कुनै बेला बेलायतलाई रु ५७ करोड ६० लाख दिएर सहयोग गर्ने नेपाल अहिले कसरी माग्ने भयो ?

नेपाल सरकारका तर्फबाट चन्द्र समशेरले बेलायतलाई ३६ हजार पाउण्ड अर्थात ५७ करोड ६० लाख रुपैयाँ बराबरको आर्थिक सहयोग गरेका थिए । अहिले नेपालले बेलायतसँग हात थापिरहेको छ, किन ?
सन् १८१४, अक्टोबर २० को दिन एउटा डरलाग्दो इतिहासको जन्म भयो । नेपालविरुद्व इष्ट इण्डिया कम्पनीले युद्व घोषणा गरेको दिन हो त्यो ।


पश्चिमी मोर्चाहरुमा झण्डै २ वर्षसम्म घमासान युद्व भयो । त्यसपश्चात २ डिसेम्बर १८१५ मा नेपाल र इष्ट इण्डिया कम्पनीवीच एउटा सन्धि भयो । सो सन्धिमा हस्ताक्षर गरिएको मितिको सन्र्दभमा इतिहासकारहरुका वीचमा एकमत नदेखिएता पनि त्यही सन्धिलाई सुगौली सन्धिको नामले चिनिन्छ ।

सन्धि पश्चात आदिवासी नेपालीहरु बेलायती सेनामा भर्ती भई बेलायतको साम्राज्य विस्तार गर्दै आइरहेको अहिले २ सय वर्ष भइसकेको छ ।
राणाहरुले नेपालका गाउँहरुमा हुकुमी उर्दी लगाएपछि तालुकदार र मुखियाहरु मार्फत कटुवाल घोकाउँदै गल्लावालको साथमा भर्ती पठाउँथे । विशेष गरेर आदिवासी जनजातिका लक्का जवान छोराहरु बाध्य भई गल्लावालसँग भर्ती हुन जान्थे ।
पहिलो विश्वयुद्वको समयमा नेपालको जनसंख्या जम्मा ५६ लाख थियो । २ लाखभन्दा धेरै गोर्खाली नेपालीहरु बेलायती सेनामा कार्यरत थिए भने ५५ हजारभन्दा धेरै गोरखाली सेनाहरु युद्वभूमिमा परिचालित थिए ।
त्योबेला नेपालमा युवाहरुको जनसंख्या ९ लाख थियो । २ लाख आदिवासी युवाहरु युद्धमा परिचालित भएका थिए । २ सय वर्षदेखि अहिलेसम्म बेलायत र एकात्मक राज्य नेपालले आदिवासीको दोहोलो काढ्नसम्म काढे ।
यसरी उनीहरुको पहिचान गुमनाम हुँदै गयो । अहिले भिखारीजस्तो पहिचान खोज्नुको पीडा थाम्नु परेको छ ।
बेचिएका, हेपिएका लाहुरेहरुले अर्को देशका लागि युद्व लडे र पनि आफ्नो देशलाई गोरखा ब्राण्डले चिनाए ।

