नेपालका नेता न कम्युनिष्ट हुन् न प्रजातन्त्रवादी ? डा. युवराज संग्रौला

डा. युवराज सङ्ग्रौलासँगको विचारोत्तेजक अन्तर्वार्ता

० नेपालमा वामपन्थी कम्युनिस्ट र प्रजातान्त्रिक भनिने शक्तिहरूबीच तपाईं के–कस्ता भिन्नता र समानता देख्नुहुन्छ ?

– राजनीतिक शक्तिहरूबीचमा समानता र भिन्नता खास–खास घटना र सन्दर्भले प्रकट गर्दछन् । बीपीले आत्मवृत्तान्तमा मनमोहन अधिकारी र कम्युनिस्टहरूको प्रशंसा गरेका छन् । उनको यस सन्दर्भलाई गहिरिएर विश्लेषण गर्ने हो भने ‘वाद’ जात र धर्म होइन, त्यो उद्देश्य प्राप्त गर्ने वैचारिक आधार-माध्यम वा दृष्टिकोण हो । लक्ष्य एउटै हुन्छ त्यो हो मानव कल्याण र विकास ।

सक्रियतावादीहरूलाई युरोपमा पुनर्उत्थानको युगमा वामपन्थी भनियो । परिवर्तनविरोधी राजतन्त्रवादी, चर्चवादी, धार्मिक अन्धवादी आदिलाई दक्षिणपन्थी भनियो । यस अर्थमा परिवर्तन र स्वतन्त्रता एवम् आर्थिक विकासमा सामन्तवादविरोधी उदारवादीहरू सबै वामपन्थी हुन् । वामपन्थीभित्र आमूल परिवर्तनका पक्षधरहरू माक्र्सवादी चिन्तनका समर्थक बन्न पुगे । माक्र्सवादले आर्थिक विकास राजनीतिक चिन्तनका समर्थक बन्न पुगे । माक्र्सवादले आर्थिक विकास राजनीतिक सत्तासँग अपरिहार्य सम्बन्ध हुन्छ भन्ने घोषणा ग¥यो । ‘कम्युनिस्ट मेनिफेस्टो’को कार्यक्रम बोक्नेहरू कम्युनिस्ट वामपन्थी भए । आर्थिक विकास र राजनीतिक सत्तामा विश्वास गरे पनि कम्युनिस्ट मेनिफेस्टोले घोषणा गरेको राजनीति नबोक्ने ‘सामाजिक प्रजातन्त्रवादी’ भए । नेपालमा बीपी यसका प्रतिनिधि भए । आर्थिक विकासलाई राजनीतिक सत्ताबाट अलग राखी पुँजीपतिको कार्यक्षेत्र मान्नेहरूलाई उदारवादी भनियो, जसलाई प्रजातन्त्रवादी भनियो ।

नेपालको वर्तमान अवस्थामा ‘कम्युनिस्ट’को ठूलो ढिक्का अवसरवादी-संशोधनवादी बन्यो । र, उदारवादीहरू नवउदारवादी बने । यी दुवै शक्ति केवल राजनीतिक शक्तिका लागि कार्यरत हुन्छन् । त्यस अर्थमा यिनीहरूबीच विचारमा कुनै भिन्नता हुँदैन केवल स्वार्थमा हुन्छ । माओवादी र काङ्ग्रेस चुनाव तालमेल यसकै उदाहरण हो ।

नेपालमा कम्युनिस्ट वामपन्थी र प्रजातन्त्रवादी भनिने दलहरूका बीचमा ‘राजनीतिमा कुनै भिन्नता छैन, किनकि दुवैसँग आर्थिक विकासको कुनै विचार छैन ।’ यिनीहरूबीचमा विचारको भिन्नता नभएपछि, दुवैमा समानता छ भन्न सकिन्छ । दुवै कम्युनिस्ट पनि रहेनन् र दुवै प्रजातन्त्रवादी पनि रहेनन् । भिन्नता सङ्गठित ढाँचामा मात्र छ । पछिल्लो समयमा प्रजातन्त्रवादी भनिनेमा नेता बढी ‘सामन्तवादी’ नाइकेजस्तो देखिएको छ भने वामपन्थीहरूमा नेता होइन पार्टीभित्र गुटहरू महत्वपूर्ण छन् । मन्त्री–प्रधानमन्त्री भई ‘राज्यको हैसियत प्रयोग गर्न’ दुवैमा बराबर लोभ देखिन्छ भने भ्रष्टाचारप्रति दुवैको चिन्ता छैन । त्यसैले भिन्नता केमा सीमित छ भने ‘उनीहरूका कार्यकर्ता’ फरक छन् ।

