शंकास्पद खाम खोल्दा अमेरिकी राष्ट्रपति ट्रम्पकी बुहारी अस्पताल भर्ना

नयाँदिल्ली– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी बुहारी बेनेसा ट्रम्प आफ्ना पतिको नाममा आएको शंकास्पद खाम खोल्दा अचानक बिरामी परेकी छन्।

पति डोनाल्ड ट्रम्प जुनियरको नाममा आएको शंकास्पद पत्र खोल्दा खामभित्र रहेको सेतो पाउडरका कारण बेनेसा ट्रम्प अचानक बिरामी परेकी हुन्।

सोमबार भएको सो घटनापछि उनलाई अस्पताल भर्ना गरिएको न्युयोर्क प्रहरीले जनाएको छ। उनले न्युयोर्कस्थित आफ्नो निजी निवासमा पतिको नाममा आएको शंकास्पद खाम खोल्दा उक्त घटना भएको न्युयोर्क प्रहरीका सूचना विभागका आयुक्त सार्जेट ली जोन्सले बताए।

तर सो पाउडरबाट बेनेसा खासै प्रभावित नभएको आयुक्त जोन्सले दाबी गरे। स्थानीय सञ्चारमाध्यमहरुले प्रहरीले खाममा भएको पाउडरसम्बन्धी कुनै पनि तथ्य सार्वजनिक नगरेको बताएका छन्। घटनापश्चात् सो पाउडरलाई अनुसन्धानका लागि प्रयोगशाला पठाइएको छ। हेर्दा सो पाउडर मकैको पिठोजस्तो छ।

शंकास्पद खाम खोलिसकेपछि बेनेसाले खोक्न सुरु गरेकी थिइन्। त्यसपछि शरीर काम्न थालेपछि उनले आपतकालीन टेलिफोन सेवा ९११ मा फोन गरेकी थिइन्।

घटनापछि आज बिहान डोनाल्ड ट्रम्प जुनियरले ट्विट गर्दै श्रीमती तथा आफ्ना सन्तानहरु सुरक्षित रहेको बताएका छन्। उनले ट्विटमा लेखेका छन्, ‘यो कार्य घृणाजनक छ। केही व्यक्तिहरुले आफ्नो विरोधी विचार व्यक्त गर्न यस्तो गलत तरिका अपनाउने गर्दछन्।’

डोनाल्ड ट्रम्प जुनियर र बेनेसाबीच सन् २००५ मा विवाह भएको थियो। उनीहरुका ५ सन्तान छन्। विवाहअघि बेनेसा मोडलिङ गर्थिन्। – लाइभनेपाल

Follow Us

Facebook

Twitter

© Copyright by NayaBato
सम्पर्क [email protected]
Scroll Up