पुरुषोत्तम समशेर जबरा (श्री ३ वीर समशेरका पनाति) द्वारा लिखित ऐतिहासिक पुस्तक “श्री ३ हरुको तथ्य बृतान्त भाग २” मा उल्लेख गरेअनुसार पहिलो विश्वयुद्वको शुरुवातसँगै नेपाल सरकारले, सन् १९१४ सेप्टेम्बरमा गोर्खालीलाई लडाइमा मेसिनगन खरिदका लागि २० हजार पाउण्ड नगद, लत्ता कपडा र खाद्यान्न लगायतका जिन्सीहरु बेलायतलाई सहयोग गरेको उल्लेख गरेका छन् ।
१७ हजार पाउण्ड चन्द्र समशेरले बेलायतलाई सहयोग गरेको देखिन्छ । सन् १९१४ मा १ पाउण्डको मूल्य ९७ पाउण्ड वर्तमानमा देखिन्छ । नेपाल सरकारका तर्फबाट चन्द्र समशेरले ३६ हजार पाउण्ड अर्थात ५७ करोड ६० लाख बराबर आर्थिक सहयोग गरेको बुझिन्छ ।
एक सय वर्ष अगाडि बेलायतलाई आर्थिकलगायत अन्य समानहरु सहयोग गर्न सक्षम नेपाल, अहिले बेलायतसँग खाली हात थापिरहेको छ । यो कसको कारणले हो ? किन यति निरीह भयो नेपाल ? यसको जिम्मा कसले लिने ? यति लामो अवधिदेखि नेपाल राज्य चलाइरहेकाले यसको उत्तर दिने कि नदिने ?
राणा कालमा बनिएका सिंहदरबार, चीनले बनाएको संविधानसभा भवनमा उनीहरु सिंगौरी हान्दै डुक्रिइरहेका छन् । सन १९४७ नोभेम्बर ७ तारिख कालो सन्धि भयो बेलायत र इण्डियावीच ।
त्यही सन्धिले गोर्खालीहरुलाई कुल्चिरहे २००६ सम्म । त्यसको दुई दिनपछि सन् १९४७ साल ९ नोभेम्बरको दिन भयो त्रिपक्षीय सन्धि । र, लगभग २५ हजार गोर्खालीलाई अझै थिचिरहेका छन् ।

भनियो, बेलायती सेना सोसरह गोर्खालीलाई समान तलब, भत्ता, सुबिधा र पेन्सन दिइनेछ । कार्यान्वयन गरेन बेलायतले र खोजेनन् नेपालले आदिवासी लाहुरेहरुको पीडा । शुरु भयो गोर्खा आन्दोलन ।
दोस्रो विश्वयुद्वमा नेपालको जनसंख्या ६० लाखको हाराहारीमा थियो । २ लाख ५० हजारभन्दा धेरै गोर्खालीहरु बेलायती सेनामा कार्यरत थिए । गोर्खालीहरु अर्थात आदिवासी जनजातिका हजारौं हजार युवापुस्ताले बेलायतको साम्राज्य विस्तार गर्ने क्रममा आफ्नो ज्यान सर्मपण गरे ।
पहिलो विश्वयुद्व, दोस्रो विश्वयुद्व र ब्रुनाई युद्वमा मात्रै ४७ हजारभन्दा धेरैले ज्यान गुमाएको बेलायतसँग तथ्यांक छ । तर, गोर्खालीका लागि मिथ्यांक नै हो यो ।
दुई सय वर्ष लामो इतिहास निर्माण गरेका छन् बेलायती सेनामा लाहुरेले । सन् १८१५ हिजो बर्तमान थियो, आज इतिहास भइसकेकोछ । त्यो वर्तमान र इतिहासले गोर्खालीहरुलाई यहाँँसम्म डोर्‍यााउँदै ल्याइपुयायो । बाबु बाजेले दिएको बलिदान, रगत, पसीना र दुःखले खनेको बाटोबाट हिँड्दै गोर्खालीहरु यहाँसम्म आए । तर, आफैले खनेका बाटाहरुमा हिँड्न पाएनन्, ती अभागी वीर योद्धाहरुले ।
पहिलो विश्वयुद्द लडेका पूर्खाहरुले वीरगतिसंगै आफ्ना जीवनका सुख र दुःखहरु सबै लगेर गइसके । जिवित छैनन् कोही पनि यो धर्तीमा । बाँकी छन् उनीहरुका हाडखोरहरु । त्यो पनि एउटा अपुरो कथाजस्तो भइसक्यो ।

