आन्तरिक रस्साकसीमा फसेका नेपाली क्रिकेट टोली मैदानमा उत्रिदा मनोबल भने उच्च नै रहने गर्छ |

आन्तरिक रस्साकसीमा फसेका क्रिकेट सरोकारवालाहरु र आइसिसिले निलम्बनमा राखेको सर्वोच्च क्रिकेट निकायको भविष्य, दृश्य – अदृश्य सबैको ध्यान यो महिना सिंगापुर तर्फ केन्द्रित हुनेछ | आइसिसि यु१९ विश्वकपको छनोटको लागि मैदानमा उत्रिन लागेको नेपाली टोलीको मनोबल भने उच्च नै रहने गर्छ | देशलाई प्रतिनिधित्व गर्दै देशलाई खुशी बनाउने कारणको पात्र बन्ने अवसर पाउनु आफैमा गर्वको विषय छ नै | तर पुर्वाधार र थलिएको घरेलु संरचनाबाट नयाँ आयाममा प्रस्तुत हुन पक्कै पनि खेलाडीहरुले “तुइन” यात्रा गरे | कटे होला, नकटे खोलाको स्थिति रहेकै हो र समस्या विद्यमान छ | भाग्य भरोसा, खेलप्रतिको आगाध प्रेमले गर्दा नेपाली क्रिकेट जिवित छ र होनाहार खेलाडी प्राप्त गर्न सफल भएको छ |

पृष्टभुमिलाई विर्सिएर नेपाली क्रिकेटको वर्तमान गन्जागोल नियाल्ने हो भने यसले ठुलै तनाव दिएको छ | जुनमा भएको आइसिसि बैठकमा नेपालबारे कुनै निर्णय नै हुन सकेको थिएन| फलस्वरुप आइसिसिले बैठक पछि दिने “मिडिया रिलिज” मा नेपालबारे केहि कुरा नै परेन |आइसिसिले वास्ता नगरेको हो कि भन्ने भान पनि हुन्छ | नेपालका स्थानिय आइसिसि प्रतिनिधिले पनि यसबारे कहि कतै बोलेको पाइएन | यति गम्भिर विषय यो पाली किन सार्वजनिकरण भएन भन्ने प्रश्न उठ्दछ |अमेरिका प्रति आइसिसिले गरेको निर्णय झन् डरलाग्दो थियो | उसले अमेरिकालाई प्रतिबन्ध त लगायो तर क्रिकेट भने खेल्न दिने भयो | आइसिसि कर्मचारी सो देशको क्रिकेटका मालिक हुने भए |आइसिसि पनि व्यक्तिहरुकै समुह हो र उसको निर्णय कहिलेकाहि झट्का दिने खालको पनि हुने गरेको छ |

परिपेक्षमा भनिएका कुराहरुबाट नेपाल सजग हुनु पर्ने स्थिति आइसकेको छ | नेपाली क्रिकेटको स्वाभिमानको कुरामा संवेदनशील नेपालीहरुले बुझ्न पर्ने बेला आएको के छ भने अहिले नेपाली राष्ट्रिय टिमको छनोट समितिमा आइसिसि कर्मचारी भारतिय भेंकेटपथि राजु रहेका छन् भने अन्तराष्ट्रिय क्रिकेट खेल्न/खेलाउन श्रिलंकन बन्दुला वार्नापुराको अनुमति चाहिन्छ |यसमा सम्बन्धित व्यक्तिहरुको कुनै दोष छैन, दोष त यहाँका असक्षम व्यक्तिहरुको छ जसले भोटको दम्भ देखाए, आफ्नो असक्षमता बारे थाहा हुँदा हुँदै पनि जिद्दि गर्न तिर लागे | जनताको आक्रोशको संकेत बुझ्न खोजेनन् | मौकामा चौका भित्राउन फरक पक्षबाट पनि चलखेल सुरु भयो |नेपाली क्रिकेटको भविष्य के हुन्छ र भुकम्प कहिले आउने हो, ठेगान छैन | नेपाली क्रिकेटमा भूकम्प आएको दिन र त्यसले भित्राउने क्षतिको पुनरनिर्माण गर्न एक पुस्ताको समय नै जाने निश्चित छ |

यति हुदाँ हुदै पनि नेपालले खेल्ने केहि प्रतियोगिता अन्धकारका बीच पनि टुकीको उज्यालो बन्दै आएको छ | शिशिर बसन्तको कथामा त्यहि सानो उज्यालो पछ्याउँदै राजा बन्ने बाटो सम्म पुगे, नेपाली क्रिकेटको अन्तिम आशा पनि यहि उज्यालोमा मात्रै बाँकी छ जसलाई हामीले पछाइरहेका छौं | त्यसैले सदाझै लाग्छ, नेपालले खेल्ने प्रतियोगिता कालो बादलमा चाँदिका घेरा हुन्, सिंगापुर भ्रमण पनि कालो बादलमा चाँदीको घेरा हो | शुभकामना!

Follow Us

Facebook

Twitter

© Copyright by NayaBato
सम्पर्क nayabatous@gmail.com
Scroll Up