‘हिम्मतवाली थिइन् मेरी छोरी, भगवानले चाँडै चुँडाइ लगे’

काठमाडौँ- अध्ययनमा जति अघि थिइन् उनी, मायाले परिवार, आफन्त र छिमेकीको मन पनि उत्तिकै जित्न सफल थिइन्।

कलिलै उमेरमा सेवा भाव, आँट, आत्मविश्वास र इमान उनका जीवन सिद्धान्त बनेका थिए।

डाक्टर बनेर मृत्यु चिहाइरहेका वा त्यसको जोखिममा परेका जीवन फर्काउने धोको थियो उनको।

बाँकी समय पनि त्योसँगै जोडिएका सामाजिक सेवामा आफूलाई समर्पित गर्न चाहना थियो।

आफ्नोभन्दा पनि अरुको खुसीमा आफूलाई समाहित गर्न मन पराउने टोखा- ५ की २१ वर्षीया दीपना उप्रेतीको त्यो धोको र चाहना कास्कीको मर्दी हिमालले अपत्यारिलो ढंगले खोसिदियो सँधैका लागि।

त्योसँगै टोखा नगरपालिकाकी वडासदस्य आमा कल्पना घिमिरे, बुवा ज्ञानीप्रसाद उप्रेतीको परिवार र उनको गाउँको खुसी र मुलुक विकासको एउटा चम्किलो तारा अस्ताएको छ, कहिल्यै नझुल्किने गरी।

मणिपाल मेडिकल कलेजमा एमबीबीएस चौथो वर्षको अध्ययनको तयारीमा थिइन् उनी।घुम्नु, खेल्नु उनका सोख थिए।

केही दिनको छुट्टी थियो। पाँचजना साथीसँगै बुधबार मर्दी हिमालतर्फ लागेकी थिइन् उनी। जति माथि पुग्थिन्, त्यत्ति नै खुसी हुन्थ्यो उनको मन।

पदयात्राको गन्तव्यमा पुगेपछि सबैभन्दा पहिले दीपनाले बुवालाई फोन गरेर त्यो खुसी साटेकी थिइन्, ‘बावा, म ठीक छु, साथीहरुको अघिअघि हिँडिरहेको छु, निकै रमाइलो थियो।’ बुवाले सम्झाएका थिए, ‘साथीलाई छोडेर एक्लै नहिँडनू, समूहमै हिँडनू। तिमी हराउन सक्छौ।’

छिटो हिँड्ने बानी उनको, दीपना बोल्दै अघि हिँड्न थालिन् तर एकैछिनमा उनको आवाज पातलियो। बास बस्ने ठाउँ पुगिसकिन् कि भन्ने ठम्याइ साथीहरुको थियो।

बास बस्ने ठाउँ पुग्दा दीपना थिइनन्, रात छिप्पिसकेको थियो।

‍‍…

रातभरि उनको कुनै पत्तो लागेन। खोजखबर गर्न सकिएन। छोरी हराएको खबर पाएर काठमाडौँसम्म पुगिसकेको थियो।

बल्ल बिहानमात्र उनको खोजीमा उद्धार टोली उनले हिँडेको बाटो पछ्याउँदै उकालो चढ्यो।

दुर्भाग्य, दीपनालाई जीवित फेला पार्न सकिएन। उद्धार टोलीले आइतबार बिहान बासस्थलबाट केही टाढा ‘ट्रेकिङ रुट’ भन्दा करिब सय मिटर तल खोँचमा उनलाई मृतअवस्थामा फेला पार्‍यो।

आइतबार नै उनको मृत शरीर हेलिकप्टरमा काठमाडौँ ल्याइयो तर उनको माया र सम्झनाले परिवारसँगै टोखा डुब्यो।

सोमबार शहरको कोलाहल र धुवाँधुलो छिचोल्दै टोखा पुग्दा मलिनो अनुहारमा दीपनाको मृत्युलाई लिएर दुःख व्यक्त गर्दै थिए छिमेकी।

उनीहरुलाई यो घटना अपत्यारिलो लागिरहेको थियो।

घर पुग्दा परिवारका पूरै सदस्य गहिरो शोकमा थिए, बुवा ज्ञानी दिदीबहिनीबीच घेरिएकी पत्नी कल्पनालाई सान्त्वना दिन खोज्थे तर मन थाम्न नसकेपछि आफ्नै बोली बन्द गर्थे।

भगवान निष्ठुरी बनेकोमा पीडासँगै आक्रोश पनि देखिन्थ्यो उनको अनुहारमा।

‘अद्भुत माया गर्थिन् हाम्री छोरीले, उनले झुटो कहिल्यै बोलिनन्,’ आफन्तबीच दीपनालाई सम्झिए ज्ञानीले, ‘राम्रो काम गरेर लक्ष्य पूरा गर्ने सोच थियो उनको। त्यो काम गर्ने अनुमति दिएनन् भगवानले।’

आमा कल्पना छोरीलाई सम्झिन थालेपछि भक्कानिन थाल्थिन् र त्योसँगै ढाढस दिन पुगेका आफन्त र छिमकीले पनि डाँको छोड्थे।

