यस्तो बन्दैछ काठमाडौको रंगशालाको पूर्वाधार

निर्माणधीन कवर्डहल।

पोखरा- राजधानीको दशरथ रंगशाला भूकम्पले प्रभावित पारेसँगै अन्तर्राष्ट्रिय स्तरको खेलकुदको विकल्पमा पोखरा रंगशालालाई लिइएको छ। २०१९ मार्च ९ देखि १९ गतेसम्म सञ्चालन हुने १३औं दक्षिण एसियाली खेलकुद (साग) पहिलो पटक पोखरामा हुन लागेको हो। त्यसैले पनि अहिले खेलकुदको भौतिक पूर्वाधारको बारेमा बहस चलिरहेको छ।

पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिको सक्रियतापछि पोखरामा खेलकुदका पूर्वाधारहरु बन्नेक्रम चलिरहेको छ। पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेलका अनुसार अहिले धमाधम अन्तर्राष्ट्रिय स्तरका भौतिक संरचना निर्माण भइरहेका छन्। नेपालमा तेस्रोपटक हुन लागेको प्रतियोगिता यसअघि पहिलो र आठौं चरणमा काठमाडौंमा भएको थियो। पोखरामा भने पहिलो पटक हुन लागेको छ।

१३औं साग प्रतियोगितामा महिला-पुरुष भलिबल, महिला-पुरुष फुटबल, आर्टचरी, ट्राथोलन, ह्याण्डबल र स्क्वास रहनेछन्। यसका लागि ८ राष्ट्रका २५ सयभन्दा बढी खेलाडी पोखरा आउने अध्यक्ष पौडेलले बताए। ‘छिटो भन्दा छिटो काम सक्नुपर्ने छ। त्यसको लागि अहिले केही संरचनालाई भत्काएर नयाँ बनाउन लागेका छौं,’ पौडेलले भने, ‘एउटै स्थलमा ६ वटा खेल खेलाइने हुँदा सोही अनुसारको तयारीलाई तिब्र बनाउन लागिएको छ।’ त्यसको लागि हाल रंगशालामा साढे २ करोडको स्क्वास हल, एक करोड ८० लाखमा आर्चरीको हल र २ करोड ५० लाखमा ह्याण्डवलको हल निर्माण कार्य भइरहेको छ।

खेलाडीलाई खेल खेल्नुभन्दा अघि चाहिने पूर्व अभ्यास ग्राउन्ड (वामअप) को पनि यहाँका विभिन्न ठाउँमा छनोट गरिएको पौडेलले बताए ।

खेलकुद भौतिक पूर्वाधारको लागि खेलकुद मन्त्रालयबाट पोखरा रंगशालालाई बजेट विनियोजन भइसकेको छ। गत आर्थिक वर्षमा ४ करोड विनियोजन भएकोमा यो पटक ७ करोड रुपैयाँ विनियोजन भएको अध्यक्ष पौडेलले जानकारी दिए। साग खेलकुद सम्पन्न गर्नको लागि उत्तिकै चुनौती रहेको पौडेलले बताए। ‘तोकिएको समयमा आवश्यक पूर्वाधार सक्नुपर्ने ठूलो चुनौती छ,’ उनले भने, ‘खेलाडीलाई पनि अन्तर्राष्ट्रिय स्तरमा बनाउन सक्नुपर्ने अवस्था हुन्छ।’

पोखरामा हुने खेलकुद प्रतियोगिताभन्दा अहिलेसम्मकै ठूलो भएको हुनाले यसबाट यहाँका खेलाडीले थप कुरा सिक्ने अवसर पाउने पौडेलले बताए। ‘प्रतियोगिताले पोखरालाई विश्वसामु पुर्याउनेछ,’ उनले भने, ‘घरेलु खेलकुद प्रतियोगिता हेरेका पोखरेली खेलकुद प्रेमी दर्शकको लागि पनि अवसरको रुपमा लिन सकिन्छ।’

