डिप्रेसनको उचित उपचार नभए आत्महत्या – पुरुषको दाँजोमा महिला बढी प्रभावित

कसैको कुरामा विश्वास लाग्न छाडेको छ भने, कसैलाई भेटन मन लाग्दैन भने, मनमा कुरा मात्रै खेल्न थालेको छ भने, रमाइलो परिस्थितिमा समेत आनन्द अनुभव हुँदैन भने तपाईं डिप्रेसनको सिकार भइरहनुभएको छ ।डा. विद्यादेव शर्मावरिष्ठ मानसिक रोग विशेषज्ञ

चैत्र १९, २०७३- तपाईंलाई दिन बिताउन पहिलेभन्दा गाह्रो भइरहेको छ ? जाँगर मर्दै गइरहेको अनि रिस र नैराश्य बढ्दै गइरहेको छ ? दिनभरि उदासीले घेरे जस्तो भइरहेको छ ? जुनसुकै कुरामा रुचि घट्दै गइरहेको छ ?

उत्तर सकारात्मक छ भने तपाईंले सचेत भइहाल्नुपर्ने भएको छ । बेलैमा सम्बन्धित चिकित्सककहाँ गइहाल्नुपर्छ । यो डिप्रेसन अर्थात् उदासिनताको रोगको लक्षणसमेत हुन सक्छ । डिप्रेसनले तपाईंको अनुभव, व्यवहार र सोचलाई प्रभावित गर्छ, भावनात्मक र शारीरिक समस्या उत्पन्न गर्छ । यो रोगले गाँज्दै लगेपछि तपाईंलाई आफ्नो दैनिक गतिविधि कठिन लाग्ने मात्र हैन, जीवनै व्यर्थ लाग्न थाल्छ ।
यो कतिसम्म घातक हुन सक्छ भने, गायक यम बुद्घलगायत थुप्रै प्रख्यात व्यक्तिहरूको आत्महत्याको कारण डिप्रेसन नै रहेको बताइन्छ ।

ठीक उपचार नभए उदासिनता रोगको अन्त्य भनेकै आत्महत्या हो ।
तर यो अचानक हुँदैन । लामो समयदेखि संकेत देखिन थाल्छ । हामी बिस्तारै डिप्रेसनको सिकार हुन्छौं, तर यस्तो हुँदै छ भनेर हामीलाई नै थाहा हुँदैन ।

‘कसैको कुरामा विश्वास लाग्न छाडेको छ भने, कसैलाई भेट्न मन लाग्दैन भने, मनमा कुरा मात्रै खेल्न थालेको छ भने, रमाइलो परिस्थितिमा समेत आनन्द अनुभव हुँदैन भन्ने तपाईं डिप्रेसनको सिकार भइरहनुभएको छ,’ वरिष्ठ मानसिक रोग विशेषज्ञ डा. विद्यादेव शर्मा भन्छन्, ‘यस्ता लक्षण देखिए स्वास्थ्यकर्मी वा मनोचिकित्सकको सल्लाह लिइहाल्नुपर्छ ।’
यस्तै राति निद्रा नलाग्नु, सुतेको बेला अचानक ब्युँझिनु, चिढिनु, जुनसुकै कुरा पछुताउनु, निराश हुनु र आत्मग्लानिले भरिनु पनि डिप्रेसनकै लक्षण हुन् ।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का अनुसार, उदासिनताको रोग सामान्य मानसिक विकार हो । वर्षेनी सबै उमेर समूहका विश्वका ३० करोडभन्दा बढी व्यक्ति यो रोगले ग्रस्त हुन्छन् । सन् २००५ देखि २०१५ सम्म उदासिनता रोग १५ प्रतिशतले वृद्घि भएको डब्लूएचओले जनाएको छ । बेलैमा चनाखो हुँदा यसको प्रभावकारी उपचार हुने गरेको छ ।

उदासिनता रोग विश्वव्यापी रूपमा अशक्तताको समेत एउटा प्रमुख कारण हो । विश्वमा धेरैलाई लाग्ने रोगमा यो पनि पर्छ । पुरुषको दाँजोमा महिलाहरू उदासी रोगले बढी प्रभावित छन् ।
डिप्रेसनले अति च्याप्नु भनेको बिरामी आत्महत्याको अवस्थामा पुग्नु हो । विश्वमा करिब ८ लाख व्यक्तिले वर्षेनी आत्महत्या गर्छन् । १५–२९ वर्ष उमेर समूहमा आत्महत्या मृत्युको दोस्रो सबैभन्दा ठूलो कारक हो ।

