प्रचण्डलाई पुर्वकमाण्डरको प्रश्न: फाल्गुन १ लाई अब जनयुद्ध दिवस मनाउने कि आतंककारी दिवस ?

पुर्व सुप्रीमो कमरेड प्रचण्ड,
नेपाली भाषाको उद्गमस्थल, जनयुद्धको एउटा अजम्बरी केन्द्र, सहिदहरुको बस्ती, बेपत्ता योद्धाहरुको जन्मभुमि, शासकहरुको शहर काठमाडौले दुरबिनबाट पनि निहाल्न नसक्ने असंख्य क्षितिज पारीको नेपाल अर्थात कर्णालीबाट क्रान्तिकारी अभिबादन !

भौतिक बिज्ञानका अनुसार कुनै पनि चिज अस्तित्वमा रहिरहनका लागि गतिशीलता अनिवार्य हुन्छ । यदि इलेक्ट्रोनले न्युक्लियस वरिपरि घुम्ने प्रक्रिया अबरुद्ध भयो भने कुनै पदार्थको अस्तित्व कल्पना गर्न सकिदैन । पृथ्वीले सुर्यको वरिपरि परिक्रमा गर्न छोड्यो भने उसको ध्वंस अनिवार्य छ ।

मानिसको मुटुले केही सेकेन्ड मात्रै आराम गर्न खोज्यो भने मानिसको जीवन समाप्त हुने कुरा निश्चित छ । यसर्थ नियमित गतिशील पदार्थ (matters in motion) को मात्रै भौतिक अस्तित्व संभव हुनसक्छ । तर तपाइको गतिशीलता देखेर यो संसारका भौतिक बैज्ञानिकहरु गति(motion)को बारेमा आफ्नो अध्ययन र बुझाइ अप्रयाप्त ठान्छन् होला ।

जनमुक्ति सेनाका पुर्वकमाण्डर सुनिल

हो राजनीतिमा स्थायी शत्रु र मित्र हुदैनन् । पार्टीको कार्यनीति र कार्यदिशा पनि परिस्थिति अनुसार फेरबदल हुनसक्छ । अक्टोबर क्रान्तिका निर्णायक दिनमा लेनिनले घन्टै पिच्छे पार्टीको कार्यदिशा उथलपुथल गरेको इतिहास जिवित नै छ । तर शत्रु मित्रमा रुपान्तरण हुनका लागि परिस्थितिमा असामान्य परिवर्तन जरुरी हुन्छ कि हुदैन, मित्र शत्रुमा स्थानान्तरण हुनका लागि घटनाक्रम नयाँ ढंगले बिकास हुनु पर्छ कि पर्दैन ? स्वार्थ, शक्ति, सम्पत्ति र सत्ताका पछि कुदेपछि पार्टी, आन्दोलन र देश कहाँ आइपुग्यो भन्ने कुरा स्पष्ट छ ।

समकक्षीले दिएको सुझावभन्दा उल्टा, पार्टी निर्णयसंग मेल नखाने, कार्यकर्ताको अपेक्षा बिपरित, नागरिक समाजको आँकलन बिपरित, जनताको चाहना बिपरित निर्धारण गरिएका सहयात्रा, सहकार्य र गठबन्धनको परिणाम स्वरुप आज माओबादी केन्द्र नामको पार्टी औपचारिक र विधिवत रुपमा विघटनको संघारमा आइपुगेको छ ।

चिनियाँ नेता तेङ स्याओ पिङले भन्ने गर्थे, ‘बिरालो कालो होस कि सेतो, उसको काम मुसा मार्ने हो ।’ नेपालमा ठिक त्यसैगरी पार्टीको नाम कम्युनिस्ट होस् या गैरकम्युनिस्ट, सिद्धान्त लोकतान्त्रिक होस या गैरलोकतान्त्रिक, पार्टी फुटुन वा जुटुन, ति सबैको परिणाम र काम देश बिदेशिहरुको नियन्त्रणमा पुर्याउने र राज्यको सम्पतिमा लुट मच्चाउने क्रम चलिरहेको थियो बहुदलीय प्रजातन्त्रको नाममा । त्यसका विरुद्धमा नेपाली जनताका १७ हजार छोराछोरी बलिदानका निम्ति तयार भए ।