सागलाई केन्द्रीत गर्दै केही महिनाअघि रंगशालामा वोरिङबाट पानी उपलब्ध गराइएको छ। १५० मिटर डिप वोरिङबाट खेलकुद गतिविधिमा पानीको अभावलाई निर्मूल पारिएको पौडेलले बताए। उनका अनुसार १७ लाख रुपैयाँको लागतमा समितिले डिप बोरिङ रंगशालामा ल्याएको हो। लामो समयको लागि उपयोग गर्ने उद्देश्यका साथ डिप बोरिङ गर्न लागेको उनले बताए।

रंगशालामा दैनिकरुपमा कम्तिमा १० हजार लिटर पानी आवश्यक पर्छ। बोरिङको पानीले पोखरा रंगशालालाई हरियाली बनाइ धुलो नियन्त्रण पनि हुँदा कुनै समस्या नहुने उनले प्रस्टाए।

रंगशालामा खेलाडीको लागि शौचलायको उचित व्यवस्थापन हुन नसकेको आरोपलाई नकार्दै पौडेलले शौचालयको अपुग नहुने बताए। रंगशालाभित्र झन्डै ५० थरी खेल गतिविधि हुने गरेका छन्।  फुटबल, भलिबल हेर्ने जाने दर्शक सेती नदीको डिलतिर वा खुलेआम पिसाब गर्नुपर्ने बाध्यतामा हुन्छन्। अध्यक्ष पौडेलले अहिले शौचका लागि झाडीमा जानुपर्ने अवस्था नभएको बताए । ‘भलिबल प्रतियोगिता हुँदा गेटभित्रै शौचालयको सुविधा दिएका थियौं, र फुटबलको लागि नयाँ प्यारापिट बनेसँगै शौचालय थपिनेछ’ उनले भने, ‘अब लगभग शौचालय पुग्छ पनि होला।’

फुटबल हेर्नबनाइएको भिआइपी प्यारापिट पनि जोखिम बढेकोले भत्काएर नयाँ बनाउने तयारी भएको उनले बताए। २०४५ साल र २०७२ सालको भूकम्पले भिआइपी र साधारण प्यारापिटलाई हल्लाइसकेको छ। प्यारापिटको माथिल्लो तलाको ढलान र पिल्लर ठाउँ–ठाउँमा चर्केको छ। प्यारापिटको माथिल्लो तलाको ढलान, बिम र पिलरमा चर्केको छ। चर्केको भागबाट भित्र हावा पस्दा रडहरुमा खिया लागेको छ। त्यसले प्यारापिट अझ कमजोर बनेको छ। २०३८ सालमा निर्माण भएको प्यारापिट वैशाख १२ गते गएको भूकम्पले हल्लाएपछि प्रविधिक टोलीले खतरामा रहेको भन्दै रातो स्टिकर टाँसेको थियो।  

अध्यक्ष पौडेलले डिपिआर बनाएर काम थालनी हुने बताए। ‘इन्जिनियरसँग एग्रिमेन्ट गरी एकदुई महिनामा रिर्पोट तयार पारी काम सुरु हुन्छ,’ उनले भने, ‘साफ गेमलाई टार्गेट बनाएर सोही अनुसार तयारी हुनेछ।’ प्यारापिट भत्काएपछि फुटबलको मैदान गुरुयोजना अनुसार नै निर्माण प्रक्रिया अगाडि बढाउने उनको भनाइ छ।

२०४० सालमा दोस्रो राष्ट्रिय खेलकुद प्रतियोगिता भएसँगै पोखरा रंगशालामा खेल खेलाउन थालिएको हो। त्यसपछि वर्षेपिच्छे विभिन्न क्लबबाट खेल हुन थाले। हाल ४ सय १७ रोपनीमा फैलिएको रंगशाला मुलुकै दोस्रो ठूलो हो।

Follow Us

Facebook

Twitter

© Copyright by NayaBato
सम्पर्क nayabatous@gmail.com
Scroll Up