बुढा विदेशमा निर्दयी श्रीमती जस्ले आफ्नै ३ सन्तानलाई २२ हजारमा बेचेर अर्कैसँग

माई नगरपालिका–८, कलकत्तेकी ४ वर्षीया बालिका स्वस्तिका राई बिहान, दिउँसो, बेलुका जुनसुकै समय आफ्नी आमा खोज्छिन् । आँगन, सिकुवा र बार्दलीमा बसेर टोलाउँछिन्, आमाको तस्बिर सम्सुम्याउँछिन् । अनि, बेला–बेला आमालाई बोलाउँदै डाँको छोड्छिन् ।

‘फोबा, आमा कहिले घर आउनुहुन्छ ?’ बालिकाले फोबा (हजुरबुबा)लाई गर्ने बारम्बारको प्रश्न हो यो । तर, ८४ वर्षे बर्दमान राईसँग नातिनीको जिज्ञासाको जवाफ छैन । बालिकाले प्रश्न सोध्नेबित्तिकै बर्दमानसमेत उनकै अनुहार हेरेर भक्कानिन्छन् । एकोहोरिन्छन् । छात्ती चिरिन्छ, घाँटीमा गाँठो परेर आउँछ उनको । ‘जब नातिनीले आमा खोज्छिन्, आँखामा आँसु अडिदैन,’ बुहारीको कुरा झिक्नेबित्तिकै बर्दमानले गहभरि आँसु पारेर सुनाए, ‘बुहारी मरिन् भनूँ कि जिउँदै छिन् भनूँ, अलमल हुन्छु म त ।’

सदरमुकामबाट टाढा दुर्गम क्षेत्रमा पर्ने महमाई गाउँस्थित कलकत्ते टोलको निम्नवर्गीय राई परिवार २ वर्षदेखि ‘बुहारीको व्यवहार’ले तड्पिरहेको छ । पति यामबहादुर वैदेशिक रोजगारीका लागि मलेसिया गएको १० महिनापछि बर्दमानकी माइली बुहारी मनमाया एक्कासी घरबाट बेपत्ता भइन् । उनीमात्र बेपत्ता भइदिएको भए परिवारले छिमेकी गाउँतिरको पछिल्लो अवस्था हेरेर ‘वैदेशिक रोजगारीको गलत असर’ ठान्दै चित्त बुझाउँथ्यो होला । तर, मनमाया आफूले मात्र घर छाडिनन्, २ बालक छोरा र १ नाबालिका छोरीसमेत लिएर ‘टाप कसेकी’ मनमाया त फर्किनन् नै, साथै लगेका २ छोराको पनि अहिलेसम्म अत्तोपत्तो छैन् ।

२०७२ वैशाख २८ को दिन । बिहान ९ बजेतिर नयाँ–नयाँ कपडामा ठाँटिएकी मनमायाले वृद्ध ससुरा बर्दमानलाई भनिन्, ‘विदेशबाट यामबहादुरले पैसा पठाएको छ रे, लिएर आउँछु ।’ छोराले विदेशबाट कमाइ पठाएको सुनेर मुहार उज्यालो बनाएका बर्दमानले बुहारीको कुरामा सहमति नजनाउने कुरै भएन । १० वर्षे छोरा विमल, ६ वर्षे छोरा निर्मल र काखेबालिका स्वस्तिकालाई साथै लिएर हिँडेकी मनमाया नजिकै रहेको दानाबारी गाउँस्थित शुक्रबारे बजारको मनी ट्रान्सफर जाने भन्दै घरबाट हिँडिन्।

राति अबेरसम्म चारैजना घर नफर्केपछि बर्दमानले उनीहरूलाई खोज्न मान्छे पठाए । सम्पर्क हुने ठाउँजति सबैतिर मोबाइलमा सम्पर्क गरे । तर, उनीहरूको कतै पत्तो लागेन । बर्खा सुरु भइसकेकाले कलकत्ते र शुक्रबारे बजारबीचको माइखोला (जहाँ गत असोजमा डुंगा डुब्दा ८ जनाको मृत्यु भयो)मा खोला तर्नलाई डुंगा चल्न थालिसकेको थियो । कतै केही त भएन भन्ने शंकाले मनमा झस्को पसेपनि सोधीखोजी गर्दा उनले कुनै अप्रिय खबर भने सुन्नुपरेन ।

कतै खोजी गर्दा सुइँकोसम्म नपाएपछि बर्दमानले महमाईस्थित प्रहरी कार्यालयमा खोजीका लागि २०७२ जेठ ५ मा लिखित उजुरी दिए । उजुरीमा भनिएको छ, ‘बुहारी मनमाया २ छोरा र १ छोरी साथै लिएर, छोरा यामबहादुरले पटक–पटक पठाएको ५७ हजार ९ सय ९५ रुपैयाँसमेत लिएर बेपत्ता भएकाले खोजीका लागि अनुरोध छ ।’ घरबाट हिँडेको केही दिनमा मनमायाले मलेसियामा रहेका पति यामबहादुरलाई फोन गरी आफू अर्कैसँग बिहे गरेर गइसकेको टेलिफोनमा बताएकी थिइन् । तर, छोराछोरी चाहिँ कहाँ के गर्दैछन् भन्ने कसैलाई थाहा भएन । तर, डेढ वर्षपछि घरमा खबर आयो–मनमायाले छोराछोरी बेचेकी छिन् । उनीहरूलाई अर्काको घरमा गोठालाका रूपमा राखिएको छ ।

