माओवादी र नेकपा संयुक्तवीच आज पार्टी एकता हुदै

नयाँ बाटो,
काठमाडौं, असोज २५ । माओवादी केन्द्र र नेकपा संयुक्त बीच पार्टी एकता हुने भएको छ । आज दिउसो १ वजे बुद्ध नगर पार्टी प्यालेस ,बुद्धनगरमा दुई पार्टी वीच पार्टी एकताको घोषणा हुदैछ ।
संयुक्तको पोलिटब्युरो र केन्द्रीय समितिले एकता प्रस्ताव अनुमोदन गरिसकेकाले संयुक्तले माओ्वादी केन्द्रसाग पार्टी एकता गर्न लागेको नेकपा संयुक्तका अध्यक्ष गणेश शाहले जानकारी दिए । सैद्धान्तिक वैचारिक विषयलाई छलफल गर्दै सांगठनिक रूपमा सम्मानजक ढंगले व्यवस्थापन गर्ने गरी एकता गर्न लागिएको शाहले बताए । माओवादी केन्द्रका नेता अमिक शेरचनले नेकपा संयुक्तसँग एकता घोषणासभा आजै हुने जानकारी दिए ।

‘एकताका लागि सबैजसो विषयमा सहमति भएर तयारी सकिएको छ,’ शेरचनले भने, ‘दुवै पार्टीका नेता बसेर राजधानीमा घोषणासभा गर्छौँ ।’ बदलिएको परिस्थितिमा सबै वामपन्थी शक्ति एकीकृत र ध्रुवीकृत हुन थालेका छन् । संयूक्तले यसअघि नै माओवादीको चुनाव चिह्न गोलाकारभित्रको हँसिया हथौडा लिएर जाने निर्णय गरिसकेको थियो । नेकपा संयूक्तका अहिले तीनजना संसाद छन् । संसद् मिथिला चौधरी जनसंख्या तथा वातावरणमन्त्रीसमेत छिन् ।
नेकपा संयुक्तको विगत यस्तो छ
नेपाल कम्युनिस्ट पार्टीको स्थापना २००६ मा भएको थियो । यस पार्टीको पहिलो महासचिव केशरजंग रायमाझी भए । बीचमा पार्टी टुटफुट हुँदै ०१७ पछि रायमाझीले पञ्चायतलाई समर्थन गरे । पञ्चायती व्यवस्थामा जेलनेल भोग्दै ०३८ मा विष्णुबहादुर मानन्धर नेकपाको महासचिव भए । जसलाई मानन्धर समूह पनि भनिन्थ्यो ।
०४८ मा पार्टी एकता भएपछि तुलसीलाल अमात्य पार्टी अध्यक्ष भए भने विष्णुबहादुर मानन्धर महासचिव र कृष्णराज बर्मा उपमहासचिव भए । एकता भएको चार वर्ष पुग्न नपाउँदै अमात्य र बर्मा एमालेमा प्रवेश गरे । माओवादीले जनयुद्ध सुरु गरेपछि संयुक्तलगायत पाँच साना वामपन्थी दलले वाममोर्चा गठन गरे । सो मोर्चा ०६२ सम्म रह्यो । ०६३ मा नेकपा माक्र्सवादी पार्टी बन्यो । ०६३ मा विष्णुबहादुर मानन्धरले राजीनामा दिएपछि नेकपा संयुक्तको अध्यक्षमा चन्द्रदेव जोशी आए । ०७२ देखि भने पार्टी अध्यक्ष गणेश शाह छन् ।
समाजवादी जनता दलले पनि माओवादी केन्द्रसँग एकता गर्ने
प्रेमबहादुर सिंह नेतृत्वको समाजवादी जनता दलले पनि माओवादी केन्द्रसँग एकता गर्न छलफल अगाडि बढाएको छ । माओवादीसँग एकता गर्न छलफल भइरहेको समाजवादी जनता दलका अध्यक्ष प्रेमबहादुर सिंहले बताए । निर्वाचनमा माओवादीसँग एउटै चिह्नमा जाने भएपछि पार्टी एकता गरेरै जाने निर्णय भएको सिंहले जानकारी दिए । जनता दलमा सिंह मात्र सांसद छन् ।

Follow Us

Facebook

Twitter

© Copyright by NayaBato
सम्पर्क [email protected]
Designed by appharu.com
Scroll Up