‘हिम्मतवाली थिइन् मेरो छोरी। किनकि उनी जहिल्यै सत्य हुन्थिन्। हामीलाई पनि कमाण्ड गर्थिन् उनी,’ त्यही रुवाबासीमा कल्पनाले एक वाक्य मात्रै बोल्न सकिन्, ‘त्यस्तै मान्छेलाई छिट्टै चुँड्दा रहेछन् भगवानले।’

दीपनाको एकमात्र भाइ प्यारी दिदीको वियोगमा अझै विह्वल थिए।

सबैमा अघि, सधैँ अघि
अध्ययनमा सँधै प्रथम भएकी दीपना कान्तिपुर, जेम्स स्कुल हुँदै बुढानीलकण्ठबाट ‘ए लेबल’ सकेकी दीपना सँधै प्रथम भइरहिन्।

त्यतिमा मात्रै सीमित थिइनन् उनी। साहित्य सिर्जनामा पनि अब्बल मानिन्थिन्।

ठूली आमा दिव्या घिमिरेले सम्झिन्, ‘कविता प्रतियोगितामा पनि अघि नै थिइन्, पौडीदेखि दौड प्रतियोगितामा पनि अघि नै हुन्थिन् छोरी, उनको कला देखेर शिक्षकहरु पनि लोभिन्थे, अति माया गर्थे उनलाई।’

दीपनाले जुनसुकै विषय अध्ययन गरे पनि राम्रो गर्न सक्छिन् भन्ने विश्वास परिवारमा थियो।

हजुरआमा जीवन घिमिरेसँग आफ्ना छोरीलाई डाक्टर बनाउन नसके पनि नातिनी (दीपनालगायत)लाई डाक्टर बनाउने सपना थियो। सेवामा डाक्टरी पेशा सबैभन्दा उच्च लाग्छ घिमिरेलाई। सहिद नेत्र घिमिरेकी पत्नी तथा राजनीतिकर्मी जीवनको प्रभाव नातिनी दीपनामा नपर्ने कुरै भएन।

हजुरआमाको इच्छा आफ्नै ठानिन् दीपनाले र त्यसलाई पूरा गर्न पोखरा लागेकी थिइन् उनी।

सबैकी प्यारी
दीपना घरपरिवार र छिमेकी सबैकी प्यारी थिइन। मायाले उनलाई परिवारका सदस्यले ‘चेप्टी’ भनेर बोलाउँथे।

त्यो नाम सुन्दा दीपनाको अनुहार अझ बल्थ्यो। मायामा सीमितता पनि देख्दिन थिइन् दीपना।

घरको मात्रै जेठी छोरी थिइनन् दीपना काममा पनि परिपक्व थिइन्।

‘पढाइले गर्दा आठ वर्षदेखि उनी हामीसँग बस्न पाएकी थिइनन् तर बिहान बेलुका हामीसँग कुरा नगरी उनी निदाउन सक्दिन थिइन्,’ हजुरआमा जीवनले भनिन्, ‘आठ वर्षदेखि होस्टलमै छु, मलाई तपाईँहरुसँग बस्न मन छ एमबीबीएस सकेपछि पहिले घर आएर मज्जाले बस्छु अनि मात्रै एमडी गर्छु भन्थिन् उनी।’

दीपनाकै करले पछिल्लो ‘न्यू इयर इभ’ मनाउन सपरिवार पोखरा पुगेका थिए। मणिपालमा पनि दीपनाको प्रशंसा मात्रै सुनेका थिए उनीहरुले।

न्यास्रो मेटिएन भन्दै एक महिनाअघि तीन दिनमात्रै भए पनि घर आएकी थिइन् उनी, त्यही भेट अन्तिम थियो उनको परिवारका लागि।

ठूलो आमाकी छोरी डा. सोफिया दाहालसँग दीपनाको धेरै नै आत्मीयता थियो। सामाजिक काममा लाग्न र डाक्टर बन्न उनले पनि प्रेरणा दिन्थिन् दीपनालाई।

‘दीपना धेरै सहयोगी, मिलनसार र मायालु थिइन्,’ सोफियाले सम्झिन्, ‘उनको अभाव हाम्रो जीवनमा सधैँ खड्किने छ।’

साथीको भरोसा
हक्की स्वभावले गर्दा दीपनाका साथी पनि धेरै थिए। अन्यायमा बोल्न सक्ने क्षमता थियो उनीसँग।

दीपनासँग हिँड्दा वा डुल्दा उनका साथीले सुरक्षित अनुभव गर्थे। यसपालि मर्दी हिमालको पदयात्रामा जानभन्दा घर आउन मन थियो।

मायासँगै दीपनाको त्यही निडर स्वभावले गर्दा साथीहरुले उनलाई आफैँसँग लगेका थिए। आफन्त डा. सवनम संग्रौलाले सम्झिन्, ‘उनी भौतिकरुपले त हामीबाट हराइन् तर उनको माया र सम्झना सँधै अमंर रहने छ।’

Follow Us

Facebook

Twitter

© Copyright by NayaBato
सम्पर्क [email protected]
Scroll Up