यस्तो ‘अकल्पनीय’ खबर आउनेबित्तिकै बर्दमान छिमेकीहरूको सहयोगमा बालबच्चाको खोजीका लागि हिँडे । पशुपतिनगरस्थित माइती नेपालको सहयोगमा भारत सिक्किमस्थित कालीखोला भन्ने ठाउँको एक घरमा बालिका स्वस्तिका फेला परिन् । ‘मनमायाले केही रकम लिएर नाबालिका छोरी एक घरमा छाडेर हिँडेको थाहा भयो,’ माइती नेपालका संयोजक होम ढकालले भने, ‘हामीले बालिकाको उद्धारमा परिवारलाई सघायौंं ।’ बर्दमानले चाहीँ स्वस्तिकालाई घर ल्याउन उनलाई राखिएको ठाउँमा ४ हजार रुपैयाँ फिर्ता दिनुपरेको बताए ।

घर–परिवारलाई आएको जानकारीअनुसार स्वस्तिकालाई ४ हजार र २ छोरालाई ८ देखि १० हजार भारतीय रुपैयाँ लिएर मनमायाले कामदारका रूपमा अर्कैलाई ‘बेचिसकेकी’ छिन् । बालिकालाई घर ल्याउन सफल भएपनि २ छोरा विमल र निर्मल अहिले कहाँ छन् भन्नेबारे परिवार बेखबर छ । ‘पैसो लिएर कुन चाहिँ भोटाङे (भुटानी) कहाँ गोठाला राखेको छ भन्ने सुनेका छौं तर कहाँनिर हो भन्ने पत्तो पाइएन,’ बर्दमानले भने, ‘घरमा भएको भए दुःखजिलो गरेर भएपनि तिनीहरूलाई स्कुल पठाउँथें । ठूलो मान्छे बनाउँथें । अहिले नातिहरू कहाँ के गर्दै होलान् भन्ने साहै्र चिन्ता लाग्छ ।’ उनीहरूको खोजी गरिदिन र घरमा ल्याइदिन बर्दमानले सबैलाई आग्रह पनि गरे । ‘बुहारी त अर्कैसँग गइहोली तर छोराहरूको साह्रै बिजोक पारिएको छ,’ उनले गुनासो गरे, ‘पुलिसलाई पनि निवेदन हालेको थिएँ । तर, हामी साना मान्छेको कुरो समयमै नसुनिदिएकाले दुःख पाइयो ।’ यामबहादुर भने ४ वर्षयता मलेसियामै छन् ।

नातिनी स्वस्तिका अहिले बर्दबहादुरसँग घरमै छिन् । गाउँकै स्कुलमा कक्षा–१ मा पढ्दैछिन् । बर्दमानकी पत्नी मालतीको २०५९ सालमै निधन भयो । स्वस्तिकाको हेरचाह गर्ने उनै बर्दमान मात्रै छन् । ‘बिहान, दिउँसो, बेलुका जतिबेलै उसकी आमा खोज्छे, रुन्छे,’ नातिनीको बानी–व्यवहार बर्दमानले सुनाए, ‘आमा कहिले आउँछ भनेर बारम्बार सोधेर दिक्क लगाउँदा पनि मैले दिने जवाफ केही छैन ।’

स्वस्तिकालाई आफ्ना दुवै दाजुहरूको नाम थाहा मात्र छैन, तस्बिर हेरेरै ठूलो र सानो दाजुको अनुहार पनि छुट्याउन सक्छिन् उनी । घरको सरसफाइ परिचयपत्र (गाविसले दिएको सरकारी कागज)मा रहेको आमा मनमायाको तस्बिर हेरेपछि उनी आमा सम्झन्छिन् । ‘अहिले तपाइँकी आमा चाहिँ कहाँ हुनुहुन्छ नानी ?’ नागरिक संवाददाताको प्रश्नमा बालिका स्वस्तिकाले जवाफ दिइन्, ‘आमा पोइला गएको छ । भोलिपर्सी पापा लिएर घर आउँछ ।’

माइती नेपाल संयोजक ढकालले दुवै बालकको खोजीका लागि पहल भइरहेपनि फेला पार्न नसकेको बताए । ‘भुटानमा पु¥याएर कसैको घरमा राखिएको छ भन्ने अपुष्ट खबर आएको छ तर फेला पार्न सकिएको छैन,’ उनले भने, ‘पढ्ने–खेल्ने उमेरमा आमाले यसरी टाढा लगेर बालबच्चाको बिजोक पारेको खबरले हामी सबैलाई भावुक बनाएको छ ।’ नागरिक न्युजबाट

Follow Us

Facebook

Twitter

© Copyright by NayaBato
सम्पर्क [email protected]
Designed by appharu.com
Scroll Up