० जो–जति क्रान्तिकारी भूमिकामा देखिन्छ, ती त्यति नै राष्ट्रद्रोहीजस्तो लाग्ने ! के भएर होला यस्तो ?

डा युवराज संग्रौला

– क्रान्तिका दुईवटा रूप हुन्छन् । एउटा समाजको रूप र सो बदल्ने विवेकयुक्त उद्देश्य र कार्यक्रम हो । यो गान्धी, माओ, हो–ची मिन्ह, क्यास्ट्रो, शेख मुजिबुर आदिले प्रयोग गरे । ओलिभर क्रमवेल, रोजेसपिउर, पोलपटजस्ताका क्रान्ति ‘रोमान्टिक सपनावाद’ मात्र थिए । नेपालमा माओवादी क्रान्ति ‘रोमान्टिक सपनावाद’ मात्र थियो । ‘रोमान्टिक सपनावाद’मा क्रान्तिका लागि केवल उद्देश्य महत्वपूर्ण हुन्छ, प्रक्रियाको वैधानिकता सन्दर्भहीन हुन्छ । उग्र उपयोगितावाद, ‘ताक परे तिवारी नत्र गोतामेवाद (कन्सिकोचन्टाजिजम), ‘अड्को पड्को तेलको धुपवाद’ (अपर्चुनिटिजम) सपनावादका दार्शनिक मान्यता हुन् । सन् १९९० पछि राजनीतिमा गणेशमान–भट्टराईको उदारपन्थ र मदन भण्डारी–मनमोहनको प्रयोजन्यवाद राजनीतिमा स्थापित भयो । उग्र कम्युनिजमले स्थान पाएन । त्यसैले ‘रोमान्टिक सपनावाद’ले मानिसमा स्थान जमाउने चाल खेल्यो । उग्रवाद कहिले पनि राष्ट्रवादी हुँदैन । उसले जहिले पनि अवसरवाद खोज्छ, त्यसैले ऊ सत्ताका लागि राष्ट्रियतालगायत नैतिकतालाई राजनीतिको कुनै आधार मान्दैन । क्रान्तिकारी जब युटोपियन हुन्छ, ऊ क्रान्तिकारी नै नरहने हुँदा उसका गतिविधि संदिग्ध हुन्छन् । त्यसैले सतहमा होइन सारमा हेर्नुपर्छ ।

० २०६३ को परिवर्तनपछि सबैभन्दा उन्नत राजनीतिक व्यवस्था पैदा भएको दाबी गरिँदै छ, तर अवस्थाचाहिँ झन् खराव । पहिले कसरी देश बनाउने भन्ने चिन्ता थियो, अब देश कसरी बचाउने भन्ने चिन्ता हुँदै छ । यसमा तपाईंको धारणा के छ ?

