बाढीले घाइते बनाएको दुर्लभ एकसिंगे गैँडाको मृत्यु

रत्ननगर (चितवन), ७ भदौ । बाढीले बगाएर घाइते भएको दुर्लभ एकसिंगे गैँडाको उपचारकै क्रममा आज अपराह्न मृत्यु भएको छ ।

बाढीले बगाएर पूर्वी चितवनको कुमरोज सामुदायिक वनमा ल्याइपु¥याइएको घाइते गैँडाको आज अपराह्न मृत्यु भएको चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत अभिनय पाठकले जानकारी दिनुभयो ।

उहाँका अनुसार अघिल्लो हप्ता चितवनको राप्ती नदीमा आएको बाढीले अन्दाजी १६, १७ वर्षको भाले गैँडालाई बगाएर कुमरोजस्थित चितवन राष्ट्रिय निकुञ्जको जनकपुर पोष्ट नजिकै ल्याएको थियो ।

बाढीका कारण गर्धन तथा खुट्टामा गम्भीर चोट लागेको उक्त गैँडाको पशु चिकित्सकको टोलीले उपचार गरिरहेको थियो ।

“हिजोसम्म घाँस खाँदै थियो आज अपराह्न एक्कासि म¥यो, पाठकले भन्नुभयो, भित्री अंगमा गम्भीर चोट लागेकाले उपचार सफल हुन सकेन ।”

समुदायमा आधारित चोरी शिकार नियन्त्रण युवा जागरण अभियान कुमरोजका अध्यक्ष ईश्वरी पाठकले गैँडालाई बाढीले राप्ती नदीको स्परमा ठोक्याउँदै ल्याएकाले भित्री अंगमा गम्भीर चोट लाग्दा बचाउन नसकिएको बताउनुभयो ।

उहाँले कुमरोजका स्थानीय र निकुञ्ज अधिकारीहरुको निगरानीमा गैँडाको उपचार चल्दै गर्दा आज दुःखद मृत्यु भएको बताउनुभयो । बाढीले बगाएर गैँडा मरेको यो दोस्रो हो ।

यसअघि बाढी आएकै दिनको भोलिपल्ट निकुञ्जको पश्चिम क्षेत्रअन्तर्गत अमल्टारीमा एउटा गैँडाको मृत्यु भएको थियो ।

मृग प्रजातिका छवटा जनावर पनि बाढीले मारेको निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालले जानकारी दिनुभयो । रासस

Follow Us

Facebook

Twitter

© Copyright by NayaBato
सम्पर्क nayabatous@gmail.com
Scroll Up