प्रचण्डको पहलमा भरतपुर स्मार्ट सिटीका लागि २ अर्ब 

काठमाडौं,भदौ २७। माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको पहलमा भरतपुर महानगरमा स्मार्ट सिटीका लागि २ अर्ब रुपयाँ जाने भएको छ ।

सहरी विकास मन्त्रालयअन्तर्गत रहेको सहरी तथा भवन निर्माण विकास समितिले भरतपुर महानगरलाई पाँचवटा सिटीको सहर बनाउने योजनासहित दुई अर्ब रुपैयाँ लगानी गर्ने तयारी गरेको छ ।

‘भरतपुरलाई मेघा सिटी, स्मार्ट सिटी, एक सहर एक सिटी, अर्वन इकोनोमी कोरीडोर र मल्टी सिटी बनाउने योजना अघि बढेको छ’ सहरी तथा भवन निर्माण विकास समितिका महानिर्देशक शिवहरि शर्माले भने । उनले भरतपुरलाई यी पाँचवटा सिटीको रुपमा विकास गर्नको लागि दुई अर्ब लगानी हुने बताए ।

महानिर्देशक शर्माका अनुसार यही वर्ष भरतपुर महानगरलाई पाँच सिटीको सहर बनाउन २० करोडको बजेट परेको छ । महानिर्देशक शर्माले भने, ‘चार वर्षभित्रमा भरतपुरलाई पाँच सिटीको सहर बनाउने योजना छ ।’ त्यसको लागि आवश्यक परे थप बजेट पारिने उनले बताए ।

भरतपुर महानगरपालिकाले भरतपुरलाई कसरी पाँच सिटीको सहर बनाउन सकिन्छ भन्ने विषयमा एकीकृत सहरी विकास कार्यक्रमसम्बन्धी शुक्रबार छलफल चलाएको छ ।

छलफलको प्रमुख अतिथि पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रमुख अतिथि थिए ।

छलफलमा सहरी तथा भवन निर्माण विकास समितिका उपमहानिर्देशक पदम मैनालीले पाँच सहर बनाउने प्लानिङ प्रस्तुत गरेका थिए । छलफलमा उपमहानिर्देशक मैनालीले भने, ‘देशभरमा भरतपुरलाई चौथो सहरको रुपमा फोकस गरिएको छ ।’ मैनालीले पनि पाँचवटा सिटीको सहर बनाउन मोटामोटी दुई अर्ब रुपैयाँ लाग्ने योजना प्रस्तुत गरेका थिए । उनले यो काम सम्पन्न गर्न महानगरवासी सबैको समन्वयको आवश्यक पर्ने बताए ।

छलफल कार्यक्रममा भरतपुर महानगरका विभिन्न वडाध्यक्षहरुले आफ्नो वडाहरुको समस्या प्रस्तुत गरेका थिए । भरतपुर–१० का वडाध्यक्ष अरुणपीडित भण्डारीले सडक निर्माणमा भ्रष्टाचार बढेको भन्दै डल्लबदेखि मान्द्रोसम्मको उदाहरण दिएका थिए । उनले भने, ‘बजेट डल्लबको पर्छ, सडक बन्ने बेलामा मान्द्रो बन्छ ।’

सम्बन्धित् समाचार नयाँ वर्ष २०७४ सालको अवसरमा प्रधानमन्त्रीद्धारा शुभकामना व्यक्त

भरतपुर १४ का वडाध्यक्ष ओमप्रसाद पोख्रेलले शिवनगर हेल्थपोष्टलाई ५१ शैयाको हस्पिटल बनाउन माग गरेका थिए । वडा नम्बर ६ का वडाध्यक्ष हरिविलास कोइरालाले असोजमा गर्ने काम असारे झरीमा भइरहेको बताए । वडा नम्बर ४ का वडाध्यक्ष हरिप्रसाद आचार्यले जग्गाको नापी हुनुपर्ने बताए ।

वडा नम्बर १२ का वडाध्यक्ष नरेन्द्र कन्दङ्वाले गोन्द्राङमा ढलको समस्या भएको बताए । ७ नम्बरका वडाध्यक्ष राजेन्द्रमणि काफ्लेले स्वास्थ्यचौकीको समस्या देखाएका थिए ।
कार्यक्रममा पत्रकार सूर्य बरालले ढलको समस्या प्रस्तुत गरे । चितवन उद्योग संघका उपाध्यक्ष राजु पौडेलले महानगरपालिकाले स्वेतपत्र जारी गर्नुपर्ने बताए ।

महानगरको गुरूयोजना बनाउन जोड कार्यक्रमका प्रमुख अतिथि माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले भरतपुरलाई बहुआयामिक महानगरपालिका बनाउन एक सयदेखि दुईसय वर्षसम्मलाई हेरेर एउटा वृहत गुरूयोजना बनाउनपर्ने बताए । अध्यक्ष दाहालले भने, ‘दुईसय वर्षको विश्लेषण गरेर भरतपुरलाई एउटा बहुआयामिक सहर बनाउन गुरूयोजना बनाउन आवश्यक छ ।’ उनले संसारले हेर्न लायक महानगर बनाउन आफू सदैव लागिपर्ने बताए ।

अध्यक्ष दाहालले भरतपुरलाई पाँच सिटीको सहर बनाउनभन्दा पहिला व्यवस्थित रिङ रोड बनाउन आवश्यक रहेको बताए । अध्यक्ष दाहालले भने, ‘सुकुम्बासीलाई एकीकृत बस्तीको रुपमा विकास गर्नुपर्छ, सधैँ जग्गा दिएर सकिँदैन ।’

कार्यक्रममा सहरी विकास मन्त्री प्रभु शाहले भरतपुरलाई स्मार्ट सिटीको लागि आवश्यक पर्ने बजेट पार्न सकिने बताए । उनले भने, ‘हाम्रो पार्टी अध्यक्षले भरतपुरलाई विशेष रुपमा हेर्न भन्नुभएको छ, मैले विशेष रुपमा भरतपुरलाई हेरिरहेको छु ।’ उनले भरतपुरलाई बनाउन मन्त्रालयबाट सक्दो सहयोग हुने बताए ।

सांसद कृष्णभक्त पोख्रेलले चितवनमा कुनै योजना निर्माणको लागि सबैभन्दा पहिला गुरूयोजना बन्न आवश्यक परेको बताए । उनले भने, ‘अब हाम्रो एउटै मुद्दा समृद्ध महानगर हो ।’ मेघौली, पटिहानीलाई पर्यटकीय क्षेत्र बनाउनपर्ने, भरतपुर अस्पताललाई मेडिकल कलेजको रुपमा विकास गर्नुपर्ने उनले बताए । महानगरको जग्गा कुन टुक्र्याउने कुन नटुक्र्याउने भनेर छुट्याउनुपर्ने उनको भनाइ थियो ।

सम्बन्धित् समाचार यसकारण प्रचण्ड यस युगका महान् योद्धा

कार्यक्रममा महानगरपालिकाकी मेयर रेणु दाहालले भरतपुर महानगर सम्भावना बोकेको सहर भएको हुनाले यसलाई पाँच सिटीको सहर बनाउन आफू लागिपर्ने बताइन् । उनले भनिन्, ‘पाँच सिटीको सहरको लागि दुई अर्ब बजेट आउने भएको छ, यसमा ठोस योजना बनाउन जरुरी छ । सबैको सहकार्य आवश्यक छ ।’

Follow Us

Facebook

Twitter

© Copyright by NayaBato
सम्पर्क [email protected]
Designed by appharu.com
Scroll Up