलाई थाहा थियो, नेपाली समाज खैरेनीहरुले विकिनी लगाएर फोटो खिच्दा बीचमा बस्न सक्छ । त्यहि फोटो सामाजिक सञ्जालमा पस्किन सक्छ । तर, त्यस्तै तस्बिर नेपाली महिलाले पोष्ट गरे भने मुख बाउँछ । यसलाई जसले नकारात्मक रुपमा टिप्पणी गरे उनीहरुको बुझाईको लेभल हो त्यो । यो घटनाले मलाई समाजको अर्को रुप पनि देखाइदियो । समाजमा संस्कार नपाएर हुर्केका मान्छे मात्र छैनन्, बुझेका मान्छे पनि छन् । त्यहाँ यस्ता कमेन्ट पनि आए कि तपाईं यति स्लिम हुनुभएछ, त्यो दौडधुपमा पनि आफूलाई मेन्टेन गर्न सक्नुभएको रहेछ भने । कति पुरुष साथीले यसका लागि कहिले समय मिल्छ भनेर सोध्नुभयो । कसैले एक्लै जानु भएछ खबर गरेर जानुभएको भए हुन्थ्यो भन्नुभयो । त्यसले लाग्यो समाजमा संस्कारमा हुर्केका र समाज, दुनियाँ बुझेका मान्छे पनि छन् । अहिले पनि भन्छु– हरेक कुरालाई लैंगिकताको नजरबाट मात्र नहेरौं । मेरो छोरोले मलाई विकिनीमा देखेर केहि भन्दैन । बरु कुनमा हजुरलाई सुहाउँछ भनेर ड्रेस खोज्छ, यो लगाउनुस् भन्छ । कपडा लगाउनु, मेकअप गर्नु, राम्रो हुनु, अरुका लगि होइन । आफ्ना लागि हो । म मेरो कुरामा कम्फर्ट छु भने अरुलाई किन चासो ? कुनै छोरीलाई हाफ पाइन्टमा कम्फर्ट लाग्छहोला । उसले त्यस्तो लगाएर केटालाई आउ, छोउ भनेको त होइन नि ।

अर्को कुरा, पुरुषहरुले झर्नामा छाती थापेर नुहाएको फोटो चाहिँ कुल हुने, त्यस्तो तस्बिर खिच्न कसरी समय निकाल्नु भयो भनेर सोध्ने । महिलाको नुहाएको फोटोमा चाहिँ किन तुच्छ कमेन्ट गर्ने ? पुरुषजस्तै महिला पनि प्रकृतिको क्रिएसन हो भन्ने सत्य कुरा बुझ्नु पर्यो नि । यसको जरो भनेकै हामीले छोरो हुर्काउँदा संस्कार दिन सकेनौं । अब हरेक आमाले बुझ्नु पर्छ– छोरीलाई होइन हरेक छोरालाई संस्कार सिकाएर समाज बदलौं ।

महिलालाई सुन्दरताको प्रतीक मानेर त्यसलाई एक्सपोज गर्नु हुँदैन भन्ने मान्यताले पो काम गरेको हो कि ?

हो महिला सुन्दर हुन्छन्, तर सुन्दर देख्ने नजर त पुरुषको हो नि । सुन्दर हुँदैमा महिला बोल्ड हुँदैनन्, ब्रिलियन्ट हुँदैनन् भन्ने होइन । महिलामा यो सवैकुरा हुन्छ । सबैकुरा एकैपटक हुनसक्ने भनेकै महिला हुन् । त्यो पुरुष हुन सक्दैन । छोरामा संस्कार र छोरी आफू सक्षम भएपछि समाज त्यसै बदलिन्छ ।

तपाईंले सन्तान जन्माउन विवाह गर्नु पर्दैन भनेर वकालत गर्दै आउनु भयो । यो अवस्थासम्म आइपुग्न के कस्ता चुनौती खेप्नु भयो ?

