अर्घाखाँची र गुल्मीमा समन्वय समितिको चुनाव हुँदै

अर्घाखाँची, २८ साउन । जिल्ला समन्वय समिति अर्घाखाँचीको प्रमुखमा कांग्रेसबाट पिताम्बर शर्मा भुसालले मात्रै उम्मेदवारी दर्ता गराएका छन् । कांग्रेस र माओवादी गठबन्धन भई उपसभापतिमा माओवादीका ऋषिबहादुर पुलामीले उम्मेदवारी दर्ता गरेको मुख्य निर्वाचन अधिकृत केशवप्रसाद वास्तोलाले जानकारी दिए ।
खुल्ला सदस्यमा माओवादीबाट ढालबहादुर राउत क्षेत्री, रेमबहादुर राना मगर, कांग्रेसबाट शमशेर दिन मियाँले उम्मेदवारी दर्ता गराएका हुन् । महिला सदस्यमा विमला परियार, झमकुमारी श्रेष्ठ, लक्ष्मी पौडेल र दलितबाट सदस्यमा बलेन्द्र विकले उम्मेदवारी दर्ता गरेको निवार्चन समितिका सदस्य तथा जिल्ला अदालतका सूचना अधिकारी टेकराज गैरेले जानकारी दिए ।
बिहीबार बिहान दश बजेदेखि दिउँसो एक बजेसम्म उम्मेदवारी दर्ताको लागि समय रहेको थियो । कांग्रेस र माओवादी गठन भएसँगै एमालेले भने उम्मेदवारी दर्ता नगरेपछि गठबन्धनबाट पिताम्बर भुसाल शर्मासहितको प्यानल विजयी हुने निश्चित भएको छ । भुसालले नेपाली कांग्रेसको दुई कार्यकाल जिल्ला सभापति भई काम गरेका थिए ।
समन्वय समितिमा एमालेको मात्र उम्मेदवारी
जिल्ला समन्वय समिति गुल्मीमा नेकपा एमालेका उम्मेदवारहरुको मात्र उम्मेदवारी परेको छ । मुख्य निर्वाचन कार्यालय गुल्मीको निर्वाचन तालिका अनुसार शुक्रवार उम्मेदवारी दर्तामा गुल्मीमा एमालेका मात्र उम्मेदवारी दर्ता भएको मुख्य निर्वाचन कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार नेकपा एमालेका तर्फबाट प्रमुखमा लक्ष्मण पराजुली, उपप्रमुखमा लुल्सीकुमारी श्रेष्ठको उम्मेदवारी दर्ता भएको छ । त्यस्तै सदस्यहरुमा राममल्ल ठकुरी, चेतन बस्नेत, हरिप्रसाद ज्ञवालीले उम्मेदवारी दर्ता गरेका छन् भने महिला सदस्यमा गंगा पन्त, जनजातिमा रमादेवी पुन, दलित महिला सदस्यमा उजेली विकको उम्मेदवारी भएको मुख्य निर्वाचन अधिकृत मात्रृकाप्रसाद मरासिनीले जानकारी दिए । यस्तै दलित सदस्यमा दलबहादुर बिकको उम्मेदवारी परेको हो । समन्वय समितिमा जिल्लाका २ नगरपालिका र १० गाउँपालिकाका प्रमुख उपप्रमुखले मतदान गर्न पाउने व्यवस्था रहेको छ । मतदान गर्ने व्यवस्था अनुसार गुल्मीमा एमालेका १७ नेपाली कांग्रेसका ६ र माओवादी केन्द्रका १ जना रहेका छन् । मुख्य निर्वाचन कार्यालयका अनुसार अन्य दलहरुको उम्मेदवारी परेको भएमा ३२ गते मतदान हुने तालिका रहेको भएपनि एक राजनीतिक दलका उम्मेदवारहरुको मात्र उम्मेदवारी परेकाले ३० गते नै घोषणा गर्ने बताइएको छ ।
जिल्लाका १२ स्थानीय तहमध्ये एमालेले २ नगरपालिकासहित ७ स्थानीय तह जितेको थियो । एमालेले थप ३ स्थानीय तहमा उपाध्यक्ष जितेको छ । जिल्ला समन्वय समितिको कुल २४ मतमध्ये एमाले एक्लैको १७ मत रहेको थियो । कांग्रेसले ३ गाउँपालिकाको अध्यक्ष र थप एक तहमा उपाध्यक्ष जितेको थियो । माओवादी केन्द्रले एउटा गाउँपालिकाको अध्यक्ष मात्र जितेको छ । समन्वय समितिको निर्वाचनको लागि शुक्रवार २७ गते १ बजेसम्मको लागि मनोनय दताको समय राखिएको जिल्ला अदालत गुल्मीका श्रेस्तेदार दुर्गा बस्यालले जानकारी दिए । निर्वाचन कार्यतालिका अनुसार साउन २९ गते दाबी विरोध र ३० गते अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम रहेको छ । समितिका साउन ३१ गते १० बजे मतदानको कार्यक्रम राखिएको छ ।

Follow Us

Facebook

Twitter

© Copyright by NayaBato
सम्पर्क nayabatous@gmail.com
Scroll Up