२० बर्ष देखि लास पोल्दै आएका केशव ढकालको पिडा, ‘जब बच्चीको लास पोल्दा–पोल्दै ढले’

काठमाडौं । मसानघाट भन्नेबित्तकै कतिपय मानिसहरुको मन काँप्ने गर्छ । मलामी जानैपर्ने बाध्यात्मक अवस्था भन्दा बाहेक मानिस हमेसा मसान घाट जाँदैनन् । मसानघाटलाई जिन्दगीको समाधि स्थलका रुपमा लिइन्छ । जहाँ मानिसले जिन्दगीकै अन्तिम बिश्राम लिने गर्छन् । मान्छेलाई भौतिक रुपमै नष्ट गरिन्छ । तर, बालाजु स्थाई घर भएका ६० बर्षिय विदुर बुढाथोकीले मसानघाटबाटै आफ्नो जिन्दगीको सुरुवात गरे भन्ने सुन्दा अचम्म लाग्न सक्छ ।

३३ बर्षदेखी मसानघाट कुरेर जीविका चलाउँदै आएका बुढाथोकी पेशाले घाटे बाहुन हुन् । पशुपति आर्यघाटलाई आफ्नो कर्मथलो बनाएका उनले दैनिक लास पोलेरै ६ जनाको परिवार पाल्दै आएका छन् । यसकै आम्दानीले ४ छोरीलाई उच्च शिक्षासम्म हाँसिल गराए । लास छुनसम्म हिच्किचाउने समाजमा उनी यस्ता पात्र हुन जसले एकैदिन ५ वटासम्म लास जलाए । यो ३३ बर्षमा ७ हजार भन्दा बढि लास जलाएको उनले बताए । सयौँ बच्चा जलाएँ त सयौँ तन्नेरी, कति धनीलाई जलाएँ त कति गरिबलाई । उनी पशुपति ‘भष्मेश्वर’ घाटमा लास पोल्नेहरु मध्येका सबैभन्दा पुराना हुन् ।

घाटे बाहुनको पेशा अपनाएका उनीसँग थुप्रै त्यस्ता अनुभव छन् जसले उनलाई जिवन केहि होईन भन्ने सिकायो । उनको बुझाईमा जिन्दगी भनेको दुई दिनको भ्रम हो । मान्छेले बाँचुन्जेल सबैको भलो मात्र गर्नु पर्ने उनको तर्क छ । उनीसँग अझ यस्ता अनुभव छन्, जो अहिले सम्झँदासमेत उनलाई मन गह्रौँ भएर आउँछ ।

जन्मेपछि मान्छे मर्नु स्वाभाविक हो । तर, कतिपय मृत्यु भयङ्कर पीडादायी हुने उनको अनुभव छ । कतिपय लास देख्दा उनको मनभरी आत्मियता पलाएर आउँछ । धेरै पटक रोएका छन् उनी, उही लासको आफन्त जस्तै बनेर । धेरै जसो बालवालिकाको लास जलाउन पर्दा उनलाई भक्कानो छुट्छ । एकपटक एक बच्चाको लास देखेरै आफु बेहोस नै भएको उनीसँग अनुभव छ । ‘एकपटक एउटा बच्चीको लास ल्याएका थिए, त्यो पनि दुर्घटनामा परेकी । आफ्नै छोरी जस्तो लागेर आयो, म लास हेरेरै ढलेछु, साथिभाईले सहयोग गरे । ’ बुढाथोकीले भने, ‘पाँच÷सात दिन त खाना खानसमेत मन लागेन, काममा पनि आईन ।’

४१ सालको एकदिन उनी पशुपति घुम्न आएका थिए साथिभाईको साथ लागेर । आर्यघाटमा लास पोल्दै गरेका गाउँले काकासँग भेट भयो उनको । काकाले उनलाई त्यहीँ काम गर्न आग्रह गरे । २७ बर्षका उनी, त्यतिबेलासम्म बेरोजगार थिए । एक छोरीको जन्म समेत भईसकेको थियो । पारिवारीक जिम्मेवारी उनीमाथि थियो । उनलाई कामको अत्यावश्यक थियो । भोलिदेखि नै हाजिर हुने कुरा काकासँग गरेर सो दिन घर फर्किए ।