– यो राजनीतिक व्यवस्था नै होइन । यो लोकतन्त्रका सिद्धान्तहरू समाप्त गरी स्थापित गरिएको ‘केवल वैधानिक अवस्था हो’ । यस व्यवस्थामा फोहोरहरूको फ्युजन गरिएको छ । नेपाल आदिम समयदेखि ‘धार्मिक स्वतन्त्रतामा विश्वास राख्ने देश हो । यहाँ जनै नलगाई ब्राह्मण हुन रोक छैन । मासु खानेले पनि मन्दिर जान पाउँछ । नेपालमा वैदिक सनातन दर्शन, मुन्धुम दर्शन र बौद्ध दर्शन र तिनीहरूले स्थापित गरेका ‘संस्कारहरू’ छन् । बाहुनहरू बलि दिन्छन्, किराँतहरू भाइटीका लगाउँछन्, बुद्धधर्मीहरू अरूले जस्तै विवाह गर्छन् । तर, क्रिस्चियनिटीलाई वैधानिकता प्रदान गर्न ‘धर्मनिरपेक्षता’ लादियो र नेपाली संस्कृति र दर्शनलाई विस्थापित गर्ने षड्यन्त्र अहिलेको व्यवस्था हो । सङ्घीयता देशलाई विभाजित गर्ने ‘बहुर्राष्ट्रियता’ स्थापित गर्ने चाल थियो, जो अहिलेको व्यवस्था हो । काङ्ग्रेस र एमालेले अडान नराखी लतारिँदा यो व्यवस्था आयो । गिरिजाको माओवादी प्रेम र राजासँगको झगडाको प्रतिफल यो व्यवस्था हो । ज्ञानेन्द्रले तुल्सी गिरीजस्तालाई लिएर २१औँ शताब्दी हाँक्न खोज्दाको परिणती यो व्यवस्था हो । ज्ञानेन्द्र र राजनीतिक दलका बीचमा द्वन्द्वको परिणती यो व्यवस्था हो । यो कुनै पनि हालतमा प्रगतिशील व्यवस्था होइन । यो व्यापारिक–क्रिस्टियानिटी, पश्चिमी हस्तक्षेप र भारतीय विवेकशून्यतावादी तत्वहरूलाई ‘मञ्च दिने व्यवस्था हो’ । यसमा थुप्रै रमाएका छन् । तर, यो ‘खुसी सिस्नोघारीमा आराम गरेजस्तै हो ।’

० कतिपयले ०६३ को परिवर्तनलाई प्रायोजित पनि भन्न थालेका छन्, तपाईंलाई के लाग्छ ?

– ०६३ सालभन्दा धेरै पहिलादेखि प्रायोजित थियो । गणेशमान र भट्टराईलाई सिध्याएर नवउदारवाद स्थापित गर्न काङ्ग्रेस र वामपन्थी शक्तिलाई विभाजित गरियो र पहिलो प्रतिनिधिसभा भङ्ग गर्ने काम पश्चिमी संस्थाहरूले गरे । नेपालमा रहेका मिसनरीहरू यसमा संलग्न थिए । माओवादी आन्दोलनमा पनि उनीहरूको घुसपैठ थियो । असल भविष्यका लागि परिवर्तन चाहने जनता ज्यानको बाजी लगाएर यसमा लागे । तर, नेतृत्वको माथिल्लो तहमा अर्कै तत्व सक्रिय थियो । यो शक्तिलाई पश्चिमी शक्तिले प्रयोग नगरोस् र नेपालको राष्ट्रवादी शक्ति छिन्नभिन्न पार्न, पछि भारत प्रवेश ग¥यो । जनताको समर्पण ०६३ सालमा परिवर्तनका लागि थियो । नेतृत्वले गरेका कुरा प्रयोजन थियो । कोही यस प्रयोजनका गोटी थिए । अरू थाहै नपाई लतारिए ।

० यो देश बर्बाद भएको छ र हुँदै छ भन्ने तपाईंलाई पनि लागेको छ भने देश बर्बादीका सात कारण के हुन सक्छन् ?
– देश बर्बादीका सात मुख्य कारण हुन्–

१) ०२८ सालबाट हाम्रो सामाजिक मूल्य र मान्यता एवम् भाषा समाप्त पार्ने दीर्घकालीन योजनाअनुसार नेपालको मौलिक रूपमा विकास हुँदै गरेको र स्थानीय जनताले पालनतालन गरेको शिक्षा प्रणाली उन्मूलन गरी नयाँ शिक्षा ल्याइयो, जसमा दरबारमा राजालाई बेबकुफ बनाएर मोज गर्ने केही दरबारियाहरू विदेशीका गोटी बनेका थिए ।

२) शान्तिक्षेत्रको प्रस्तावलाई दरबारियाहरू, काङ्ग्रेस र कम्युनिस्ट मिलेर समाप्त पारे, भारतको हितमा ।

३) २०४७ सालपछाडि ‘राष्ट्रिय उद्योगहरू’ बन्द गरेर तराईका मानिसलाई बेरोजगार बनाइयो ।

