तिन करोड नेपालिको रगत उमाल्ने भिडियो एकपटक हेर्नुहोला र सेयर पनि गर्नुहोला

नेपाली समाज इतिहासकै विभाजित र कम्जोर स्थितिमा छ | राजनीतिक दलहरुको गैरजिम्मेवार ब्यबहार र आम जनताको निराशापूर्ण दिनचर्याबाट सबै भन्दा पिडित नेपाल स्वयं छ भन्दा फरक नपर्ला | जोश र जाँगर बिना घिटिक घिटिक गर्दै आगाडी बढेको देशको मुहारमा आशाको किरण छर्दै पत्रकार रबिन्द्र मिश्रले नयाँ राजनतिक दल निर्माणको कसरत गरेपछि देश विदेशमा रहेका युवा नेपाली हरु निकै उत्साहित देखिएका छन् | नैरास्यता, लाचार, बैराग्य स्थितिको एक आम नेपाली कोहि कसैलाई बिस्वास गर्न नसक्ने स्थितिमा फेरी एक पटक जुर्मुराउन तयार देखिएको छ मिश्रको अगुवाईमा |

लेखक: नवीन दित्य कोईराला
निराशाको पहाड र चुनौतीको समुन्द्र पार गर्न अब साझा पार्टीले निकै होसियार ढंगले आफ्नो कदम चाल्नु पर्ने छ | राजनीतिशास्त्रका बिद्यार्थी मिश्रले राम्रोसंग बुझेको कुरा भनेको हरेक नेपालको मन भित्र देश दुखेको छ, हरेक मन आन्दोलित छन्, पटक पटकको धोकाले आजित नेपालीहरु एक पटकफेरी आफ्नो मन मुटु सुम्पने तयारि गर्दैछन् साझापार्टीलाई | तिन करोड नेपालीलाई समेट्ने गरि राजनतिक दल निर्माण गर्न रबिन्द्र मिश्रले तिन करोड समस्यासंग जुध्ने तयारी र हिम्मत गर्नु पर्छ |

अविस्वास: अनेक नारा र सपनाको डङ्गुर लिएर माखो नमारेक राजनीतिक दलसंग जनता आजित छन्, साझा पार्टी कुन आधारले ति राजनीतिक दल भन्दा फरक छ त ? जनताको बिचमा जाने बित्तिकै सबै भन्दा धेरै सोधिने तर संधै अनुत्तरित हुने प्रश्न यही हो | साझा पार्टीले अब झारा तिर्ने हिसाबको उत्तर दिने वा हामीलाई चुनावमा जिताउनुस अनि गर्छौं भनेर उम्किन मिल्दैन | एक हातले समाजसेवा र अर्को हातले रोजगारी सिर्जना गर्दै जाने हो भने जनतालाई साझा पार्टीले केहि गर्छ है भन्ने विस्वास दिलाउन गारो हुनेछैन |

आन्तरिक आक्रमण: देशको कुना कुना सम्म संगठित पुराना राजनीतिक दलले साझा पार्टीको हरेक अंग अंग प्रहार गर्ने निश्चित छ, कर्मचारीतन्त्र, बिद्यार्थी, ब्यापारी, पत्रकार, कलाकार, पेशाकर्मी सबै ठाउँ राजनीतिले गिजोलिएको छ र हरेक तह तप्कामा साझा पार्टीको चरित्रहत्या देखि अनेक प्रकारका आक्रमण हुने निश्चित छ | अन्य दलहरु भन्दा पारदर्शी, ब्यबहारिक र आशालाग्दो कर्मले मात्र आन्तरिक हमलाबाट साझा पार्टीलाई जोगाउन सकिन्छ |

बाहिरी आक्रमण: नेपालको माटो सधैं रास्ट्रवादी लहरमा आफ्नो सुगन्ध छर्छ | मिश्रले कुनै न कुनै बेला गएर नेपालको हितको निम्ति अन्तरास्ट्रीय समुदायसंग नेपाली सामाजिक मनोविज्ञानको प्रतिनिधित्व गर्नै पर्ने हुन्छ , खाइ पाई आएको हस्तछेप र राइ दाइको बिरुद्ध साझा पार्टी उभिने बितिकै अन्तरास्ट्रीय समुदायले साझा पार्टी माथि घेराबन्दि सुरु गर्नेछन् | भारत, चिन र पश्चिमा शक्तिको फरक स्वार्थ र चलखेलसंग बचेर देशलाई पनि बचाउने चतुर्यांइ गर्न साझा पार्टीले कुशल नेतृत्वको निर्माण गर्नु पर्ने हुन्छ |