पहिला पहिला नर्स भएर राती काम गर्नु, होटलको टेवल पुछेर कमाइ गर्नेहरुलाई कति गाह्रो थियोहोला सोच्नुस् त ? तर, आज उहाँहरु होटेलको मालिक हुनुभएको छ । हस्पिटल खोलेर सेवा दिनुभएको छ । त्यो दुःख खपेर अहिलेका पुस्तालाई तपाइँले भने झैं राजमार्गनै बनाउनु भयो । कति धेरैलाई रोजगारी दिनुभएको छ । त्यस्तै हो, एउटा ठाउँमा पुग्नलाई त्यसको बेस चाहिन्छ । मसँग पनि जीवनका यस्तै सिकाई छन् ।

तर मलाई एउटै कुराले सधैं दुख्छ कि, महिलाको सक्षमता पछाडि यो समाजले एउटा पुरुष ल्याएर जोडिदिन्छ । अरुको के कुरा ? राष्ट्रपतिकै कुरा गरौं न । देशको प्रमुख स्थानमा पुगेको ब्यक्तिलाई पनि कसैकी श्रीमती भएका कारण मात्रै त्यहाँ पुगेको भनेर जोडिदिने । यो सोचाईको दरिद्रता हो ।

भनेपछि समाजबाट विभेद हटाउन हरेक एउटी आमाको प्रयास चाहिन्छ भन्नुभएको हो ?

हो, आमाले छोरा हुर्काउँदा यौनिकताको बारेमा शिक्षा दिनुपर्यो । आफूले जे भोगेको छ, त्यसबाट सिकेको कुरा त छोरालाई सिकाउनु पर्यो नि । खुला ठाउँमा शिवलिङ्गलाई छोएर, सुम्सुम्याएर धोएर पूजा गर्न सक्नेले घरमा छोरासँग लिङ्गको आयामबारे किन नसिकाउने ? जब उसले घरमा आमाबाट आफ्ना जिज्ञासा मेटाउँछ, तव ठूलो भएपछि महिलामाथि नराम्रो ब्यवहार गर्नै सक्दैन ।

त्यहि आमाले हुर्काएको छोरा वलात्कार गर्न पछि नपर्ने तर, छोरी आज्ञाकारी किन हुन्छन् त ?

मान्छे त प्रकृतिको एउटा भेहिकल मात्र हो । जस्तोसुकै मान्छे भए पनि एकपटक उसमा यौन संवेदना त आउँछ नै । आमा बाबुले नसिकाए पनि आउँछ । आमा बाबुले नै सिकाएर हुर्काएकोमा सभ्य रुपमा यौनलाई प्रयोग गर्ने चेतना हुन्छ । यौनलाई रहस्यको विषय बनाएर दवाएर राख्ने परिवारमा हुर्केकोमा त्यो विष्फोट हुन्छ । डोकोले हावा छेकेर छेकिन्छ र ? कहिँ न कहिँबाट उसले सिक्छ आफैँ । अनि त्यो बेला उसले गल्ती पनि गरिसक्छ । यहि कुरा बुझ्न नसक्दा बलात्कारी, ड्रगिष्ट र बाटोमा केटी जिस्क्याएर हिंड्ने हुन्छन् । अब छोरी किन त्यस्ता भएनन् भने उनीहरुलाई दमित बनाइएको छ र जे पर्छ भोग्नुपर्छ भन्ने सिकाइएको छ । त्यसैले घरमा बाबु आमाले नै यौन शिक्षा दिनुपर्छ भन्छु म ।

महिला झन बोल्ड हुँदै गएपछि परिवारमा बिखण्डन आइरहेको छ भन्छन्, हो त ?

मेरा एकजना आफन्तसँग एकदिन कुरा गर्दैथिएँ । उहाँले एउटा ग्यादरिङमा हजुरवा, हजुरवाका तीनजना श्रीमती र छोराछोरी सबै जम्मा भएको भन्नुभयो । ल त्यहि ठाउँमा हजुरआमाका तीनजना श्रीमान जम्मा भएको भनौं त ? एउटा पुरुषका तीन श्रीमती एकै ठाउँ भेला हुनुलाई स्वाभाविक रुपमा लिने समाजले एउटी महिलाका तीन श्रीमान एकैठाउँ ग्यादरिङ गरेको पचाउन सक्छ ? पुरुषहरु खुला रक्सी, चुरोट खान्छन् । ल हामी खाउँ त, के भन्छ समाज ? अहिले जे जे भएको छ त्यो सबै महिलाले सहिदिने भएर हो । उसले तीनवटा ल्याउँदा, १०औं जनासँग सेक्सुअल रिलेशनमा रहंदा, चुरोटले डाम्दा पनि सहिदिए मात्र परीवार जमेको देख्ने, त्यसलाई नसहे परीवार विखण्डन भएको देख्ने ?