भोलिपल्ट बिहानै आर्यघाट पुगेका उनलाई काकाले कामको लागि प्रबन्ध मिलाइदिए । सोहि दिनदेखि उनले घाटे बाहुनको काम सुरु गरे । त्यतिबेला एउटा लास जलाएको ५० रुपैयाँ पाउने गरेको उनी बताउँछन् । सुरुसुरुमा उनलाई काम गर्न अफ्ठ्यारो नलागेको भने होइन । कोहि चिनेजानेकाले लास पोल्दा पोल्दै भेटे भने के गर्ने भन्ने भय उनको मनमा उब्जिन्थ्यो । बिस्तारै बानि पर्दै गएको उनी बताउँछन् । तर, उनलाई कसैले हेपेर बोलेको मन नपर्ने बताउँछन् । ‘कोहि कोहि मान्छेले हेपेर बोल्छन्, घाटे भनेर । मैले आफ्नो काम गरेर खाएको छु ।’ अलि आक्रोसित हुँदै उनले भने, ‘काम गरेर खाएको पनि ‘खिसि’ गर्न मिल्छ ?’

उनले काम सुरु गर्दा एउटा लास जलाएको ५० रुपैयाँ आउँथ्यो । आजभोलि एक हजार दुई सय रुयैयाँ पाउँछन् । त्यसको १० प्रतिशत पशुपति क्षेत्र विकास कोष अन्तर्गत घाटसेवा केन्द्रलाई बुझाउनुपर्ने प्रावधान छ । महिनामा उनको लास जलाउने पालो १५ पटकसम्म पर्छ । कहिले रातमा त कहिले दिनमा । उनी कयौँ पटक रातभर आर्यघाटमै बसेका छन् । भुतप्रेत हुने कुरामा बिश्वास गर्दैनन् । भन्छन्,– ‘भुतप्रेत हुदैन, यो मान्छेको अज्ञानता हो ।’ केहि नबुझेका मान्छेले मात्र भुतप्रेतमा बिश्वास गर्ने उनको तर्क छ ।

आजभोलि उनी महिनामा सरदर २५ हजार कमाउँछन् । घरमा चार छोरी र श्रीमतीलाई यहि पैसाबाट पालनपोषण गर्दै आएका छन् । अब छिटै यो काम छाड्ने योजनामा छन् बुढाथोकी । ‘अब बुढो हुँदै गईयो, छिट्टै काम छोड्ने सोचमा छु’ उनले भने –‘यत्रो बर्ष दुनियाले घिन मान्ने काम गरियो न पेन्सन आउँछ न उपदान ।’ तर, यो काम छोडेपछि घर खर्च कसरी चलाउने भन्ने चिन्ता छ ।’

आफुहरुले सरकारी कर्मचारी जस्तै पेन्सन पाउनुपर्ने तर्क उनको छ । उनले यो कुरा धेरै पटक उठाउँदा समेत पशुपति क्षेत्र विकास कोषले वास्ता नगरेको गुनासो उनको छ । भन्छन् ‘अब न बसिबसि खाने सम्पति छ, न बिरामी हुँदा उपचार गर्ने पैसा, लास पोलेरै बुढो भइयो, अब कहाँ जाने ?

सबैलाई चिन्ता बुढेसकाल र उपचारकै अहिले पशुपति ‘भष्मेश्वरघाट’मा लास पोल्ने पेसा गर्ने ३६ जना छन् । उनीहरु पशुपति क्षेत्र विकास कोषअन्तर्गत घाटसेवा केन्द्रमा आबद्द छन् । जीवनभर घाटमै पेसा गर्नेहरुको लागि कोषले केहि राहतको ब्यबस्था गर्नुपर्ने उनीहरुको माग छ ।

‘बुढेसकालका लागी हुनेगरी कोषले उपदानको ब्यवस्था गरिदिए हुन्थ्यो ।’ २० बर्ष देखि लास पोल्दै आएका काभ्रेका केशव ढकालले भने, ‘यस अघि कमाएको पैसा खाँँदै ठिक भयो, अब बुढेसकालमा कहाँ जाने ?’!
– खबरडबलीबाट 

Follow Us

Facebook

Twitter

© Copyright by NayaBato
सम्पर्क nayabatous@gmail.com
Scroll Up