४) राज्यका सबै महत्वपूर्ण नियका निकम्मा बनाइयो । प्रहरी सङ्गठन तहसनहस पारियो । सर्वोच्च अदालतलगायत न्यायपालिका पार्टीका वकिल भर्ती गर्ने केन्द्र बनाइयो । राजनीतिक भागबन्डालाई संस्थागत गरियो ।

५) नेपालको कूटनीति र सुरक्षा–नीतिलाई समाप्त पारियो । कूटनीतिक नियुक्ति भान्सेलाई जागिर दिने बनाइयो ।

६) विदेशी रोजगारीको नाममा युवा बेच्ने र विकासका नाममा कालोधनका हाउजिङ इकोनोमीबाट कृषिमा आधारित अर्थतन्त्र र कृषि आधुनिकीकरणलाई लथालिङ्ग पारियो ।

७) राष्ट्रका विश्वविद्यालयहरूमा भाटहरूको जमघट गराई देशको बौद्धिक ढुकुटी बन्न नदिने र राजनीतिक दलहरू अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाद्वारा सञ्चालित हुने परिपाटी स्थापित गरियो ।

यी सबै कारणले एकमुष्ट परिणामको रूपमा राजनीतिक अराजकता र अवसरवादको संस्थापन गरे ।

० अनि बर्बादीका निम्ति जिम्मेवारचाहिँ क–कसलाई ठान्नुहुन्छ नि ?

– बर्बादीको मुख्य कारण विदेशी पीआर लिएका, अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाबाट सञ्चालित तर नेताका किचन वा शौचालयवरिपरि पनि चाकरी गर्न उभिने पत्रकार, वकिल, प्राध्यापक र अन्य बुद्धिजीवी हुन् जसले नेतालाई विचारहीन बनाए । अर्को समूह हो माफिया–नवधनाढ्यहरू र बानियातन्त्रको सोच बोकेका केही उद्योगपति । फटाहाहरू कर्मचारीतन्त्रमा बसेर भ्रष्टाचार गर्ने थुप्रै सचिव पनि हुन् । र, कुखुरो नबासी नेताका घरमा पुग्ने प्रहरी कर्मचारी पनि हुन् । अन्तमा देशको खर्चमा पढेर बिदेसिएका पलायनवादीको पनि भूमिका छ ।

० एकजना मात्र मुख्य दोषी औँल्याउनुप¥यो भने ?

– एकजनाले मात्र यस्तो ऐतिहासिक देश बर्बाद गर्न सक्तैन । त्यसैले व्यक्ति त प्रवृत्तिको दास हो । तर, प्रवृत्तिको प्रकटीकरण कसैबाट भयो होला । यस्ता मानिस निकै धेरै छन् । एउटाको मात्र नाम लिँदा अरू फटाहाहरू जोगिन्छन् ।

० अब देश बनाउने हो भने कहाँबाट सुरु गर्नुपर्ला ? कसरी सुरु गर्नुपर्ला ?

– अब बौद्धिक क्रान्तिको बाटो रोज्नुपर्छ । देशभक्तिसँग व्यक्तिको उद्यमशीलता जोड्नुपर्छ । सबै क्षेत्रमा जनताको थोरै पुँजी सङ्कलन गरी कम्पनीकरणद्वारा गाउँ–गाउँमा उत्पादन गर्ने लघु उद्योगहरूको लागि बौद्धिकहरू र सञ्चारमाध्यमले अभियान सञ्चालन गर्नुपर्छ । यस्ता उद्यमले उत्पादन गरेका वस्तुहरू प्रयोग गर्ने प्रतिबद्धता जनतामा निर्माण गर्नुपर्छ । अब रक्सीको बोतल गाउँ जाने र दूध बेचेर कोक पिउने उपभोक्तावादी संस्कृतिका विरुद्ध लड्नुपर्छ । यसरी सचेत जनताले दलहरूलाई आफँै सजाय गर्नेछन् । विशुद्ध विकासप्रेमी युवाहरूले राजनीतिलाई हातमा लिनुपर्छ ।

० नेपालको विकासका आधारहरू के हुन् ?