सरकारको अध्ययनअनुसार, नेपालमा १५–४५ वर्षका महिलाहरूमा हुने मृत्युदरको पहिलो कारण आत्महत्या नै हो । यस्तै, यो समूहमा दोस्रो नम्बरको मृत्युको कारक दुर्घटना भनेर लेखिए पनि त्यस्ता दुर्घटनामध्ये कति प्रतिशत लुप्त वा लुकाइएको आत्महत्या हो भन्न गाह्रो रहेको डा. शर्मा बताउँछन् ।
डब्लूएचओका अनुसार उदासिनता रोगको ज्ञात प्रभावकारी उपचार भए पनि विश्व प्रभावित भएकामध्ये आधा (थुप्रै मुलुकमा १० प्रतिशतभन्दा काम) भन्दा कमले मात्र यस्तो उपचार पाउने गरेका छन् ।

हाम्रो मुलुकमा पनि उदासिनता रोगमा वृद्घि हुनुका साथै यसको उपचारका लागि चिकित्सकहरूकहाँ पुग्नेको संख्यासमेत बढेको छ । नेपालमा हाल सोसल सपोर्ट सिस्टम (सामाजिक सहयोग प्रणाली) पहिलेभन्दा धेरै कम रहेको तथ्य औँल्याउँदै वरिष्ठ मानसिक रोग विशेषज्ञ डा. निराकारमान श्रेष्ठ भन्छन्, ‘पहिले संयुक्त परिवार हुनुको साथै एकअर्कोलाई सहयोग, समर्थन र आत्मीयता आदानप्रदान हुन्थ्यो । अचेल एकल परिवार, युवा जनसंख्याको मुलुकबाट पलायन आदिले गर्दा पनि त्यस्तो अवस्था छैन र यो पनि बढ्दो डिप्रेसनको एउटा कारक हो ।’
अर्को कारण भने हाल हाम्रो मुलुकमा बढ्दो एक्लो जिउने शैली (आइसोलेटेड लाइफ स्टाइल) हो । हरेक क्षेत्रमा प्रतिस्पर्धा धेरै बढी छ । युवा जनसंख्यामा दबाब, तनाव धेरै बढी छ । उनीहरूप्रति आमाबुवा, शिक्षक, आफन्तको आशा धेरै बढी छ । यो दबाब थेग्न नसकेर पनि युवा पुस्तामा डिप्रेसन बढिरहेको हो ।

विभिन्न रूपमा लागूपदार्थ, मदिरा आदिको उपयोगले पनि डिप्रेसनलाई बढाइरहेको जनाउँदै डा. श्रेष्ठ थप्छन्, ‘युवा पुस्तामा बियर, वाइनलगायत मदिराजन्य पेय पदार्थको बढ्दो उपयोग पनि डिप्रेसनको संख्या बढ्नुको कारण हो ।’
बुवाआमाले छोराछोरीमाथि जुन अव्यावहारिक इच्छाआकांक्षा राखेका हुन्छन्, त्यो पनि किशोरावस्थाको आत्महत्याको एउटा कारक रहेको औँल्याउँदै डा. शर्मा भन्छन्, ‘आफू लभ गरेर बिहे गर्ने बुवाआमाले छोराछोरीले मोबाइलमा कुरा गर्दा झपार्ने गरेका छन् ।’

के हो डिप्रेसन ?

हामी सबै जीवनमा कहिलेकाहीं केही समयका लागि दु:खी हुन्छौं । तर डिप्रेसन योभन्दा धेरै बढी गम्भीर, लामो र दु:खद हुन्छ ।

कुनै घटनाविशेष वा कारणले दुई साता वा योभन्दा कम समयसम्म दिक्क हुनु स्वाभाविक हो । तर दुई साताभन्दा लामो समयसम्म निरन्तर रूपमा दिग्दारी नै भइरहे यो उदासिनताको लक्षण हुन सक्छ । उदासिनता भनेको पागलपनचाहिँ होइन ।
उसो त, केही चिकित्सकीय कारणले पनि डिप्रेसन हुन सक्छ, जस्तो : थाइराइडको कम सक्रियता, केही औषधिको साइड इफेक्ट ।

किन हुन्छ डिप्रेसन ?