त्यो घर, घर नहुने अनि महिलाले बरु एक्लै बस्छु भन्दा परिवार भड्किएको भन्ने ? अब महिला हरुले पनि आफ्नो शक्ति थाहा पाए । अब त्यसैगरी सहंदैनन् । जो आर्थिक रुपमा सक्षम छन् दवावमा रहन्नन् । त्यसो हुनु समाज विग्रिएको होइन । बिग्रिएको समाजको रुप देखिएको मात्र हो । हिंसामा पुरुष छन् भने पनि त्यहि हो । ल न, म दुईटा श्रीमान राख्छु भन्छु । मान्छ त समाज ? तर हामी त्यसो गर्दैनांै । गर पनि भन्दैनौं । महिला र पुरुषमा फरक सामाजिक सोचाई हुनु भएन भनेको मात्रै ।

यसो सोचौं न, दुईजना एक हुने भनेको दुईटाको खुशी जोड्दा झन् खुशी हुन सकिन्छ कि भनेर हो नि । स्वतन्त्रता मार्न त होइन । श्रीमान श्रीमती हुनुहुन्छ तर बोलचाल छैन । दुईतिर फर्केर सुत्नुहुन्छ । अर्को एक्लै भएको मान्छे गीत लगाएर नाच्दै बस्छ, खुशी हुन्छ । स्वतन्त्रताले हो नि खुशी ल्याउने । अचेल म सुन्छु–, अहिले त धेरै परीवारमा महिला, पुरुष दुबै कामकाजी छन् । केटाले म आज डिनर बाहिरै गरेर आउँछु भन्यो भने, केटी पार्टनरले पनि हस् मेरो पनि पार्टी छ आउन ढिलो हुन्छु है भन्छे रे । अनि त्यो पुरुष पार्टनर ढक्क हुन्छ रे । उसले गरुन्जेल काम साथीले गर्दा नकाम भन्ने हुन्छ ? भन्नुस् त ।

एक्लै बच्चा हुर्काउदै बैंकको उच्च पदमा आइपुग्नु भएको छ । तपाईं यस्तो ब्यस्त हुँदाहुँदै पनि यति खुशी देखिनुहुन्छ । के कुराले हो मान्छेलाई खुशी बनाउने ?

हरेकका लागि खुशी हुने कुरा फरक फरक हुन्छ । सानो छंदा खेल्न जान पाउने कुरा, नयाँ जामा लगाउन पाउँदा खुशी लाग्थ्यो । अलि ठूलो भएपछि सिनेमा हेर्न जाँदा खुशी लाग्थ्यो । विहे गरेपछि बच्चा जन्मंदा, उसलाई हुर्काउँदा खुशी भएँ । बीचमा तलव बढ्दा खुशी मिल्थ्यो । तलवले घडी किन्दा उस्तै खुशी । पहिलोचोटी मारुती किन्दा खुशीको सीमा भएन । तर अहिले मसँग सबैथोक छ । अहिले र्याफो गाडीले पनि मेरो त्यो मारुतीको जति खुशी दिन सक्दैन । फष्ट टाइम पेपरमा मेरो बारेमा थोरै लेखिंदा पनि ओहो खुशीले कति पटक पढेँ । तर अहिले कहाँ के छापिएको छ यसो हर्यो, सकियो । अलिकति खुशी पनि दिंदैन । के छैन मसँग ? तर केहि कुराले खुशी दिंदैन । यहिले म गाडीमा घर फर्कंदै गर्दा बाइकमा या साइकलमा भएको कसैलाई या भारी बोकेर फर्कंदै गरेको कसैलाई स्माइलले के छ, ठीक छ ? भनेर सोध्न पाउँदा, इसाराले उसको मन तानेर स्माइलमा ल्याउन पाउँदा कार किनेको भन्दा धेरै खुशी लाग्छ । त्यसैले हरेकलाई खुशी हुने कुरा फरक हुन्छ, समय अनुसार । मेरा खुशी हुने चिज झनै साना र सुन्दर छन् ।

Follow Us

Facebook

Twitter

© Copyright by NayaBato
सम्पर्क [email protected]
Scroll Up