– नेपालको विकासका आधार भ्रष्टाचारलाई नियन्त्रण गर्नु र अतिउपभोक्तावादलाई आधार बनाएर ‘राजनीतिक दलका अवसरवाद’का विरुद्ध आन्दोलनको निर्माण गर्नु हो । यसका केही भिन्न आयाम छन् । जस्तै कूटनीतिमा भारतको धेरै बौद्धिकहरूसँग त्यहाँका कर्मचारीले कसरी नेपाल–भारत सम्बन्ध बर्बाद गरे पनि लबिङ सुरु गर्नुपर्छ । देशभक्तिलाई नेपालको उन्नतिसँग जोड्नुपर्छ भारतको विरोधमा होइन । हाम्रो विरोध भारतप्रति होइन लम्पसार परी भारतको सहयोगमा सत्ता प्राप्त गर्नेका विरुद्ध हुनुपर्छ । चीनसँग ‘बेल्ट र रोड’को परियोजनामा सहकार्य गर्ने कुरालाई कूटनीति बनाई नेपालको भूमि भारतका विरुद्ध प्रयोग नहुने सुनिश्चित गर्नुपर्छ । विकासको जग ‘आमजनताको सानो पुँजी एकत्रित गरी आत्मनिर्भर अर्थतन्त्र’को आधार सिर्जना गर्नुपर्छ । हामीसँग भएको पानीलाई पेट्रोल बनाउनुपर्छ र हाम्रो पाखाहरू जनावर र तिनीहरूको स्रोतको प्रयोगमा समर्पित गर्नुपर्छ । हाम्रो जडीबुटीले एन्टिबायोटिकलाई प्रतिस्थापित गर्नुपर्छ ।

० नेपालको परराष्ट्रनीति पृथ्वीनारायणले भनेजस्तो हुनुपर्ने हो कि प्रचण्डहरूले अवलम्बन गरेजस्तो ?

– नेपालको परराष्ट्रनीति पृथ्वीनारायणको उपदेशमा आधारित हुनुपर्छ । पृथ्वीनारायणले आन्तरिक स्थितिको विश्लेषण गर्न सिकाएका हुन् । नेपाल अब ‘भूपरिवेष्टित छैन’ ‘ल्यान्ड लिङ्क्ड’ भएको छ । पृथ्वीनारायणले सुरक्षानीतिको कुरा गरेका हुन्, जो अकाट्य छ । गलत कूटनीतिले सुरक्षालाई प्रभावित गर्छ । प्रचण्डको कुनै परराष्ट्रनीति छ र ? छैन । उनी आफ्ना लागि जे पनि गर्न सक्तछन् भन्ने देखाइसकेका छन्, जसलाई अवसरवाद भनिन्छ ।

० भारतप्रति हाम्रो नीति र व्यवहार भीमसेन थापाले अवलम्बन गरेजस्तो उचित हो कि जंगबहादुरले ?

– भारतसँग हाम्रो सांस्कृतिक घनिष्टता हुनुपर्छ । व्यापारमा हामीले भारतसँग निर्भर हुनुहुँदैन । नाताभित्र व्यापार गर्दा लडाइँ हुन्छ । भीमसेन थापा र जंगबहादुर दुवैका नीति भारतसँग होइन बेलायतसँग सम्बन्धित थिए । वर्तमान नेपालको सम्बन्ध भारतीयसँग हो । यसको तात्पर्य हो ‘सांस्कृतिक आबद्धता र व्यापरिक पृथकता’ । पहिलो कुरा हामीले आफैँ बनाउनुपर्छ । दोस्रो व्यापार सस्तो दिनेसँग गर्नुपर्छ ।

० अब पनि नेपाल बन्न सक्छ–सम्भव छ भने आशाका आधार के हुन् ?

