के यिनीहरुलाई सुरक्षा चुनौति छैन ?

सरगम भट्टराई

लोकतन्त्रको आवरणमा बनेका हाम्रा शौखिन छोटे महाराजहरुले वेलायती पूर्व प्रधानमन्त्री डेभिड क्यामरुनले सार्वजनिक ट्रेनमा यात्रा गरेको र संसारकै महाशक्तिशालीमा पर्ने रसियन राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो सवारी साधनमा आफै ईन्धन हालेको, उरुग्वेका पूर्व राष्ट्रपति जोसेफ़ मुजिकाले सरकारी आवास अस्वीकार गरेका फोटोहरु के नदेखेका होलान् र ?

फोटो: अनलाइन खबर बाट

हामी कहाँ त हाम्रा नवराजाहरुलाई खोला तार्न पिठ्युँमा बोक्नुपर्छ, मन्दिरमा दर्शन गर्न गए जुत्ता बोकिदिनुपर्छ, जुत्ताको तुना बाँधिदिनुपर्छ र करोडका गाड़ी चढ्ने त छँदैछ, दुलहालाई जस्तै बाहिर हिड्दा छाता ओढाईदिनुपर्छ, माला, खादा र अबीरले ढाक्नुपर्छ । यति मात्र हो र ! शहरमा यिनीहरुको सवारी हुँदा कर्फ्यू लगाएजस्तै पूरा बाटो ख़ाली गरिदिनुपर्छ। यहाँ मान्छे ढलमा डुबेर मरिरहँदा ढलमा ढक्कन समेत लगाउन नसक्नेले स्मार्ट सिटीको कुरा गर्छन्,ज्वरों जँचाउन सिंगापुर, अमेरिका र थाईल्याण्ड पुग्छन् यता रगत अभावमा सुत्केरीहरु मर्छन्, झाड़ा पखालाले मान्छे मर्छन् ।

त्यसो त अहिलेसम्म यिनीहरु मध्येकैले संघर्ष गरेर प्राप्त सकारात्मक उपलब्धिलाई सम्मान त गर्नै पर्छ, किनकी यही उपलब्धिमा टेकेर हामीले बोल्न सम्म पाएका छौँ। तर यति सबै गरेबापत यिनीहरुले देश र जनतालाई समृद्दिको मार्गमा हिडाएको भए त सबै सहन तयार नै थियौँ अझ यिनै मध्येबाट अर्बौँ रक़म भ्रष्टाचार गर्ने, आफू र आफ्ना आसेपासेहरुलाई सुकिला मुकिला बनाउने, कालोबजारी गर्ने, साम्प्रदायिकता फैलाउने गर्छन्। तर बिडम्वना ! यिनीहरु नै बारम्बार चुनाव जितेर आउँछन्, हामी चाहिँ यिनकै दास भएर यिनकै भजन गाईरहेका छौँ।

हाम्रा छोरा छोरीले भोलि भ्रष्टहरुलाई जिताएकोमा हामीलाई नै धिक्कार नगरून् है ! किनकी राजनीति बिग्रनुमा तपाईँ हाम्रै दोष छ। राजनीतिको मेनु परिवर्तन गरौँ। असल रोजौँ,असल सोचौँ ।

Follow Us

Facebook

Twitter

© Copyright by NayaBato
Designed By appharu
Scroll Up