जनताको अपार विस्वास, समर्थन र आस्था अनि कार्यकर्ताको त्याग, समर्पण र बलिदानको उपलब्धि सिमित मान्छेको आफ्नो निजि प्रयोजनका निमित्त दुरुपयोग भइरहेको छ। आज सहिद परिवारको आँखाबाट नियालेर हेर्दा, घाइतेको दिलबाट सापटी बोल्दा, बेपत्ता योद्धाको घरको कौसीबाट पेरिसडाँडा र लाजिम्पाट दरबारतिर नजर डुलाउदा काला र सेता बिरालाको समुहमा केही राता बिरालाहरु थपिएका छन् मुसा मार्ने ( राज्यको स्रोत साधनमा लुट मच्चाउने) अभियानमा ।

अब राष्ट्रिय सभागृहतर्फ लागौं । अप्रत्यासित रुपमा असोज १७ गते साँझ राजधानीको राष्ट्रिय सभागृहमा एमाले, माके र बाबुराम भट्टराईबिच चुनावी तालमेल देखि पार्टी एकतासम्मको सहमति घोषणाले केही अस्वभाविक तरंग र स्वाभाविक प्रश्न सिर्जित गरेको छ ।

तपाई पार्टी महामन्त्री भएदेखि आजसम्म पार्टीका भेला, सम्मेलन, बैठक र महाधिवेशनमा प्रस्तुत गरेका कतिवटा दस्तावेजमा उतिबेलाको माले-यतिबेलाको एमालेलाई क्रान्तिकारी, सच्चा कम्युनिस्ट शक्ति भनेर उल्लेख गर्नुभएको छ, रेडियो-टेलिभिजन-छापाहरुमा दिएका अन्तर्वार्तामा कति ठाउँमा एमालेलाई मित्रशक्ति ठान्नुभएको छ, रेकर्ड गरिएका-नगरिएका आन्तरिक-सार्वजनिक भाषणहरुमध्ये एमालेलाई गाली नगरिकन कतिपटक भाषण गर्नुभएको छ ? शान्ति प्रक्रियामा आएपछि माओवादी पार्टीको ओरालो यात्रा ६ दिने आन्दोलनबाट सुरुवात भएको हो ।

माओवादीलाई उक्त आन्दोलनतर्फ धकेल्ने कटवाल प्रकरण कसका कारणले असफल भयो ? कम्युनिस्ट पार्टीको झण्डा बोकेको भेट्ना साथ आतंककारी घोषित गर्दै गोलि हान्दा नेकपा (एमाले)को नाममा कतिवटा बक्तब्य सार्वजनिक भए ? शेरबहादुर देउवाको सरकारले नेकपा (माओवादी)लाई आतंककारी घोषणा गर्दा एमालेले उफ्रिएर समर्थन गरेको कुरा दुनियाँसामु जगजाहेर छ ! असोज दुई गतेको स्थानीय निर्वाचनसम्म एमाले र माकेबिचको सम्बन्ध र सहकार्यको उचाई कस्तो प्रकारको थियो भन्ने कुरा मात्रै भुल्न पनि दुनियाँलाई कम्तिमा दुई बर्ष लाग्नेछ।

यी जटिल सवालका अघिल्तिर राष्ट्रिय सभागृहको दृश्य हेर्दा एउटा सामान्य नागरिकले पनि यो अनुमान गर्नसक्छ कि-यो सहमतिको पछिल्तिर खास केहि र खास कोहि अवश्य छ । बिदेशी शक्ति केन्द्रहरुको दबाब-धम्कीले काम गरेछ छ या अभुतपुर्व स्वार्थहरुको मिलन भएको छ वा कुनै ग्रान्ड डिजाइन छ, हुनसकोस ठुलो धनराशिको खोलो बगेको छ ।

