फेरी अर्को घटना, प्रेमी भेट्न आएकी ताइवानी महिला धरानमा लुटिइन

भाद्र ०७। म्यान्मारकी एक महिलालाई धरानका एक युवकले धोका दिएको दुई साता नबित्दै ताइवानी (चिनियाँ) युवती धरानकै अर्को लफडामा परेर कन्तबिजोक भएकी छिन् । दुई साताअघि ताइवानबाट धरान आएकी ३० वर्षीया हु तिङ फाङको भदौ ४ गते तीन हजार ६ सय अमेरिकी डलर सहित नेपाली नगद ४० हजार रुपैयाँ सिटि सफारी चढेको बेला चोरी भएपछि विजोग भएको हो ।

उनी धरान– १८ स्थित मंगलबारे चौकमा बस्ने आफ्नो प्रेमी नितेश हयूज लोहारको बर्थ डेमा दिन आइतबार दिउसो ‘सरप्राइज गिफ्ट’ किन्न बजार निस्केकी थिइन् । घर फर्कने रकम सफारीमै चोरी भएपछि अब स्वदेश फर्कन समस्या भएको छ । प्रहरीले समेत उनको चोरी भएको रकमको खोजतलास गर्न सहयोग नगरेको नितेशका काका मेहेरमान ह्यूजले बताए । ह्युज स्थानीय तहको चुनावमा मेयर पदमा उम्मेदवार समेत हुन् ।

उनले भने, ‘विचरा ताइवानी महिला मेरो भतिजको जन्मदिन मनाउन आएकी थिइन् । उनको पैसा हराएको जानकारी तिनै सफारीवालाले दिएपछि आफैले खोज्ने प्रयास गर्‍यौं तर भेटिएन । तर प्रहरीले उल्टै मलाई सफारीवालाका छोरालाई प्रहरी कार्यालयमा कुटेको भन्दै १५ हजार जरिवाना तिरायो । जवकी मैले छोएकै थिइन । मैले कुटेको भए प्रहरीले देख्नु पर्ने हो ।’ प्रहरीले ह्यूजलाई उल्टै १५ हजार जरिवाना तिराएको देखेकी ताइवानी महिलाले झन त्रसित भएर उजुरी नै दिइनन् ।

उजुरी दिँदा उल्टै जरिवाना तिराउलान वा जेल हाल्लान भनेर गलत बुझ्न पुगेकी छिन् । उनले ह्यूज परिवारलाई आफुले गर्दा प्रहरीबाट तनाव र दुख पाएकाले अब ताइवान पुगेपछि कहिलै नेपालको नाम नलिने बताएकी छिन् ।

यसरी चोरी भयो डलर रकम गत आइतबार हु तिङ फाङले आफ्नो प्रेमी नितेशको लागि सरप्राइज गिफ्ट किन्न दिउँसो २ बजे मंगलबारे चोकस्थित घरबाट निस्किन् । उनी धरान– १५ स्थित बगरकोट पुगिन् । त्यँहा एक होटलले पुन एक सिटी सफारीको व्यवस्था गरी धरान भानुचोक पठाए । बजारमा गिटार खरिद गर्ने क्रममा नेपाली रुपैयाँ अभाव भएपछि उनी डलर सटही गर्न बराह ज्वेलेरी इण्डष्ट्रिज प्रा.लीको मलमा पुगेकी थिइन् ।

बराहको सिसि क्यामेराको फुटेजमा उनी डलर सटही गर्न साढे पाच बजे पुगेको देखिन्छ । उनले अमेरिकी डलर ६ सय रुपैयाँ अर्थात नेपाली रकम ५८ हजार ८ सय रुपैयाँ सटही गरेको बराहका एक कर्मचारीले बताए । त्यसैबेला धरान– १५ सदन स्कूल नजिकै बस्ने सिटी सफारी चालक रिना तामाङ र अर्की एक नेपाली महिला पनि ताइवानी महिलासँगै उभिएको सिसि क्यामेराको फुटेजले देखाएको छ ।

त्यहाँबाट सफारी चालक रिना तामाङले ती ताइवानी महिलालाई आफ्नो घरमा लगेको वुझिएको छ । दिउँसो २ बजे धरान बजार आएकी ताइवानी महिलालाई प्रेमी नितेशका आफन्तले बेलुकी ७ वजे फोन सम्पर्क गर्दा सिटी सफारी चालक तामाङले सदन स्कुलमा आफुहरु रहेको र चिन्ता नगर्न भन्दै घरसम्म सुरक्षित ल्याइदिने भनेर आस्वासन दिएका थिए ।

मेहेरमान ह्यूजले भने, ‘बेलुकी साढे सात वजे ताइवानी महिलाको पैसा हराएको भनेर सफारी चालक महिलाले फोनमा खवर गरिन् । सफारी चालक महिलाले धरानको माछाभौडीमा पैसा हराएको सुचना दिएकी थिइन् ।’ माछाभौडीमा आइपुग्दा व्याग झरेको र पछाडि रहेका अन्य सफारी चालकले टिपेर व्याग दिएपछि व्याग भित्र राखेको पैसा बोक्ने पर्स फेला नपरेपछि ती ताइवानी महिलाले ‘कल पुलिस, कल पुलिस’ भनेर चिच्याएकी थिइन् ।
ताइवानी महिलाका आफन्त ह्यूज परिवार पनि आएपछि भानुचोकमा रहेको वडा प्रहरी कार्यालयमा खबर गरेका थिए । प्रहरीले सफारी चालक रिना तामाङ र माछाभौडीमा खसेको व्याग भेटाएर दिने २ जना युवालाई प्रहरीले नियन्त्रणमा लिएको थियो । वडा प्रहरी कार्यालयले थप अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय पठाएको थियो । प्रहरीले लिखित उजुरी नपरेकाले सामान्य रुपमा छलफल गरेर पठाएको जनाएको छ ।

छलफलमा सफारी चालक र उनको छोरालाई कुटपीट गरेको आरोपमा ताइवानी महिलाको आफन्त मेहेरमान हयुज गिरीलाई १५ हजार रुपैयाँ उपचार खर्च भनेर तिराउँदै मिलापत्र गराएको छ । मेहेरमानले भने, ‘विदेशी महिला ताइवानीको त्यत्रो रकम हराएकाले खोजी दिनु भनेर गएको तर उल्टै अन्याय गरेर पठाए ।’ ती विदेशीले यो नेपालीको बारेमा के सुनेकी थिइन्, के सोचेकी थिइन् के भोगेर जाने भइन् ।

ताइवान, चिनमा अब यिनले नेपालको बारेमा धरानको बारेमा, यहाँको प्रहरी प्रसासन, नागरिक, यातायातकर्मीको बारेमा के राम्रो प्रचार गर्लिन् त ?’
प्रहरी प्रशासनले समेत वेवास्ता गरेपछि झन पीडित बनेकी हुलाई स्वदेश फर्कन समस्या भएको मेहेरमानले बताए । इलाका प्रहरी कार्यालय धरानले कुनै लिखित उजुरी नआएकाले सफारी चालक सहित आएका २ युवालाई सोधपुछ गरि पठाएको जनाएको छ । लिखित उजुरी आए प्रहरीले अनुुसन्धान गर्ने इप्रका धरानका प्रहरी निरिक्षक राजेन्द्र प्रसाद पराजुलीले बताए ।

-नयाँघटनाबाट

Follow Us

Facebook

Twitter

© Copyright by NayaBato
सम्पर्क nayabatous@gmail.com
Scroll Up