एमाले माओवादी कुरा मिल्यो: प्रचण्ड अध्यक्ष र ओली प्रधानमन्त्री, पार्टीको नाम नेकपा

काठमाडौं- लामो अनिश्चिय र आशंकाबीच नेपालका दुई ठुला कम्युनिष्ट पार्टीबीच एकताको टुंगो लागेको छ। दुई पार्टीका नेताको पदीय व्यवस्थापनको विषय टुंगिएसँगै अब एकताको औपचारिक घोषणा मात्रै बाँकी रहेको छ आजको अन्नपुर्ण पोष्टले समाचार लेखेको छ ।

एकतालाई औपचारिकता दिन मात्रै बाँकी दुई वामका रहेको नेताहरुले बताएका छन् । पदीय बाँडफाँटको औपचारकि टुंगो बुधवार बस्ने एकता संयोजन समितिको बैठकले गर्ने भएको छ ।

आलोपालो नेतृत्व

सोमबार बिहान ललितपुर मानभवनस्थित माओवादी निकट व्यवसायी शारदाप्रसाद अधिकारीको घरमा भएको केपी ओली पुष्पकमल दाहालबीचको दुई घण्टा लामो वार्तामा प्रधानमन्त्रीका रुपमा ओलीले सरकारको र अध्यक्षका रुपमा दाहालले पार्टीको नेतृत्व गर्ने सहमति भएको हो ।

यस कुरालाई माओवादी केन्द्रका नेताहरूले पनि पुष्टि गरेका छन् । प्रचण्डनिकट एक नेताले भने, ‘आइतवारको बैठक सकारात्मक रह्यो । दुई नेताले अध्यक्ष र प्रधानमन्त्री आलोपालो गर्ने सहमति भएको छ । यसलाई औपचारिकता दिन बुधवार एकता संयोजन समितिको बैठक डाकिएको छ ।’

दुवैजना अध्यक्ष !

दुवै अध्यक्षको छलफलपछि दाहाल ललितपुरको मानभवनमै नेताहरु जनार्दन शर्मा र रामबहादुर थापासँग छुट्टै छलफलमा जुटेका थिए । शर्माले झापा पुगेर दुवै नेता अध्यक्ष रहने गरी पार्टी एकता गर्ने सहमति भएको खुलासा गरेका छन् ।

मंगलवार ओली र दाहालबीच फेरि एक चरण ‘वान टु वान’ छलफल हुने भएको छ । सोमबार भएको सहमति अनुसार पार्टीमा दुई ‘कोर्चियर’ रहने छन् । पहिलो साढे दुई वर्ष ओलीले सरकारको नेतृत्व गर्ने छन् । त्यही समयमा दाहालले पार्टीको नेतृत्व गर्ने भएका छन् ।

‘सोमबार दुई अध्यक्षको बैठकले पार्टी एकतमा रहेको संशय र पदीय बाँडफाँटबारे सबै कुरा अन्त्य गरेको छ । पार्टी एकताको घोषणा पनि अब केही दिनभित्रै हुन्छ ।’

यसरी मिल्यो कुरो

दुवै पाटी एकताका लागि पदीय भागवन्डा पेचिलो विषय बन्दै आएको थियो । पटक-पटक दुई अध्यक्षबीचको भेटघाट पनि एक महिना यता ठोस निष्कर्षमा पुग्न सकेको थिएन ।

पदीय बाडँफाँटका विषयमा दुवै अध्यक्षलाई जिम्मा दिएकाले विभिन्न विकल्पमा छलफल भएको नेताहरुले बताएका बताउँदै आएका थिए । दुवै नेता अध्यक्ष बन्नेसम्मका विकल्पमा पनि छलफल भएको छ । त्यस्तै आलोपालो नेतृत्वको विषयमा कुरा भएपनि त्यसमा दुवै सहमति नजिक पुग्न सकेका थिएनन् ।

एमालेले अध्यक्ष पद नछाड्ने अडान राख्दै आएको थियो । माओवादीले पनि अध्यक्ष नपाएसम्म पार्टी एकतामा नजाने अडान राखेको थियो । एमालेका उपाध्यक्ष वामदेव गौतमले केही दिन अघि मात्रै दुई अध्यक्षबीच भएको भेटमा २०४७ सामा मार्क्सवादी र मालेबीच एकता हुँदा ल्याएको प्रस्ताव अगाडि सारेका थिए । जसअनुसार एक अध्यक्ष र शक्तिशाली महासचिव पद रहने प्रस्ताव अगाडि सारिएको थियो ।

Follow Us

Facebook

Twitter

© Copyright by NayaBato
सम्पर्क [email protected]
Scroll Up