सहमति कार्यान्वयनपछि पार्टी एकता भनिएपनि वास्तमा त्यो माके समुहको राजनीतिक पतन र एमालेमा विलय हो । त्यसको मुल्यांकन इतिहासले निर्ममता पुर्वक अवश्य गर्नेछ । तथापि गत १७ गतेको सहमति पछि अनुत्तरित बनेका केही प्रश्नको उत्तर तपाइले नाम मात्रको माओवादी पार्टी विघटन गर्नुभन्दा पहिले सहिद परिवार, घाइते योद्धा, खाडी मुलुकमा छरिएका कार्यकर्ता र नेपाली जनताको अगाडि उभिएर दिनुपर्छ ।

अब उप्रान्त फागुन एक गते जनयुद्ध दिवस मनाइन्छ कि आतंककारी दिवस ? पार्टी कार्यालयमा दिलबहादुर रम्तेल- कृष्ण सेन ‘इच्छुक’हरुको तस्बिरले प्रवेश पाउछ कि पाउदैन ? जनयुद्धका सहिदहरु राष्ट्रिय सहिद घोषित हुन्छन् कि हुदैनन् ? जनवादी क्रान्तिका बाकी कार्यभार कुन भाषणबाट पूरा हुन्छन् ? बालकृष्ण ढुंगेलले नयाँ पार्टीको सदस्य बन्न पाउछन् कि अपराधी ठहर गरिन्छ ? एमाले सुराकीमा हत्या गरिएका सहिदका छोराछोरीले सुर्य चिन्हमा मतदान मानेनन् भने कस्तो प्रकारको जनवादी केन्द्रीयता लागु हुन्छ ?

समाजवादी क्रान्ति मालेमाबादको कति डिग्रीको क्रमभंगतामा हुन्छ ? टनकपुर सम्झौता राष्ट्रबादी सुचीमा सर्छ कि राष्ट्रघाती सम्झौताको रुपमा खारेज गर्ने आन्दोलनको उठान हुन्छ ? वास्तमा प्रचण्ड कुनै ब्यक्तिको नाम मात्र थिएन, बरु जनयुद्धले स्थापित गरेको एउटा ‘राजनैतिक ब्राण्ड’ हो जसको सिधा सम्बन्ध सहिदको रगतसंग जोडिएको छ । अब तपाइको आदेशमा बलिदान गरेका सहिदको जिम्मा कसलाई लाएर जानुहुन्छ, प्रचण्ड भन्ने ‘ब्राण्ड’ कसलाई धरौटीमा बुझाउनुहुन्छ ?

अन्तमा, इतिहास निर्मम र कठोर हुन्छ । आज बिदेशीहरुको आडमा, सत्ता र शक्तिको भरमा, निजि सुख र सम्पतिको लोभमा आफ्नो बर्ग, जनता र देशलाई घात गरेपनि समयले तपाईलाई एउटा जटिल कठघरामा जरुर उभ्याउनेछ । यद्यपि त्यतिबेला गल्ती महसुस गरेर पछि फर्किने कुनै पुल बाकी हुनेछैन, अवसरको नयाँ गन्तव्य चढ्ने कुनै भर्याङ बाकी हुनेछैन, भौतिक सुख र सुरक्षाको लागि कुनै दरबार बाकी रहनेछैन, राजनीतिक सुरक्षाका लागि कुनै पार्टी र बिचार बाकी रहनेछैन, जालझेल र षड्यन्त्रका लागि कुनै तिक्डम बाकी रहनेछैन ।
धन्यवाद !

Follow Us

Facebook

Twitter

© Copyright by NayaBato
सम्पर्क nayabatous@gmail.com
Scroll Up