भिडियो सहित

संगठन निर्माण: राजनीतिमा सधैं अबमुल्यन गरिएको बास्तबिकता भनेको निराश र थकान हो | अहिले साझा पार्टीलाई समर्थन गर्ने जमात भनेको राजनीति देखि टाढा बसेको तर देशमा केहि गर्नु पर्छ भन्ने भावना भएका युवा पुस्ता हुन् | छोटो समएमा साझा पार्टीले उनीहरुको मन जित्ने योजना र काम गर्न नसक्ने बित्तिकै यो जमात साझा पार्टीलाई तिरस्कार गर्ने हदसम्म पुगिहाल्छ | समर्थक र संगठित कार्यकर्ताबीचको फरक भनेको उनीहरुले गर्ने योगदान र नेतृत्व प्रति देखाउने धैर्य पनि एक हो | संगठित सदस्यहरुलाई सक्रिय पार्दै निरन्तर संगठन निर्माण गर्ने व्यवहारिक योजनाको आवस्यकता हुनेछ |

नेतृत्व निर्माण: जसरि साझा पार्टीले बटम टु टप अप्रोच ( तल देखि माथि ) ले संगठन निर्माण गरेको छ, यसले संगठन निर्माणमा तीव्र गतिमा सहयोग गर्ने निश्चित छ | समस्या कहाँ हुन्छ भने, आम मानिसको आर्थिक पक्ष कमजोर छ , र सधैं उनीहरु पारिवारिक कमजोर आर्थिक पक्ष भुलेर देश निर्माण गर्छु भनेर लाग्दैनन् | जब सम्म उनीहरुको आर्थिक पक्ष बलियो हुँदैन तव सम्म उनीहरुले संगठन निर्माणमा खास योगदान दिन सक्दैनन् | जनताले नेता बनाउने कुरा सुन्दा जति मिठो लागे पनि अन्तमा संगठन हाँक्न बलियो नेतृत्व आवस्यक हुन्छ | केन्द्र देखि वडासम्म संगठनको जिम्मा लिन सक्ने नेतृत्व तयार गर्नु साझा पार्टीको सबै भन्दै ठुलो चुनौती हुने निश्चित छ |

मास बेस्ड पार्टी: साझा पार्टी कार्यकर्ता भन्दा पनि भोटर निर्भर पार्टी हुने निश्चित छ, नेपाली कांग्रेसको बलियो प्रभाव तोडेर भोटर बेस्ड पार्टी बनाउने कुरा निकै चुनौतीमय हुनेछ | एमाले, माओवादी र मधेसी दलहरुको जस्तो कार्यकर्ता निर्भर राजनीतिक दल निर्माणको निम्ति कुनै न कुनै किसिमको राजनतिक आन्दोलनको आवस्यकता हुन्छ, तर साझा पार्टी त्यसरी भन्दा पनि केहि सेलिब्रेटी र मिडियाको भरमा चुनावमा जाने हो भने नेपाली कांग्रेस र राप्रपाको भोटर खोस्न सक्ने बलियो रास्ट्रीए एजेन्डा लिएर जनता माझ जानु पर्ने हुन्छ | मास बेस्ड पार्टीको बलियो हतियार भनेको जनताको दैनिक जिविकासंग सम्बन्धित मुद्दा लिएर जनतालाई विस्वास दिलाउंदै अगाडी बढ्नु हो |