हाल हामीबीच खोजेको चिज र पाएको चिजबीच ठूलो खाडल देखिने गरेको छ । आमव्यक्तिमा सञ्चारमाध्यमको प्रभावले जुन आकांक्षा पलाएको हुन्छ, आर्थिक–सामाजिक स्थितिका कारण त्यो प्राप्त हुँदैन ।

मान्छेको आकांक्षा धेरै माथिको भयो र त्यो पाउने ल्याकत धेरै कम छ भने, योसमेत डिप्रेसनको कारक रहेको डा. शर्मा बताउँछन् ।

तनावले शरीरका थुप्रै हार्मोनको स्तरमा गडबडी ल्याउछ । तनावले अन्यबाहेक मुख्य रूपमा एड्रिनलिन र कार्टिसोल हार्मोनको स्तर बढाउँछ । निरन्तर तनावले गर्दा डिप्रेसनमा परिवर्तन हुन्छ ।

निरन्तर तनावले गर्दा मस्तिष्कको कोषिका र हिप्पोक्याम्पस नष्ट हुँदै जान्छ । हिप्पोक्याम्पस मस्तिष्कको त्यो क्षेत्र हो जसले कुनै नयाँ कुरा याद गर्ने र पुरानो यादलाई कायम राख्ने गर्छ । जुन व्यक्तिको परिवारमा डिप्रेसनको इतिहास छ, त्यहाँ कोही न कोही डिप्रेस्ड हुने आशंका बढी हुन्छ । यसका अतिरिक्त गुणसूत्रमा हुने केही आनुवांशिक परिवर्तनले पनि कसैलाई डिप्रेसन हुन सक्छ ।

सामाजिक, राजनीतिक, आर्थिक अनिश्चितताले व्यक्ति र समूहमा उब्जिने तनावलाई समेत नेपाल लगायतका मुलुकहरूमा डिप्रेसनको कारक मान्न सकिने डा. शर्मा बताउँछन् ।

कसरी जोगिने ?

डिप्रेसनबाट जोगिन हामीले आफ्ना आकांक्षालाई लगाम लगाउने गर्नुपर्छ । बुवाआमा, अभिभावकले बालबालिकालाई पनि आकांक्षा नियन्त्रण गर्ने सीप सिकाउनुपर्छ । यसले भविष्यमा हुन सक्ने डिप्रेसनबाट बालबालिका बच्न सक्छन् । अनावश्यक तनाव लिनु हुँदैन । अवसाद, उत्तेजना, अनिद्रा छ भने नियमित रूपमा ध्यान गर्नु उपयोगी हुन सक्छ ।

उपचार प्रक्रिया

औषधि खाँदा डिप्रेसन निको हुन्छ । मनोविमर्श पनि यसको उपचारको अभिन्न अंग हो । उदासिनता रोगको प्रभावकारी उपचार छ । राम्ररी उपचार नभएमा यो रोगको अन्त भनेकै आत्महत्या हो ।

डिप्रेसन भएजस्तो लागे के गर्ने ?
– आफ्नो मनका कुरा आफूले विश्वास गर्ने व्यक्तिसँग कुराकानी गर्नुस् । धेरैजसो व्यक्ति आफ्नाबारेमा चिन्ता लिने व्यक्तिसँग कुरा गर्न पाउँदा राम्रो अनुभव गर्ने गर्छन् ।
– विशेषज्ञको सहयोग लिनुस् । मनोचिकित्सक वा स्वास्थ्यकर्मीले तपाईंलाई सघाउन सक्छन् ।
– परिवारको उचित सहयोग पाए तपाईंको रोग चाँडै निको हुन सक्छ ।
– आफू स्वस्थ हुँदा उठाउने गरेका आनन्दहरूको सम्झना गर्ने गर्नुस् ।
– नियमित व्यायाम गर्नुस्, त्यो चाहे थोरै दूरीको हिँडाइ नै किन नहोस् ।
– सबैको सम्पर्कमा रहने गर्नुस् । परिवार र मित्रहरूसँग नियमित रूपमा भेट्नुस् ।
– नियमित खानपान र सुत्ने बानीलाई कायम राख्नुस् ।
– मद्यपानलगायतको उपयोग नगर्नुस् ।
– आत्महत्याको इच्छा पलाउँछ भने, ध्यान मोड्न कुनै व्यक्तिसँग सम्पर्क गर्नुस् ।
कान्तिपुरदैनिकबाट

Follow Us

Facebook

Twitter

© Copyright by NayaBato
सम्पर्क nayabatous@gmail.com
Scroll Up