नेपाल बन्न सक्छ, आशा मात्र होइन यो भरोसा नै हो । आधारहरू छन् । पहिलो हो– हामीसँग ३५ सय वर्ष पुरानो इतिहास छ, जसलाई मेटाउन कसैले सक्तैन । रूखमा झ्याउ पनि लाग्छ, झ्याउँकिरी बसेर हल्ला पनि गर्छन्, र ऊ फल्न छोड्दैन । दोस्रो कुरा, हामीसँग चुस्त प्राविधिक ज्ञान भएका युवाको ठूलो सङ्ख्या छ । उनीहरूको भ्रम समाप्त गरेर उत्पादनशील काममा लगाउनुपर्छ । तेस्रो, प्रयोगजन्य विकासवादी राजनीतिको छलफल सुरु भइसकेको छ । त्यसैले राजनीतिमा अब अन्धवादको पतन हुनेछ । चौथो– हामीसँग पानी, युरेनियम, ग्रेनाइड, जिंकजस्ता प्रचुर प्राकृतिक÷भौगर्भिक स्रोतलगायत सधैँ खेती हुने जमिन, अथाह जडीबुटी र मौलाइरहेको वन सम्पदा छ । संसारको ०.१ प्रतिशतजति जमिनमा बनेको नेपालसँग संसारको करिब ३ प्रतिशतजति प्राकृतिक स्रोत छ । तर, हाम्रो जनसङ्ख्या तीन करोड मात्र छ । हामीले हाम्रा स्रोतहरूको पूर्ण प्रयोग गर्दा चीन र भारतलाई पाल्न सक्ने स्रोत छ । हामीसँग मात्रै लगनशीलता, सकारात्मक सोच र दृढताको अभाव छ । त्यसैले अब बौद्धिकहरूले बाटो देखाउने युग हो ।

० अन्त्यमा, यदि तपाईंले नेपालको प्रधानमन्त्री बन्ने मौका पाउनुभयो भने सुरुवात कहाँबाट गर्नुहुन्छ ?

– पहिलो कुरा हो, नेपालको राजनीतिलाई ‘स्याल’को बाख्रो खाने दाउबाट बनाउने कार्य । प्रधानमन्त्री र नेताले राज्यका सुविधा त्याग गर्नुपर्छ । त्यसैले, राज्यका साधनको शोषण गर्न बन्द गर्छु । आफ्नै तलबको भात खान्छु । राज्यका लागि आठ घन्टा काम गर्छु । त्योभन्दा बढी समय ‘राज्यका लागि अनुदान’ गर्छु । राज्यमा सरकारी कर्मचारीले राज्यका सवारीसाधन र तेल खर्च गर्ने प्रथा बन्द गर्छु । एउटा सचिवले चढेको दुई करोडको गाडीको पैसाले थुप्रै तलब बढाउन सकिन्छ । वर्षमा पाँच–६ अर्ब त सवारीसाधन किन्न खर्च भइरहेको छ, त्यसपछि कर्मचारीको टे«ड युनियन बन्द गर्छु । कर्मचारीले जनताको सेवा गर्नुपर्छ राजनीति होइन । त्यसपछि आजीवन काराबासको सजाय हुने ‘भ्रष्टाचार निर्मूलन’को नयाँ कानुन बनाउँछु । सम्पत्तिको जाँच गर्छु र भ्रष्टाचारीलाई निर्ममतापूर्वक कारबाही गर्छु । राज्यको नेतृत्वमा कृषिमा आधारित नेपालमा आवश्यक खाद्यान्नका लागि चामल उत्पादन, जुत्ता उत्पादन, कपडा उत्पादनलगायतका उद्योगहरू स्थापित गर्छु । राष्ट्रिय निर्माण कम्पनीलाई पुनस्र्थापित गरी राज्यको पूर्वाधार निर्माणको काम यसमार्फत गर्छु । भारत र बंगलादेशलाई बिजुली होइन पानी बिक्री गर्छु । जति लान्छौ लैजाऊ तर प्रतिक्युसेक पैसा देऊ । जनजाति, पछाडि पारिएका वर्ग र महिलाका लागि १० वर्ष ‘चिकित्सा, इन्जिनियरिङ, कानुन, प्रविधिजस्ता विषयमा विशेष विश्वविद्यालय निर्माण गर्छु र १० वर्ष मुसहरदेखि थारूसम्मका आदिवासी जनताका १० हजार चिकित्सक र इन्जिनियर तयार पार्छु, त्यसपछि कोटा प्रणाली समाप्त पार्छु । यस्तै यस्तै ।

-घटना र विचार डटकमबाट साभार

Follow Us

Facebook

Twitter

© Copyright by NayaBato
सम्पर्क [email protected]
Designed by appharu.com
Scroll Up