पाँच महिनाको काखे सन्तान च्यापेर रातभर रुखमा बास

चितवन- खाना खाएर सक्दा नसकिँदै शुक्रबार साँझपखबाटै पानी पर्न सुरु भयो। रात छिप्पिँदै जाँदा झनै दर्कियो। आडैको चिताई खोलामा बाढी उर्लिएर आयो। बाढीको त्रासले पाँच महिनाको छोरा काखमा लिएर ओछ्यानमा पल्टेकी सविता परियार निदाउन सकेकी थिइनन्। ‘लौ भागौं भागौं’ छिमेकीको यो आवाजले उनी नराम्ररी झस्किन।

काखमा पाँच महिनाको छोरासँगै अर्को तीन वर्षको छोरा पनि थियो। घरको आँटीको लिस्नोबाट ओर्लन नभ्याउँदै उनको खुट्टाले पानी छोयो। आडको घर मामाको थियो। मामाले सहयोग गरेर बल्लबल्ल उनी घरबाहिर निस्किन। कहाँ जाने। जताततै पानी नै पानी थियो। सय मिटर पर रहेको चितई खोलाको सबै पानी फर्केर घरतिर आएझै लाग्यो उनलाई।

पानीको बेग बलियो हुँदै गयो। ‘लौ छोरा र मेरो काल आएछ’ भन्ने उनलाई लाग्यो। तर आडैमा ठूूलो पिपलको रुख थियो। माडी नगरपालिका–२ ढिकुन, भैरवपुरकी सवितासहित तीन घरका चौधजना त्यही रुखमा चढे। पानी कम हुँदै जाँदा मध्यरातपछि पल्लो गाउँका मान्छे आएर उद्धार गरे। घरनजिकैको रुखले उनीहरूलाई जोगायो। सविताको घरको आडमा मामा भीमबहादुर परियारको घर छ।

श्रीमान श्रीमतीसहित भीमबहादुरका ६ वर्ष र १५ वर्षका दुई छोराछोरी छन्। नजिकै सोममाया परियारको घर छ। उनका ४ वर्ष, ६ वर्ष, ८ वर्ष र ११ वर्षका छोराछोरी छन्। सवितासँगै उनका वृद्धवृद्धा बाबुआमा पनि बस्छन्। शुक्रबार सँाझ सोममायाका श्रीमान घरमा थिएनन्। आठ केटाकेटीसहित १४ जनाले रुखमा चढेर ज्यान जोगाए। ‘मेरा श्रीमान दुर्घटनामा परेर दुवै खुट्टा नचल्ने हुनुभएको छ। अहिले उहाँ उपचारका लागि काठमाडौं हुनुहुन्छ,’ सोममायाले भनिन्, ‘रुखमा चढे पनि बाँचौला भन्ने लागेको थिएन तर बाँचयो।’

विस्तारै पानी कम हुँदै गएपछि पल्लो गाउँमा टर्च बाल्दै हिँडेका मान्छे देखिए। ती मानिस जब खोला नजिकै किनारमा आइपुगे तब रुखमा रहेका जोडजोडले चिच्याए। ‘धन्न खोलामाथिको पुल केही भएको रहेनछ। हामी पुल तरेर रुखको आडमा गयौं’, उद्धार गरेका स्थानीय शिक्षक सूर्य भुसालले भने।

उनीहरू लगभग रातको चार घण्टा पानीमा भिज्दै रुखमा बिताए। विद्यालयमा रेडक्रससँग आबद्ध भुसाल उद्धार टोलीसहित गाउँगाउँ डुलेका थिए। नारायणी, राप्ती, रिऊ जस्ता खोलाले घेरिएको माडी बाढीबाट प्रभावित भएको छ। माडीमा बाढीले कुनै मानवीय क्षति त गरेको छैन तर जनजीवन अस्तव्यस्त बनाएको छ।

चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टका अनुसार बाढीले १६ घरमा पूर्ण क्षति भएको छ। तीन सय घरपरिवार प्रभावित भएका छन्। पुलहरू भत्किएका कारण यातायात अवरुद्ध छ। पानी लगातार परेका कारण जोखिम कायमै छ। सावधानी अपनाउन स्थानीयलाई सजग बनाएको उनले बताए।

शुक्रबार मध्यरातमा ठूलो बाढी आएको माडी नगरपालिका–१, बनकट्टाका यमबहादुर अधिकारीले बताए। माडी–२, ३ र ४ मा क्षति भएको छ। चिताई खोला र डाँग्रे खोलामाथिको पुल भत्केका कारण ठोरी–माडी–भरतपुर हुँदै देशका विभिन्न ठाउँमा जाने गाडी सञ्चालन हुन सकेका छैनन्।

सानाठूला गरी १० वटा पुल भत्केको प्रमुख जिल्ला अधिकारी भट्टले जानकारी दिए। जोखिममा रहेका घरका बासिन्दालाई सुरक्षित स्थानमा राख्न थालिएको उनले बताए। नेपाली सेनाले उद्धार टोली बनाएको छ। चितवन निकुञ्जले उद्धारका लागि हात्तीको व्यवस्था गरेको छ। माडीमा रहेका १५ वटा माछा पोखरीमा पनि बाढी पसेर असर परेको छ।

माडी नगरपालिकाका मेयर ठाकुर ढकाल विवरण संकलन कायमै रहेका कारण क्षतिको अवस्था अझै बढ्न सक्ने बताउँछन्। प्रसारण लाइनमा समस्या आएका कारण माडीमा तीन सातादेखि बिजुली बत्ती बलेको छैन। टेलिफोन टावरले पनि काम गर्न छाडेका कारण आधा माडीमा मोबाइल सम्पर्क बन्द छ। खानेपानीको मुहानमा पनि क्षति पुगेको छ। नागरिक दैनक

Follow Us

Facebook

Twitter

© Copyright by NayaBato
सम्पर्क nayabatous@gmail.com
Scroll Up