गाउँका पाखा बेंसीहरुमा घाइते अनुहारहरु असरल्ल रहे । आफ्नो घाउ उपचार गराउन पाएनन् र सकेनन् घाइतेहरुले । गोली लागेको घाउको दुर्गन्ध सुँघ्दै बाँच्न विवश भए, ओखलढुङगाका इन्द्रबहादुर राई ।
लडाइँबाट नफर्किएको आफ्नो श्रीमान बाबुराजा लिम्बूलाई जीवनको उतरार्द्वसम्म पर्खिरहिन् पाँचथर आङ्नाकी शान्तमाया लिम्बूले ।
यी यस्ता कथाहरु लेख्न कत्ति सजिलो छ हगि ? उनीहरुका वास्तविक भोगाइ र अलिखित इतिहासहरु, शक्तिमा रुपातरित अदृश्य ध्वनी भई सल्बलाइरहेको हुनुपर्छ । लाहुरे इतिहास यस अर्थमा एउटा खोजमूलक दर्दनाक पाटो भई उभिएको छ ।
सन २०१४ सेप्टेम्बर २३ देखि दुई सय बर्षको सेलिब्रेसन मनाइरहेको छ बेलायत र नेपाल सरकारले । बिभिन्न प्रकारका कार्यतालिकाहरु सार्वजानिक गरिसकिएको छ ।
अपि्रल महिना सन् २०१६ का दिन सुगौली सन्धिका नाममा अन्तिम समय तालिका तोकिएको छ । के कस्ता सम्झौता गर्ने हुन् नेपाल सरकारले गोर्खालीको नाममा त्यस दिन ? या त उही ऐ ऐ मा हस्ताक्षर गर्लान् ? नभन्न सकिन्न ।
किनभने आदिवासीहरु बेलायत र नेपालमा पहिचानविहीन भएका छन् । पहिचानविहीन अवस्थामा पुर्‍याउनेहरु समानताको नारा साथमा बोकी नेपाल राज्यलाई कागती निचोरेझैं निचोरिरहेका छन् ।

बेलायतमा स्वार्गबास हुन गइरहेका गोर्खालीहरुलाई दाहसंस्कार गर्न डोनेसन संकलन गर्नु परेको छ भने नेपालबाट भिसा शुल्क तिर्न र हवाई टिकटको आर्थिक व्यवस्था मिलाउन नसकेर हजारौंको संख्यामा बेलायत आउन सकेका छैनन् भूपू बृद्ध लाहुरेहरु । उनीहरु बेसाहारा भई बाँचेका छन् ।
हजाराैं को संख्यामा अंगभंग भए । युद्वमा हराएका गोर्खाली नेपालीहरु बर्मा, इटाली, फिजी, बेल्जियम, इण्डियाजस्ता देशहरुमा विस्थापित हुन पुगे । त्यही डरलाग्दो इतिहास निर्माण गर्ने क्रममा विश्वको सर्वोच्च पदक भिक्टोरिया क्रस १३ जना गोर्खाली नेपालीहरुले पाउन सफल भए ।
तिनै योद्वा वीर गोर्खाली भिसीहरुका बहादुरी र वीरताले नेपाल राष्ट्रलाई विश्वमा चिनाउन सफल भए । आदिबासी लाहुरे र भिसीहरुको कहिल्यै नमर्ने एउटा इतिहासको वास्तविक साक्षी हो यो ….. । गोर्खालीको देश, चोमोलुङ्गमा उर्फ सगरमाथा उभिएको देश । र, बुद्धको देशले मात्र नेपालको पहिचान स्वीकार हुन्छ ।
तर, नेपालको पहिचान स्थापित गराइरहेका नामहरु पहिचानविहीन र गुमनाम भएका छन् । गोर्खालीको रगत, पसीनामा बनाएको केक काटेर नेपाल सरकार र बेलायतले दुई सयौं बर्षको शतवाषिर्की मनाइरहेको छ ।
डरलाग्दो दुःखभित्र हाँसिरहेका छन् उनीहरु ।
साभार अनलाइनखबरमा प्रकाशित लेख”

Follow Us

Facebook

Twitter

© Copyright by NayaBato
सम्पर्क [email protected]
Designed by appharu.com
Scroll Up