काम देखाउनै पर्ने बाध्यता: साझा पार्टी लगाएत कुनै पनि राजनीतिक दलको उदेश्य र घोसणापत्र आफैंमा नराम्रो छैन , कुनै पनि राजनतिक दल नराम्रो एजेन्डा बोकेर स्थापित भएका होइनन , उनीहरु स्थापित हुने प्रक्रिया र हुँदै गर्दा जनताबाट टाढीएका हुन् | सपना देखाएकै भरमा साझा पार्टी स्थापित हुने आधार देखिंदैन , तत्काल केहि छाल आएको जस्तो भए पनि अन्तत आम जनताहरु आफ्नो दिनचर्यामा बेस्त हुन थाल्छन, अहिले तिब्र गतिमा बनेको संगठन जोगाएर अगाडी बढ्न केहि न केहि गर्नै पर्ने चुनौती अगाडी छ | विभिन्न आर्थिक सामाजिक मुद्दा बोकेर जनताको बीचमा जाँदै संगठन बनाउने उपाए सबै भन्दा उत्तम हुने देखिन्छ |

विभाजित युवा पुस्ता: बिबेकसिल नेपाली देखि अन्य नयाँ पार्टीहरुलाई समेट्न सक्ने गरि फराकिलो छाति साझा पार्टीको हुनै पर्छ, नत्र अहिले जति पनि असन्तोषको राजनीति गर्ने योजनामा नयाँ दलहरु छन्, उनीहरुले लक्षित गरेको भोटर भनेको युवा पुस्ता र राजनीतिमा नलागेका अन्य नेपालीहरु हुन् | नयाँ शक्ति, बिबेकशील नेपाली र साझा पार्टीले त्यहि मासलाई लक्षित गर्ने तर आफैंमा मिलेर जान नसक्ने हो भने पुरानै शक्तिको मनोमानी चल्ने निश्चित छ | सबै नयाँ दलहरुले बिदेशिएका चालिश लाख नेपाली युवाको लागि राजनीति गर्छु भनेर त्यही युवाहरुलाई पनि विभाजित गरिदिने हो भने फेरी पनि नेपाली समाजले अर्को एक दशक कुनै अर्को चमत्कारिक व्यक्ति कुरेर बस्नु पर्नेछ |

सुशासनको मूल्य: राजनीतिलाई जति धेरै नैतिकताको कसीले हेरिने गरिन्छ, एक प्रकारले त्यो राजनीति माथि अन्याय हो | कांग्रेस, एमाले , माओवादीहरुलाई छाडा छोड्ने र साझा पार्टीले मात्र नैतिकताको राजनति गर्नु पर्छ भन्नु बेबकुफी मात्र हो | सबै राजनीतिक दलले नेपालको संबिधान र कानुन मानेर राजनीति गर्नु पर्छ, अरु राजनीतिक दललाई जति पनि भ्रस्ट र फोहोर हुने छुट तर साझा पार्टीले थोरै पनि गल्ति गर्ने बित्तिकै तिरस्कृतनै हुने गरि नैतिकताको भारि बोकाइदिने हो भने नेपालको निम्ति त्यो अभिसाप हुनेछ | प्रचण्ड,ओली र देउवाहरुले करोडौं रुपैयाँ खर्च गरेर चुनाव लड्ने प्रबित्तिको सबै सचेत नेपालीले आफ्नो तहबाट बिरोध र हस्तक्षेप गर्नु पर्दछ |

विघठित हुने सम्भावना: देश बिगार्नेहरुले ओभर टाइम काम गर्ने, तर देश सपार्न खोज्नेहरु मौन बस्दिनु यो देशको सबै भन्दा ठुलो बिडम्बना हो | संगठनलाई चलायमान र गतिशील राख्न अहिले देखिनै होसियारीपुर्वक काम गर्नु पर्ने हुन्छ | जथाभावी बन्ने संगठन पछि साझा पार्टीकै निम्ति औंजेरु बन्नेछ | क्रियाशीलता र अनुशाशनलाई प्रोत्साहन गर्ने पद्दति बसाल्नु पर्दछ | चुस्त संगठन, पारदर्शी निर्णय प्रणाली, प्रजातान्त्रिक नेतृत्व निर्माण प्रयास र नियमित सामाजिक कार्यहरुले संगठनलाई गतिसिलता दिनेछ |

-लेखक कोइराला राजनीति शास्त्रका बिद्यार्थी हुन् |

Follow Us

Facebook

Twitter

© Copyright by NayaBato
सम्पर्क nayabatous@gmail.com
Scroll Up